झापामा संक्रमित संख्या २७ पुग्यो, भारतसँग जोडिएका नाकाहरु सिल
झापामा कोरानाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ जना थपिएको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।
भारतका विभिन्न स्थानबाट मङ्गलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो ।
क्वारेन्टिनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका लागि मङ्गलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यसअघि त्यही पालिकामा भारतको मुम्बईबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा सङ्क्रमित भेटिएसँगै ११ जेठसम्म सिल गरिएको छ ।
भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टिनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको सङ्ख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा प्रदेशको ‘डेन्जरजोन’मा परेको हो । बिर्तामोड नगरपालिकाले कोरोनाभाइसकको सङ्क्रमण फैलिन नदिन बिहीबार राति १२ बजेदेखि नगरका सबै नाका सिल गर्ने भएको छ ।