प्रहरी इञ्चार्जको निधन
झगडा मिलाएर कार्यालय फर्किएका ताप्लेजुङ सिरिजंगा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ ।
सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको बुधबार राति निधन भएको हो ।
बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले बताए ।
राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवान समेत साथमा थिए । खेवाङ प्रहरी चौकीमा करीब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका भोजपुरका राई दमक बस्दै आएका थिए ।
सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।