टिप्पणी शनिबार, जेठ १०, २०७७

जान्नु के ? ज्ञान के ? विज्ञान के ?

हिमालखबर

जान्नु के ? ज्ञान के ? विज्ञान के ?
स्केच: भानु भट्टराई

मानिसले कुनै कुरा कसरी जान्दछ, अनि मानसिक तथा बौद्धिक रूपले के–कसरी हिसाब गर्छ ? जान्ने तरिका के–कस्ता हुन्छन् ? सत्य बुझ्ने र विश्वास गर्ने सिकाइ र बुझाइका तौरतरिका के–कस्ता छन् भन्ने बारेमा दार्शनिक चिन्तकहरूले निकै सोच–विचार गरेका छन् ।

अधिवक्ता रवीन्द्र भट्टराई

जान्नु के हो र ज्ञान–विज्ञान के हो भन्ने बारेमा हाम्रा शिक्षाका क्षेत्रमा पनि खासै तर्क–वितर्क र छलफल हुँदैन । ज्ञान के हो भन्यो भने जान्नु नै ज्ञान भनिन्छ ।

विद्या के हो भन्यो भने पनि त्यही जान्ने हुने कुरा भनिन्छ । जान्नु र ज्ञान–विज्ञानका कुरा भनेका हामीले जाने–बुझेकै कुरा हुन् जस्तो लाग्छ । तर, जब कसैले ठ्याक्कै सोध्छ, अनि हामीलाई बुझाउन, अथ्र्याउन निकै कठिन हुन्छ । त्यसपछि आफै आफूलाई सोध्न थालियो भने मथिङ्गलले सोच–विचारको लामो दौड शुरू गर्छ ।

हामी, हाम्रो बुझाइ र हाम्रो मन
मानिसका बारेमा जब कुरा गरिन्छ तब भन्ने गरिन्छ मानिस सामाजिक प्राणी, चेतनशील प्राणी र विवेकशील प्राणी हो । के अरू जीव सामाजिक हैनन् ? चेतनशील छैनन् ? एउटा वनस्पतिको बीउ उम्रेपछि घाम खोज्छ । कुखुराको पोथी चल्ला काढेपछि चल्लालाई चराउन सिकाउँदै हिंडिरहेको देखिन्छ।

गाई वा भैंसी बाच्छा–पाडा जन्माएपछि चाटेर स्याहार्दै तङ्ग्य्राउँदै फाँचातिर धकेल्छ भने बाच्छा–पाडा तङ्ग्रँदै दूध खोज्छन्, खान्छन्, बढ्दै घाँस खोज्न खान जान्दछन् । यो तिनले नजानेको हो ? बथानमा हिंड्ने सबै प्राणी सजातीय विजातीय भेद छुट्याउँछ र समूहमा हिंड्छन् के ती सामाजिक प्राणी होइनन्? सिकाइ र जान्ने कुरा त अन्य प्राणीमा पनि हुँदोरहेछ त!

हो, विवेक वा तजबिज गर्ने क्षमताचाहिं पक्कै अन्यको भन्दा मानिसको फरक छ । हाम्रो बुद्धि यही कारणले अरूको भन्दा समृद्ध छ । त्यही लेखाजोखा गर्ने हाम्रो समृद्धताका कारण हामी मानिसलाई विवेक भएको र नभएकोमा भेद गरेर विवेकी वा निर्विवेकी; बुद्धिमान् र निर्बुद्धि (मूर्ख) भनेर वर्गीकरण गर्छौं ।

अरू जन्तुको पनि मगज छ, दिमाग छ, मन छ, मनोभाव पनि केही छन् तर तिनको दिमाग र मनको रचना मानिसको जस्तो परिपक्व छैन, अन्तस्करणयुक्त छैन । त्यसैले हामी फरक तरिकाले जान्दछौं, बुझ्दछौं र बुझेको कुरालाई अरूसँग सहज विनिमय पनि गर्न सक्छौं । पुर्खौंदेखि यो क्रम चलिआएको छ।

जान्नु के हो ?
यथार्थ जीवनमा हामीलाई दुई किसिमका सूचना उपलब्ध छन्ः तथ्यगत र रायगत । हाम्रा ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) ले प्रत्यक्ष रूपले ठम्याउन सक्ने अस्तित्वमा रहेका कुरा नै तथ्यगत सूचना हुन् । यी यस्ता तथ्यगत सूचनासँग विचारहरूले निर्माण गरेका अवधारणा पनि छन् र ती अवधारणागत सूचनालाई मूर्त रूपमा प्रत्यक्ष अनुभव गर्न सकिंदैन ।

यसैले ती अभिमत वा रायका रूपमा व्यक्त हुन्छन् । एउटा सालिक मूर्ति (जो मूर्त छ) र जिउँदो मानिस व्यक्ति भनिने कारण यही अन्तरले हो । मानिस जिउँदो रहुन्जेल मूर्त रूपमा चल्छ र अमूर्त अवधारणा पनि व्यक्त (प्रकट) गर्छ त्यसैले उसलाई व्यक्ति भनिन्छ । व्यक्ति भन्नु रायगत सूचना राख्ने र खेलाउने शक्ति हो ।

तथ्यगत वा रायगत सूचनाको यान्त्रिक प्रक्रिया त कम्प्युटरले पनि गर्छ तर त्यो व्यक्ति होइन किनभने त्यसले स्वयम् अवधारणा उत्पादन गर्दैन प्रक्रिया मात्र गर्छ । त्यसैले त्यो व्यक्ति होइन । मानिसले ज्ञानेन्द्रियका माध्यमबाट ग्रहण गरेका तथ्यगत र रायगत सूचनालाई मनमस्तिष्कको प्रक्रियामा लैजाने र प्रक्रिया गर्ने; प्रक्रियाबाट उत्पन्न प्रतिफललाई मनमस्तिष्कमा भण्डारण गर्ने; र आवश्यक पर्दा इशारा वा भाषाका माध्यमबाट प्रकट गर्ने कुरालाई हामी जान्नु भनेर बुझ्दछौं।

मनमस्तिष्कले कसरी काम गर्छ ?
शरीर विज्ञान, शारीरिक क्रिया विज्ञान, स्नायु विज्ञान र चिकित्सा विज्ञानका अन्य ज्ञानोन्नयन विभागहरूले यसको उपयुक्त उत्तर दिन्छन् । यो सामग्री त्यो दिशातिर केन्द्रित छैन खालि सामान्य बुझाइतिर उन्मुख छ । ऋषि ज्ञान परम्परामा मनमस्तिष्कको काम र यसको व्यवस्थापनका केही उपाय सोच्ने काम योगदर्शनका माध्यमबाट हुँदै आएको छ । आचार्य पतञ्जलिले यसलाई सूत्रबद्ध गरेर प्रस्तुत गरेका छन् ।

खासमा हाम्रा पूर्वजहरूले मानसिक स्वास्थ्योपचारको रूपमा योगलाई अवलम्बन गर्दै आएका छन् । बौद्ध परम्परामा चित्तवेदका नामले यो चिनिन्छ। मन र मस्तिष्कलाई चित्तको रूपमा चिनाउँछन्, हाम्रा पूर्वजहरू । योग भनेकै खासमा चित्तका वृत्तिहरूको व्यवस्थापन हो । पतञ्जलिका अनुसार हाम्रो चित्तले मूलतः पाँच प्रकारको काम गर्छ।

यसको पहिलो काम तर्कना गर्नु हो । प्रत्यक्ष प्रमाणका आधारमा ज्ञानेन्द्रियले चित्तमा सञ्चार गरेको सूचनालाई प्रक्रिया गर्ने काम तर्कना हो । चित्तले यो काम प्रत्यक्ष, अनुमान र आगम जस्ता प्रमाणका सहयोगबाट सम्पादन गर्दछ । मानिसले भाषाका माध्यमबाट काम गर्ने भएकाले आफूसँग रहेका शब्दभण्डारका आधारमा चित्तमा अनेक विम्बको सिर्जना गर्ने काम हुन्छ । यो चित्तको दोस्रो विचारकारी शक्ति हो– विशुद्ध कल्पना ।

पतञ्जलिले यसलाई विकल्प भन्ने नाम दिएका छन् । हाम्रो मनमस्तिष्कसँग अर्को एउटा अद्भुत अतिकल्पनात्मक शक्ति छ जो हुँदै नभएको र हुनै नसक्ने कुराको पनि चित्तमा विम्ब बनाउँछ र सम्प्रेषण गर्छ । त्यसलाई पतञ्जलिले विपर्याय भनेका छन्।

मनमस्तिष्कले आफूले बटुलेका र प्रक्रिया गरेका सूचनाहरूको व्यवस्थित भण्डारण पनि गर्छ र चाहिएका वेला चलाउँछ । त्यसलाई हामी सम्झना भन्छौं । पतञ्जलिले यसलाई स्मृति भनेका छन् । मनमस्तिष्कको अर्को काम हो आफूलाई शून्यावस्थामा विश्राम गराउनु– यसैलाई निद्रा भनिन्छ । यसरी तर्कना, कल्पना, स्वैरकल्पना, सम्झना वा स्मरण र निद्रा चित्तका मुख्य कार्यव्यापार मानिन्छन् ।

हामीले जान्ने–बुझ्ने, मनन गर्ने, विचार गर्ने, कल्पना गर्ने, सिर्जना गर्ने विभिन्न विम्ब र अभिव्यक्ति चित्त वा मनको यही कार्यव्यापारबाट सम्पादित भएर ग्रहण तथा सम्प्रेषित हुन्छन् । हाम्रो ज्ञान विज्ञान भन्ने कुरा यही आधारमा चल्दै आएको छ।

ज्ञान के हो त ?
ज्ञान भनेको क्रियाका माध्यमबाट सिकिएको वा अनुभवबाट बटुलिएको तथ्यगत र रायगत सूचनाको समुच्चय हो । तथ्य वा अभिमतका बारेमा हामीसँग रहेको चित्तगत जागृति नै ज्ञान हो । आफूसँग रहेका सूचनालाई जब चित्तले उसका तर्कना, कल्पना र सम्झना जस्ता क्रियाशक्तिको माध्यमबाट उहापोह, गन्ती–गणना, लेखाजोखा गरेर तथ्य वा रायका छविचित्र निर्माण गर्छ त्यसैलाई ज्ञान भनिन्छ ।

अनि, चित्तले ती काम गर्दा साँचो–झूटो, स्वीकार्य–अस्वीकार्य अवधारणाका रूपमा तजबिज गर्ने कामलाई हामी बुद्धि भन्छौं । बुद्धिको हैसियतमा काम गर्दा चित्तले आर्जित ज्ञानलाई दैनन्दिन काममा प्रयोग गर्ने गरी तयार पार्छ र त्यसलाई बाहिरी क्रिया (शारीरिक वा वाचिक) मा बदल्ने काम पनि गर्दछ ।

यसैले चित्तले अन्तरदृष्टि बनाउने, युक्तिका आधारमा केलाउने र कार्यरूप दिने काम गर्दा हामी त्यसलाई बुद्धिमता (विज्डम) पनि भन्ने गर्दछौं । खासमा सूचना त्यसको बुझाइ र त्यसले आफैंमा निर्माण गरेको अन्तरदृष्टिको समग्रतालाई हामी ज्ञान भन्छौं।

ज्ञान र विज्ञानमा अन्तर
खासमा हाम्रा विद्वान्, विज्ञ, ज्ञाता, पण्डित, वैज्ञानिक भनिने महानुभावका बीचमा यस विषयमा मतभिन्नता देखिन्छ । ज्ञान दुई किसिमका मानिन्छन्, सामान्य सुझबुझ र वैज्ञानिक विधिबाट सिर्जित ज्ञान । हाम्रो जान्ने तरिकाहरूले यसमा भिन्नता ल्याउँछ । केही मानिसहरूले प्रमाण भएको र प्रमाण नभएको ज्ञानले यसमा फरक पार्ने वा दर्शनले यसलाई फरक पार्ने मान्दछन् ।

यथार्थमा दर्शनले मात्रै ज्ञानको गुण निर्धारण गराउँदैन । ज्ञानको गुण भनेको चाहिं जान्नेबुझ्ने तरिका र तिनबाट हाम्रो मनमस्तिष्कले बनाउने सत्य वा विश्वासका छविहरू हुन् । सिकाइ र बुझाइका आधारमा हाम्रा मनमस्तिष्कका ठीक वा गलत; साँचो वा झूटो छुट्याउने विश्वासका सूचक छवि निर्माण गरेको हुन्छ । हामी त्यही विश्वाससूचक छविको नापोमा कुनै कुरा सत्य वा असत्य, स्वीकारयोग्य र स्वीकार अयोग्य भनेर निर्णय गर्छौं । एकपटक हामी हाम्रा सिकाइ वा ज्ञान लिने तरिकाको चर्चा गरौंः

तङ्ज्ञानिक तरिकाः हामीले आर्जन गर्ने ज्ञान (सूचना, सीप र कला) को तरिका जैविक हो । अरू जीवलाई जस्तै मानिसलाई पनि प्रकृतिले तन अथवा शरीरको स्वाभाविक चालकै रूपमा सिक्ने तरिका दिएको छ । जैविक गुणमा सिकाइ तनको ज्ञान हो । जस्तो कसैले सुन्दर मूर्ति बनाउँछ ।

भौतिक निर्माण गर्ने ज्ञान मानिसको मात्र हो र ? गौंथली र अन्य धेरै चराचुरुङ्गीका कति सुन्दर गुँड तिनैले बनाएका हुन् । यसरी प्रकृतिले शरीरमै टँसाएर दिएका ज्ञानार्जन विधिलाई तङ्ज्ञान (टिनासिटी) भनिन्छ । मानिसको चित्तले प्रक्रिया र निर्णय गर्दा यो स्रोतबाट आर्जित ज्ञान पनि प्रयोग भइहाल्छ ।

मनज्ञानिक तरिकाः हाम्रो चित्तमा भावना र संवेगको पनि उत्तिकै उहापोह हुन्छ । हामीसँग शृङ्गारदेखि करुणासम्मका साहसिकदेखि प्रशान्तसम्मका भावहरू मनमा पैदा हुन्छन्, तिनले हाम्रो मनस्थितिलाई तरलमा राख्छन् र चित्तमा त्यसको सोझो प्रभाव रहन्छ ।

कसैलाई कोही मन पर्नमा त्यसको कुनै बाहिरी आधार हुन्छ र ? हो यस्ता मानसिक संवेगले चित्तको प्रक्रियामा खेलेको भूमिकाले बनेका तथ्य वा रायका विम्बबाट सिर्जित ज्ञान, मनज्ञान वा आत्मज्ञान (इन्टुइज्न) हो । यसरी जान्ने वा ज्ञानार्जन गर्ने तरिका नै मनज्ञानिक तरिका हो ।

प्राग्ज्ञानिक तरिकाः जीवनका सबै सिकाइ आफूले प्रत्यक्ष अनुभव गरेर वा मनोभावनाबाट हुँदैनन् । हामीले बा–आमा, गुरु लगायत धेरैले जानेका र अनुभव गरेका आधारमा तिनले बताएका सूचना वा रायका आधारमा पनि जानिराखेका हुन्छौं ।

हामी शास्त्रोक्त वचनमा प्रश्न गर्दैनौं । पण्डित वा विज्ञले भने भनें त्यसलाई सरासर ज्ञानका रूपमा लिन्छौं । यो ज्ञानार्जन वा सिकाइको प्राग्ज्ञानिक तरिका (अथोरिटी) हो।

वैज्ञानिक तरिकाः हाम्रा पुर्खाले यी माथिका तरिका भन्दा पनि विशिष्ट तरिकाले सिक्दै सिकाउँदै आएका छन्– त्यो विशिष्ट तरिका हो वैज्ञानिक तरिका (साइन्स) । ज्ञानको यो विशेष र विशिष्ट तरिका भएकैले यसलाई विज्ञान नाम दिइएको हो ।

यो मनमस्तिष्कको तर्कना शक्तिलाई सर्वाधिक प्रयोग गरेर सिक्ने वा जान्ने तरिका हो । यसलाई हाम्रा पूर्वजहरूले अन्वेषिकी तर्क र न्यायको नाम पनि दिएका छन् । यसमा कुनै पनि अवधारणाको प्रस्तापना (प्रपोजिसन) उठान गरिन्छ त्यसमा प्रत्यक्ष अनुमान वा आगम जस्ता प्रमाणको सहारा लिएर निष्कर्षमा पुगिन्छ । वैज्ञानिक तरिकाको ज्ञानार्जन वास्तविकतामा मात्र आधारित हुन्छ ।

यथार्थता, मापनीयता, अनुभवसिद्धता, युक्तिसङ्गतता र मानवउपयोगिता यसका सूचक हुन् । यसमा आगमनात्मक र निगमनात्मक युक्ति वा तर्कविधि अवलम्बन हुन्छ।

अन्त्यमा,
मानिस सबैले आफूले जानेको र बुझेकै कुरालाई साँचो मान्न र विश्वास गर्न सक्छन् । तर, आफू वास्तविक सत्यको कुन तहमा छु भन्ने कुरा मनमस्तिष्कको कस्तो कार्यव्यापारबाट सम्पादित प्रक्रियाबाट त्यो निचोड निस्किएको छ भन्नेमा भर पर्छ ।

अनि, त्यो प्रक्रियामा ज्ञान आर्जनको कुन तरिका अपनाइएको छ वा कुन तरिकाको वर्चस्व छ भन्ने कुरा अझ बढी प्रभाव पर्छ । यही मनमस्तिष्कले विचार विमर्श गर्ने र ज्ञानार्जनका तरिकाले कुनै तथ्य वा रायको सम्प्रेषणलाई अरूले कति पत्याउने, पत्याउने कि नपत्याउने, विश्वास गर्ने कि नगर्ने वा स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा निर्भर गर्छ।

 

प्रतिकृया दिनुहोस