अन्तर्वार्ता/विचार सोमबार, जेठ ५, २०७७

अबको बाटो : कृषिलाई नछोड्ने, अरूलाई जोड्ने

हिमालखबर

अबको बाटो : कृषिलाई नछोड्ने, अरूलाई जोड्ने

अत्यावश्यक सेवा प्रदान गर्ने र मुलुकको आर्थिक गतिविधि सञ्चालन गर्ने माध्यम ब्याङ्क हो। कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि मुलुकमा ५० दिनभन्दा बढी समयदेखि लकडाउन (बन्दाबन्दी) लागू गरिएको छ। यो वेला ब्याङ्किङ क्षेत्र अत्यावश्यक सेवाको सहजता तथा भुक्तानी सहज बनाउने प्रयासमा छन्। अहिले ब्याङ्किङ मात्रै नभएर समग्रमा ग्राहक, उद्योगधन्दा र राज्य प्रणालीमै के कस्तो असर परेको छ भनेर हेर्नुपर्ने वेला हो। कर प्रणाली, आर्थिक गतिविधिदेखि समग्र रोजगारीसम्ममा असर परेको प्रष्टै छ।

कोभिड-१९ को प्रभावकै कारण ब्याङ्कहरूको तेस्रो त्रैमास (चैत) सम्मको नाफा घटेको छ। अन्य ब्याङ्कको जस्तै कृषि विकास ब्याङ्कको नाफा पनि रु.१७ करोडले कम भएको छ। यसले अहिलेको समयमा वितरणयोग्य नाफालाई असर गरेको छ। ब्याङ्कहरूले हिजो औसतमा २५ प्रतिशत नाफा पाइरहेका थिए भने अहिले १५ प्रतिशतको हाराहारीमा झरेको छ। यतिवेला ब्याज लिन नमिल्ने र सरल ढंगले सेवा दिनुपर्ने अवस्थामा ब्याङ्क तथा वित्तीय संस्था छन्। डिजिटल भुक्तानीको माध्यम अझै फराकिलो नभइसकेका सेवा प्रवाहमा जटिलत आएको स्वीकार्नैपर्छ।

कोरोना महामारी प्रभाव र बन्दाबन्दीले ब्याङ्क तथा वित्तीय संस्थाको आम्दानीको माध्यम नहुँदा नाफा आगामी त्रैमास (असार) मा अझै घट्ने देखिन्छ। अहिले ब्याज नतिर्दा पनि हुन्छ भन्ने धेरैको मानसिकता भइसकेको छ। यो वेला स्वास्थ्यलाई प्राथमिकता दिनुपरेका कारण किस्ता तिर्नुपर्नेले पनि बुझाउन सकेका छैनन्। आम्दानी नहुँदा किस्ता बुझाउन नसक्ने ग्राहक धेरै छन्।

अहिले त ब्याङ्कहरूलाई ब्याजदर घटाइदेऊ, नाफा नलेऊ मात्रै भन्ने गरिएको छ। तर, त्यसो गरेर चल्न सम्भव छैन। व्यापारीले इमानदारी कायम राख्ने, सरकारको राहतको सदुपयोग हुने र ब्याङ्किङ प्रणाली बलियो बनाउने हो भने मात्रै मुलुक समृद्ध हुन सक्छ।

ब्याङ्कको सबलीकरण, डिजिटल कारोबारलाई अवसर

संसारभर ब्याङ्किङ प्रणालीलाई नै सबैभन्दा भरपर्दो आर्थिक कारोबारको प्रणाली मानिन्छ। ब्याङ्किङ प्रणाली कमजोर भयो भने तेस्रो शक्ति बलियो हुन्छ। यसै कारण आर्थिक कारोबार यसभन्दा बाहिर जानु हुँदैन। वार्षिक रूपमा लेखामान हुने, साधारणसभा हुने र आर्थिक पारदर्शिताको प्रणाली कामय गर्ने निकाय भएकाले ब्याङ्किङ प्रणाली बढी विश्वसनीय हुन्छ। ब्याङ्किङ प्रणालीलाई बलियो बनाउने र विश्वसनीयता बढाउने गरी काम गर्नुपर्छ। अहिले ब्याङ्कले लगानी गर्ने अवस्था नभएकाले तरलता बढेको छ। यो लामो समयसम्म भने रहँदैन। 

अहिलेको असहज अवस्थाले डिजिटल ब्याङ्किङ प्रणालीलाई प्रभावकारी बनाउने अवसर ल्याएको छ। यसलाई सदुपयोग गर्न कृषि विकास ब्याङ्कले मोबाइल ब्याङ्किङ कारोबार सहज बनाएको छ।

समष्टिगत रूपमा कोरोना महामारीको असर परिरहेका कारण अहिले हामीले प्रतिक्रियात्मक योजनासँग काम गर्नुपर्ने हुन्छ । तयारीपूर्ण अवस्था र प्रतिक्रियात्मक अवस्थाबाट काम गर्दा उद्योगी–व्यवसायीलाई पनि सहज बनाउन सक्छौं कि भन्ने हो ।

कोरोना संकटपछि राजश्व र कर कम उठ्ने, सञ्चालन खर्च बढ्ने कारण सरकार आफैं चापमा छ। तर समस्या भोगिरहेका सबै क्षेत्रलाई सम्बोधन गर्ने अभिभावक सरकार नै भएकाले विशेष राहत अपेक्षाको विषय बनेको छ। सरकारले अन्य मुलुकमा जस्तै उद्योग–व्यवसाय लगायतका लागि राहत प्याकेज ल्यायो भने सुस्ताएको आर्थिक गतिविधिले गति लिन सक्छ।

अहिले हामीले ब्याजदर घटाउने, सहज बनाउने, छूट दिने काम गरेर आर्थिक गतिविधि सञ्चालन सहज बनाउन मात्रै खोजेका हौं। ब्याङ्कहरू नियामक निकायको निर्देशन पालना गर्ने र नियमित गतिविधिलाई निरन्तर दिने मात्रको अवस्थामा छन्।

अहिले लागत मूल्य बजारको अवसरको पनि मूल्यांकन गर्नुपर्छ। बजार कहिले खुल्ने, कुन अवस्थामा आउने, आउने बित्तिकै चल्छ कि चल्दैन भनेर हेर्नुपर्छ। समष्टिगत रूपमा कोरोना महामारीको असर परिरहेका कारण अहिले हामीले प्रतिक्रियात्मक योजनासँग काम गर्नुपर्ने हुन्छ। तयारीपूर्ण अवस्था र प्रतिक्रियात्मक अवस्थाबाट काम गर्दा उद्योगी–व्यवसायीलाई पनि सहज बनाउन सक्छौं कि भन्ने हो। विभिन्न देशमा रोजगारी गुमाएर नेपाल फर्कनेहरूका लागि के गर्ने, कुन क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने भनेर स्पष्ट हुनुपर्छ।

कृषि क्षेत्रलाई प्राथमिकता

भोलिका दिनमा खाद्यान्न संकटको अवस्था आउन सक्छ। सम्भावित संकटलाई सम्बोधन गर्न अहिले नै सोच्नुपर्छ। रोजगारी दिनुपर्ने, स्वरोजगार बनाउनुपर्ने र कृषिलाई व्यवसायीकरण गर्नुपर्ने पनि हुन सक्छ। मूल्य शृङ्खलाको प्रक्रियामा उत्पादन मात्रै भएर हुँदैन, त्यसलाई बजारसम्म लैजानुर्छ। उत्पादित सामग्री स्वस्थ्य अनुकूल छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ। यसका लागि रणनीतिक योजना बनाउनुपर्छ।

नेपालमा कमजोरी नै के रह्यो भने, कृषिलाई कम महत्व दिइएको छ। निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गर्नुपर्छ। उत्पादन र वितरण प्रणालीमा लगेर आन्तरिक खपत गरिसकेर निर्यात गर्न सक्ने गरी काम गर्नुपर्छ। यसका लागि हामीले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि गर्नुपर्छ। कृषिलाई बढी प्राथमिकता दिएर जाँदा स्वरोजगारी पनि हुन्छ।

निर्वाहमुखी कृषिलाई अलि बढी जोड दिने मोडालिटी बनाउन सकिन्छ। यसमा धितोबिना ऋण दिन सक्नेसम्मको योजना ल्याउन सकिन्छ।

मुलुकमा ठूलो परिमाणमा कृषियोग्य भूमि बाँझो छन्। यसको सदुपयोग गर्न राज्यले नै रणनीति बनाउनुपर्छ। राज्यले कसलाई कुन काममा लगाउँदा ठीक हुन्छ भनेर पहिले तथ्याङ्क तयार पार्नुपर्छ। यसका लागि कुन व्यक्तिले के काम गर्न सक्छ भनेर तय गर्नुपर्छ। क्षमता विकास पनि सँगसँगै जरुरी छ। ब्याङ्कले पनि जुन क्षमता भएका व्यक्ति हुन्, त्यही कामका लागि लगानी गर्न सक्छन्।

कृषि विकास ब्याङ्कले कृषिलाई नेतृत्व गरेर अघि बढ्नुपर्ने दायित्वभार आएको छ। कसरी सहयोग गर्ने भन्ने विषयमा विभिन्न अनुसन्धान गर्ने, ती निकायको भिजिनरी कन्सेप्टसँग जानुपर्छ। विभिन्न संस्थालाई स्रोतको पहिचान गर्ने, सहयोग गर्ने तथा विभिन्न निकायसँग समन्वय गर्नुपर्ने हुन सक्छ।

कोरोनाभाइरस संक्रमणको हिसाबले बढी प्रभावित क्षेत्रलाई रेड जोन र कम प्रभावितलाई एल्लो र ग्रीन जोन गरेर आर्थिक गतिविधि गर्न दिने गरी बलियो संयन्त्र बनाउनुपर्ने आवश्यकता छ । बढी प्रभावित क्षेत्रलाई सिल गर्ने बित्तिकै ग्रीनमा जोखिम कम हुन्छ ।

निर्वाहमुखी कृषिलाई अलि बढी जोड दिने मोडालिटी बनाउन सकिन्छ। यसमा धितोबिना ऋण दिन सक्नेसम्मको योजना ल्याउन सकिन्छ। त्यसभन्दा अलि फरक टोल छिमेकका दुई–चार जनालाई रोजगारी दिनेमा पनि ध्यान दिनुपर्छ। प्रविधिको प्रयोग गरेर जाने योजना पनि बनाउनुपर्छ। मोबाइल एपबाट पैसा ट्रान्सफर गर्ने सुविधामा बढी जोड दिनुपर्छ।

कोरोनाभाइरस संक्रमणको हिसाबले बढी प्रभावित क्षेत्रलाई रेड जोन र कम प्रभावितलाई एल्लो र ग्रीन जोन गरेर आर्थिक गतिविधि गर्न दिने गरी बलियो संयन्त्र बनाउनुपर्ने आवश्यकता छ। बढी प्रभावित क्षेत्रलाई सिल गर्ने बित्तिकै ग्रीनमा जोखिम कम हुन्छ। समग्रतामा अब हामीले ‘एग्रिकल्चर विथ इलेक्ट्रो एन्ड एग्रो टुरिष्ट’ मा ध्यान दिनुपर्ने वेला पनि भएको छ। कृषि अब प्रविधिमैत्री र विद्युतीयमैत्री बनाउनुपर्छ। यही सोच अनुसार अहिले कृषि विकास ब्याङ्कले ‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ नारा ल्याएको छ।

कृषिलाई बीमासँग पनि जोड्न सकिन्छ। यसलाई गहन र व्यवस्थित रूपमा पुर्‍याउन सकिए प्रभावकारिता बढ्छ। 

कृषिमा प्रविधिको प्रयोग गरेर आधुनिक तरिकाले काम गर्न आवश्यक छ। ड्रोनको प्रयोग गरेर औषधि छर्कने, कृषि उत्पादन ओसारपसार गर्ने जस्ता काम गर्न सकिन्छ। यसका साथै अहिलेदेखि नै अर्गानिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। तत्काल बजारमा नपुर्‍याए खेर जाने कृषि उत्पादनको आयु र मूल्य बढाउनेगरी विकल्पको व्यवस्था गर्नुपर्छ। साग खेर जाने भए गुन्द्रुक, गोलभेडाबाट सस, आलुबाट चिप्स, दूधबाट विभिन्न उत्पादन गर्ने गरी रणनीति बनाउन आवश्यक छ। तरकारी भण्डार गर्ने प्रविधिको विकास गर्नुपर्छ।

कृषिलाई कसरी प्रयोग गर्ने भन्ने रणनीति अर्को महत्वपूर्ण विषय हो। कृषिका नाममा पैसा बाँडेर मात्रै हुँदैन, अनुदानलाई उत्पादनसँग जोड्नुपर्छ। कसैले गाई पालेको छ भने १० वटा गाई भएका र पाँच वटा भएकालाई कुन आधारमा अनुदान दिने भन्ने रणनीति बनाउन जरुरी हुन्छ। दूधको लिटरलाई आधार बनाएर पनि अनुदान कार्यान्वयनको आधार निर्धारण गर्न सकिन्छ।

नयाँ अवधारणालाई प्रोत्साहन

नवीनतम व्यवसाय (स्टार्टअप) को अवधारणालाई प्रोत्साहन गर्दै जानुपर्छ। वैदेशिक रोजगारीमा रहेका धेरै युवा यो महामारीका कारण फर्किने सम्भावना रहेकाले उनीहरूलाई आकर्षित हुने गरी कार्यक्रम ल्याउन जरुरी छ।

सरकारले व्यापार साझेदारको रूपमा स्थानीय, प्रदेश र केन्द्र सरकारको प्राथमिकताको आधारमा जानुपर्ने हुन्छ। हामीले व्यापक मात्रामा मानिसलाई प्रतिनिधित्व गराउने मोडल बनाउन जरुरी छ। जसले गर्दा धेरैले राहत पाउने, सिक्दै जाने र आन्तरिक रूपमा हामी सुदृढ हुँदै जाने अवस्था बन्छ। ‘डिप्राइभ सेक्टर’ लाई प्राथमिकता दिने सरकारी मोडल प्रभावकारी हुन सक्छ। त्यसमा सञ्चालन खर्च कम पनि हुन सक्छ।

कृषि बजारलाई पनि शेयर बजारको जस्तो संगठित र व्यवस्थित बनाएर लैजानुपर्छ। त्यसबाट हामीले खोजेको प्रतिफल आज त निरन्तर हुन्छ नै, भोलिका दिनमा पनि लाभको दायरा फराकिलो हुन्छ।

अहिले निर्वाहमुखी कृषिलाई नै प्राथमिकता दिएर जानुपर्ने हुन्छ। गाउँमा कृषि फर्म खोल्न शहरमा सहुलियत दिएर हुँदैन। जुन क्षेत्रमा काम गर्छन्, त्यहीं गएर सहयोग गर्न सकियो भने थप प्रभावकारी हुन्छ।

भोलिका दिनमा बजारबाट राम्रो लाभ आउने गरी कृषि क्षेत्रलाई बढावा दिनुपर्छ। कृषि बजारलाई पनि शेयर बजारको जस्तो संगठित र व्यवस्थित बनाएर लैजानुपर्छ। त्यसबाट हामीले खोजेको प्रतिफल आज त निरन्तर हुन्छ नै, भोलिका दिनमा पनि लाभको दायरा फराकिलो हुन्छ। क्षमता अभिवृद्धि गर्ने जाने र कृषिमा विविध उत्पादन गनुपर्ने आवश्यकता पनि उत्तिकै छ।

युवालाई परिचालन गरेर ओखर, किबी, भुइँकटहर, ड्रागन फुट लगायत उत्पादनतर्फ प्रोत्साहित गर्न सकिन्छ। ती उत्पादनको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेका कारण बजारको अभाव हुँदैन। गुणस्तर, विश्वसनीयता, प्रविधिमैत्री बनाएर अघि बढ्ने हो भने असम्भव छैन। बजेट बनिरहेको यो वेला सरकारले यो विषयमा पनि ध्यान दिनुपर्छ।

अहिले विभिन्न ठाउँमा क्वारेन्टिनमा राखिएका मानिसहरूलाई व्यवस्थित रूपमा सीप सिकाउन र तालिम दिन पनि सकिन्छ। उनीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै जीवनोपयोगी तालिम र सीप दिन सकियो भने त्यो व्यक्ति घर पुग्दा उसले त्यसको उपयोग गर्न सक्छ, अरुलाई पनि सिकाउन सक्छ। ज्ञान लिएर गयो भने पनि ठूलो उपलब्धि हुन्छ।

चुनौतीबीच अवसर

नेपाल सानो देश भए पनि विविध विशेषतायुक्त भएकाले दीर्घकालीन लाभका लागि संसारभरबाटै पर्यटक आकर्षित गर्न सकिन्छ। अहिले भइहेको होमस्टेलाई पनि कृषि र अर्गानिक उत्पादनसँग जोड्न सकिन्छ। कृषिलाई नछोड्ने अरुलाई जोड्ने भनेकै यही हो। कृषिलाई पर्यटनमा जोड्न सकिन्छ।

अहिले क्वारेन्टिनमा राख्न होटल प्रयोग गर्दा धेरै क्षेत्रले लाभ लिन सक्छन्। बाहिरका स्वस्थ व्यक्तिलाई स्वास्थ्य परीक्षणको सर्टिफिकेट राखेर पैसा तिर्ने गरी १५ दिन क्वारेन्टिनमा बस्न होटलहरू प्रयोग गर्न सकिन्छ। होटललाई आम्दानी हुने, वायुसेवाले पनि काम पाउने बनाउन सकिन्छ। सरकारले यसका लागि पहिले क्षमता विकास गर्नुपर्छ। एक चरणमा दुई हजार मात्रै राख्ने भनेर तय गर्न सक्छ। मोबाइल एपबाट ती व्यक्तिको पहिचान गर्ने, निगरानी राख्ने र प्रणाली बनाउने काम गर्नुपर्छ।

हामी सबैको बीचमा अहिले विभिन्न चुनौतीभित्र अवसर पनि छन्। नयाँ तरिकाबाट काम गर्ने सम्भावनाहरू पहिचान गर्दै अघि बढ्दा नै यो संकटको सामना गर्न सहज हुन्छ।

कृषि विकास ब्याङ्कले आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्छौं। ब्याङ्किङ कारोबार सरकारले दिएको निर्देशन अनुसार गरिरहेका छौं। प्रविधिमा पनि हामीले बढी जोड दिइरहेका छौं। मोबाइल एपमा इन्टरनेटविना नै पैसा ट्रान्सफर गर्ने प्रणाली बनाएका छौं। नाम कृषि विकास भए पनि कृषि नै प्राथमिकताको क्षेत्र भएकाले यसलाई नछोड्ने र अरुलाई जोड्ने गरी काम गरिरहेका छौं।

(कृषि विकास ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँग हिमालखबरका राजु बास्कोटाले गरेको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस