रिपोर्ट बुधबार, वैशाख २४, २०७७

बन्दाबन्दीमा रूप फेर्दै काठमाडौंका सडक, वर्षामा ताल बन्ने ठाउँमा धमाधम मर्मत (फोटो र भिडियो)

हिमालखबर

बन्दाबन्दीमा रूप फेर्दै काठमाडौंका सडक, वर्षामा ताल बन्ने ठाउँमा धमाधम मर्मत (फोटो र भिडियो)
काठमाडौं पुतलीसडकमा ढल सुधारको काम । तस्वीर/भिडियो: मनिष पौडेल/हिमालखबर

हरेक वर्षायाममा अलि ठूलो पानी पर्नेबित्तिकै ढलले निकास नपाउँदा पुतलीसडक जलमग्न हुने गरेको छ। तर, आगामी वर्षादेखि त्यहाँ डुबानको समस्या हट्दैछ। ढल निकासको समस्या समाधान गर्न सडक विभागले बन्दाबन्दीका वेला सडक बन्द गरेर मर्मत गरिरहेको छ।

सामान्य अवस्थामा दैनिक हजारौं सवारी साधन गुड्ने काठमाडौंकै व्यस्तमध्येको एक सडक खोतलेर बनाउन सजिलो थिएन। त्यसैले लामो समयदेखि योजनामा परे पनि यो परियोजनाले गति पाएको थिएन। सडक सुधार पनि भएको थिएन। मर्मतको ठेक्का पाएको निर्माण कम्पनीले पनि यही अप्ठ्यारो बुझेर झण्डै हात उठाइसकेको थियो। तर, बन्दाबन्दी अवसर बनेर आयो। सडकमा एकाध बाहेक सवारी साधन नभएका कारण खनेर ह्युमपाइप बिछ्याउन सजिलो भयो। सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपाली भन्छन्, “अरु वेला असम्भव जस्तै रहेको यो काम गर्न बन्दाबन्दीले सहज पार्‍यो र ढल सुधारको काम अघि बढ्यो।”

नेपालीका अनुसार, पुतलीसडकको मुख्य सडकमा ढलको पाइप राख्ने काम सकिएको छ। अब माटोले छोप्ने, कालोपत्रे गर्ने, फुटपाथ मर्मत लगायत सडक पुनर्स्थापनाको काम बाँकी छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँगको समन्वयमा खानेपानीको पाइप चुहावटको पनि मर्मत भइरहेको छ, जुन वर्षायाम अघि नै सिध्याउने उनको दाबी छ। कमलपोखरीको सिटी सेन्टरदेखि पुतलीसडकको स्टारमलसम्म भने पाइप बिछ्याउन बाँकी छ। यो पाइप बिछ्याएपछि सिटी सेन्टरदेखि बगेर आउने ढल पुतलीसडकबाट शंकरदेव क्यापम्स हुँदै टुकुचामा बगाउन सकिन्छ।

गएको भदौमा भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयबीच यो क्षेत्रको ढल सुधारको विषयमा सहमति भएको थियो। करीब रु.१० करोडको यो परियोजना निर्माणको जिम्मा पीआर इन्फ्रास्ट्रक्चरले पाएको छ। बन्दाबन्दीपछि यो ढल सुधारको कामलाई गति दिन धादिङ, चितवन, मकवानपुरसम्म पुगेर कामदार र प्राविधिक ल्याइएको नेपालीले बताए।

हेर्नुस् भिडियो-


पुतलीसडकमा ढल बिछ्याउने काम सकिए पनि निर्माण सामग्रीको अभावले सडक पुनर्स्थापनाको कामले गति समातेको छैन। सडकको बेस तथा सब–बेस बनाउन चाहिने मसिना गिट्टी, बालुवा तथा कालोपत्रे गर्न चाहिने सामग्रीको अभावमा काम रोकिएको नेपालीले बताए। “ठाउँ–ठाउँमा स्थानीयले अवरोध गरेपछि निर्माण सामग्री लिन ढुवानी गर्ने सवारीसाधन जान पाएका छैनन्”, उनले भने।

स्थानीयको अवरोधले निर्माण सामग्रीको अभावका कारण चाबहिल–गौशाला सडकखण्डको मर्मतको काममा पनि अड्चन आएको छ। यो सडकखण्डमा एक सयभन्दा बढी ठाउँमा खानेपानीको पाइप चुहावट हुन्थ्यो, जसले सडकको गुणस्तर निरन्तर खियाउँथ्यो। केयूकेएलसँगको समन्वयमा नयाँ पाइप राख्ने काम सकिएको छ। बन्दाबन्दीका कारण सडक खनेर खानेपानीको पाइप राख्ने काम गर्न सजिलो भए पनि निर्माण सामग्रीको अभावका कारण सडक पुनर्स्थापनाको काम भने अड्किएको नेपालले बताए। “तैपनि, वर्षायाम अगाडि नै सडकमा कालोपत्रेको काम सक्ने योजना छ”, उनले भने।

नेपालीले वर्षायाम अघि दुबै परियोजना पूरा गर्ने बताए पनि निर्माण सामग्रीको अभाव कायम रहे वर्षायाममा बाटो थप बिग्रिएर भद्रगोल हुने जोखिम छ।

रोड मार्किङ पनि गरिंदै

बन्दाबन्दीको मौकालाई सडक विभागले रोड मार्किङ गर्ने अवसरका रूपमा पनि सदुपयोग गरिरहेको छ। सडकमा सवारी साधनको चाप नहुने भएपछि मार्किङको काम गरिएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटा बताउँछन्। कम मजदुर लाग्ने भएकाले यस्तो काम सम्भव भएको हो। झण्डै ३० किमी सडकमा लेन, जेब्राक्रससहित ट्राफिङ संकेत चिह्न बनाउने काम गरिएको छ।

मेलम्ची खानेपानीको पाइप राख्न खोतलिएको सडक मर्मत नहुँदा गएको वर्षसम्म भयंकर आलोचित सडक विभागले अहिले काठमाडौंको सडकमा सुधार जारी राखेको छ। जसका कारण, दरबारमार्ग, तीनकुने, सिंहदरबार, त्रिपुरेश्वर लगायतका काठमाडौंका सडक चिल्ला भएका छन्।

बबरमहल-माइतीघर सडक

विभागका उपमहानिर्देशक सापकोटा चालु आर्थिक वर्षमा विभागले पर्याप्त बजेट पाएका कारण काठमाडौंको सडक सुधार हुन सकेको बताउँछन्। विभागले काठमाडौंको सडक सुधारका लागि यो वर्ष करीब पौने दुई अर्ब रुपैयाँ बजेट पाएको थियो। जसका कारण, झण्डै ४२ किमी सडकमा ओभर ले (कालोपत्र) गरिने लक्ष्य तय गरिएको थियो। त्यसै अनुसार, अहिलेसम्म करीब ३५ किमी सडकमा कालोपत्रे भइसकेको विभागका उपमहानिर्देशक सापकोटाले बताए।

काठमाडौंको सडकमा हरेक चार/पाँच वर्षमा आवधिक मर्मत आवश्यक हुन्छ। त्यसै अनुसार, खाल्टाखुल्टी टाल्दै सडक कालोपत्रे गरिएको उनले बताए।

अधिकांश सडक आयोजना ठप्प, आंशिकमा सुस्त गति

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि ११ चैतदेखि गरिएको बन्दाबन्दीका कारण सडकका सानादेखि ठूला अधिकांश परियोजनाको निर्माण रोकिएको विभागका उपमहानिर्देशक सापकोटाले बताए। निर्माणमा अधिकांश भारतीय मजदुर रहेकाले उनीहरु घर फर्किएको, निर्माण सामग्रीको अभाव तथा स्थानीयको अवरोधका कारण परियोजनाहरुको निर्माण रोकिएको हो।

उपमहानिर्देशक सापकोटाका अनुसार, २ हजारभन्दा बढी सडकका आयोजनामध्ये २ सय ५० वटाजतिमा मात्रै आंशिक काम अगाडि बढाउन खोजिएको छ। तर, तिनको गति पनि सोचेजति छैन।

मध्यपहाडी तथा हुलाकी राजमार्गका केही भाग, भीमफेदी–कुलेखानी सडक स्तरोन्नति, गल्छी–स्याफ्रुबेशी सडक स्तरोन्नतिका काम आंशिक रुपमा अघि बढेका छन्। पाँच दर्जन पुल निर्माणाधीन रहेकाले तिनलाई वर्षायाम अगाडि नै जसरी पनि सक्नुपर्ने दबाब रहेको सापकोटा बताउँछन्। “वर्षायाम अघि नै तिनको निर्माण नसके गरिसकेको काम खेर जान्छ, त्यसैले जनशक्ति कम लाग्ने तर मेशिनको प्रयोग बढी हुने यस्तो काम अगाडि बढाउन पहल गरिएको छ”, उनले भने।

कोरोनाभाइरसले निम्त्याएको परिस्थितिका कारण सडक र पुलको मुख्य काम हुने मौसममै अवरोध भएपछि निर्माणको गति झण्डै एक वर्ष पर धकेलिने जोखिम बढेको छ। खासगरी फागुनदेखि जेठसम्म निर्माणको ‘पिक सिजन’ हो। यो वेला नै काम रोकिएपछि अगाडि बढाउन फेरि अर्को यही समय कुर्नुपर्छ। बन्दाबन्दी खुले पनि अधिकांश कामदार आयोजनास्थलबाट घर फर्किसकेकाले जेठ महीनामा पनि काम हुने सम्भावना कम रहेको सापकोटा बताउँछन्। चालु आर्थिक वर्षमा सडक विभागलाई रु.१ खर्ब २४ अर्ब बजेट विनियोजन भए पनि दोस्रो चौमास (फागुन मसान्तसम्म) मा करीब २८ प्रतिशत मात्रै खर्च भएको छ। “सधैं ९० प्रतिशतसम्म खर्च गर्दै आएको विभागले यो वर्ष खर्च धेरै बढाउन नसक्ने देखिएको छ”, सापकोटा भन्छन्।

सडक बाहेक जलविद्युत्, विमानस्थल, खानेपानी आयोजना आदिको काम पनि आंशिक ढंगले बढेको छ। मेलम्ची खानेपानी, तामाकोशी जलविद्युत् आयोजना, कान्ति लोकपथ, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढिरहेको छ।

निर्माणको अन्तिम चरणमा पुगेको ४ सय ५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिट वर्षायाम अगावै सञ्चालनमा ल्याउन काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। अहिले आयोजनाको ठाडो सुरुङमा निकै चुनौतीपूर्ण मानिएको पाइप जडानको काम भइरहेको छ। त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको साञ्जेन जलविद्युत् तथा रसुवागढी जलविद्युत् आयोजनाको काम पनि आंशिक रूपमा भइरहेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गर्दै आयोजनाको काम अघि बढिरहेको बताइएको छ।

अप्ठेरो अवस्थाका बीच निर्माणका काम भइरहे पनि सबैजसो आयोजनाले पूर्वाधार सामग्रीको अभाव भोगिरहेका छन्। विभिन्न ठाउँमा स्थानीयले निर्माण सामग्री ओसारपसार गर्न अवरोध गरेपछि आयोजनाको काम प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस