ऋषि कपूरको अधुरै रहेका दुई इच्छा
![ऋषि कपूरको अधुरै रहेका दुई इच्छा](https://www.himalkhabar.com/uploads/posts/1588321527Rishi-Kapoor.jpg)
बलिउडका 'रोमान्स किङ' ऋषि कपूरको रक्त क्यान्सरका कारण ६७ वर्षको उमेरमा बिहीबार निधन भयो। उनले सन् १९७० मा पिता एवम् दिग्गज अभिनेता, निर्माता, निर्देशक राज कपूरको फिल्म 'मेरा नाम जोकर' बाट बाल कलाकारका रुपमा अभिनय यात्रा थालेका थिए। प्रमुख भूमिकामा भने उनले 'बबी' (१९७३) बाट डेब्यू गरेका थिए।
स्टारपुत्र भए पनि उनले ५० वर्ष लामो फिल्मी करिअरमा विविध प्रकारका चरित्र गरेर आफूलाई साबित गर्दै अलग पहिचान बनाए।
आम मानिसको जीवनमा धेरै इच्छा-आकांक्षा अधुरा रहन्छन्। सार्वजनिक जीवनमा सफल व्यक्तिहरु भने सबै हिसाबले खुशी र परिपूर्ण होलान् भन्ने हामीमध्ये धेरैलाई लाग्न सक्छ। तर एकसेएक सफल फिल्म गरेका ऋषि कपूर पनि केही इच्छा अधुरो हुँदै जीवनबाट बिदा भएर गए।
उनले राष्ट्रिय फिल्म पुरस्कार र फिल्म फेयर लगायतका ठूला पुरस्कार त करिअरको शुरुआती समयमै पाएका थिए। तर, उनलाई एउटा कुरा भने सधैं खट्किरह्यो, फिल्म क्षेत्रबाट विशिष्ट योगदान दिए पनि उनलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री सम्मान दिएन।
उसो त ऋषिलाई मात्र होइन, फिल्म क्षेत्रमा ठूलो योगदान गरेका दारा सिंह, शम्मी कपूर लगायत हस्तीहरुले पनि पद्मश्री पाएनन्। यो सूचीमा जितेन्द्र, मुमताज, ऋषिकै समकालीन जूही चावलासम्मका कैयौं उत्कृष्ट कलाकारको नाम अँटाउँछन्।
ऋषि आफ्नो मनको कुरा हत्तपत्त सार्वजनिक गर्दैनथे। यति हुँदाहुँदै पनि पद्मश्री नपाएको खल्लोपन भने उनले प्रकट गरेका छन्। हरेक वर्ष आफूभन्दा जूनियर कलाकारहरुले समेत पाइरहेको प्रतिष्ठित पद्मश्रीबाट वञ्चित हुनुपर्दा चार-पाँच दशक फिल्ममै बिताएका अभिनेतालाई नमज्जा लाग्नु अस्वाभाविक पनि होइन।
ऋषि कपूर किशोरवय र युवा अवस्थामा ।ऋषिले यसबारे सन् २०१५ भारतका वरिष्ठ पत्रकार एवं फिल्म समीक्षक प्रदीप सरदानासँगको कुराकानीमा बताएका थिए। उनले 'मेरा नाम जोकर' देखि हिसाब गर्दा फिल्म क्षेत्रमा साढे चार दशक बिताएको भन्दै यो योगदान नदेखिएकोमा खिन्नता प्रकट गरेका थिए।
पद्मश्री सम्मानबारे सोधिंदा उनले भनेका थिए, "सैफ अली खानले पनि पद्मश्री पाए, यसमा के भन्न सकिन्छ ? सरकारलाई लाग्यो होला, मेरो भन्दा बढी योगदान उनको छ। तपाईंहरु जस्तो मित्र र पत्रकारले मैले पनि यो सम्मान पाउनुपर्छ भन्ने सोच्नुहुन्छ, यो नै ठूलो कुरा हो। खासमा कुनै पनि सम्मान समय छँदै पाए राम्रो हुन्छ।"
कपूर परिवारमा पृथ्वीराज कपूर र राज कपूरले दादा साहब फाल्के तथा शशि कपूरले दादा साहब फाल्के र पद्मभूषण पाएका छन्। तर, शम्मी कपूरले कुनै पनि सम्मान नपाएकोमा उनले दुःख प्रकट गरेका थिए। ऋषिले आफूले पद्मश्री नपाएकोमा भन्दा आफ्नो परिवारभित्रका दिग्गज कलाकारको योगदानप्रति उपेक्षा गरिएकोमा बढी दु:ख लागेको बताएका थिए।
कपूर परिवारका केही कलाकारलाई दिइएको सम्मान र सरकारले नदेखेको योगदानबारे ऋषिले भनेका थिए, "सरकारले कपूर परिवारलाई सम्मानित गर्यो, यो राम्रो कुरा हो। तर, यसको मतलब यो होइन कि एउटा परिवारमा अरु पनि राम्रा र ठूला कलाकार छन् भने त्यसलाई भुलियोस्। मैले पद्मश्री पाइनँ, यसभन्दा पनि बढी दु:ख शम्मी अंकलले केही पनि नपाएकोमा लागेको छ। जबकि, शम्मी अंकल जस्ता गजबको अभिनेताले फिल्म क्षेत्रमा कति ठूलो योगदान गरेका छन् भनेर धेरैलाई थाहा छ। तर, उहाँ कुनै यस्तो सम्मान नपाई संसारबाट जानुभयो।"
अन्तत: ऋषि कपूरले पनि त्यही रिक्तता बोकेरै संसार छाडे।
छोराको बिहे हेर्ने रहर पनि अधुरो
ऋषि कपूरलाई आफ्ना पिता राज कपूरप्रति जति गर्व थियो, अभिनेता पुत्र रणबीर कपूरको उत्कृष्ट कलाकारिताले उनको छाती त्यति नै चौडा हुन्थ्यो।
यसलाई चित्रण गर्दै आफ्नो ट्विटर बायोमा ऋषिले केही समयअघि लेखेका पनि थिए- "एक प्रसिद्ध पिताका छोरा र एक प्रसिद्ध पुत्रका पिता।"
ऋषिलाई छोरा रणबीरका साथै छोरी रिद्धिमाप्रति निकै लगाव थियो। व्यस्तताका बीच पनि उनी परिवारलाई पर्याप्त समय दिन्थे। छोरीको बिहे उनले सन् २००६ मा धुमधामसाथ गराएका थिए। पछिल्लो केही वर्षयता भने छोराको पनि बिहे गरिदिन पाए हुन्थ्यो भन्ने उनको इच्छा थियो।
यति भईकन रणबीरमाथि ऋषिले कहिल्यै पनि बिहेको लागि दबाब दिएनन्। यद्यपि पछिल्लो समय आफ्नो स्वास्थ्य बिग्रिंदै गएपछि उनले आफू रहँदै छोराको बिहे होस् भन्ने चाहेका थिए। रणबीर र आलिया भट्टबीचको प्रेम सम्बन्ध र बिहेप्रति दुवैको सहमति देखेर पनि ऋषिको त्यो इच्छा थप प्रबल भएको थियो।
ऋषि कपूर पत्नी नीतू र छोरा रणबीरका साथमा ।जति वेला ऋषि कपूर २०१८ को सेप्टेम्बरमा आफ्नो उपचार गराउन अमेरिकाको न्यूयोर्क गएका थिए, त्यस लगत्तै उनकी आमा कृष्णा कपूरको निधन भयो। त्यसवेला आलियाले तत्कालै कपूर परिवारको घरमा गएर सबै काममा सघाएकी थिइन्। त्यसले घरमा बुहारी भित्र्याउने चाहना र भावना अझ बलियो भनेको थियो। तर त्यो चाहना ऋषिको जीवनकालमा पूरा हुन सकेन।
के बताइन्छ भने, रणबीर र आलिया दुवै आफ्नो फिल्म 'ब्रह्मास्त्र' को काम सकिएपछि मात्र बिहे गर्न चाहन्थे। करण जोहर निर्मित र अयान मुखर्जी निर्देशित यो फिल्मको प्रदर्शन मिति धकेलिंदै ४ डिसेम्बर २०२० मा पुगेको छ।
- बीबीसी हिन्दीबाट