नेपालीमूलका रामसिंह, जसले भारतको राष्ट्रिय गान ‘जन गण मन’को धुन रचे
कदम कदम बढाए जा
खुशी के गीत गाए जा
यह जिन्दगी है कौम की
तू कौम पे लुटाए जा
अहिलेसम्म पनि यस रोम–रोम रोमाञ्चित गर्ने देशभक्ति धुनले सम्पूर्ण भारतवासीलाई भिजाइराखेको छ । सन् १९४० को दशकमा जब भारतमा स्वतन्त्रता सङ्ग्रामले अन्तिम रुप धारण गरिसकेको थियो, यो धुन त्यही समय रचिएको थियो । सङ्गीतज्ञ क्याप्टन रामसिंह ठाकुरद्वारा रचिएको यो धुनमा भारतीयहरू भावविभोर हुनेगर्थे ।
रामसिंह ठाकुर भारतीय नेपाली संसारमा एउटा शीर्ष स्थानमा पुगेका व्यक्तित्व थिए । १५ अगस्ट १९१४ मा हिमाञ्चल प्रदेशको काँगडा जिल्लास्थित सल्लाघारी गाउँमा जन्मिएका रामसिंह सानै उमेरदेखि सङ्गीतमा रुचि राख्थे ।
आफ्ना पिताझैँ रामसिंह पनि तिनताकाको ब्रिटिश २/१ राइफल्समा सन् १९२८ मा ‘बोइ’ (केटो) को रूपमा भर्ना भए । राइफल्सका व्याण्डमास्टर सार्जेन्ट हड्सनबाट उनले भ्वायोलिन बजाउन सिके । त्यसै पनि तीनताक भाग्सुवासी नेपालीहरू सङ्गीत–कला आदिमा निकै रुचि राख्दथे । अर्का सुप्रसिद्ध सङ्गीतज्ञ मास्टर मित्रसेन थापा पनि यसै समयका एक अभिन्न उपज थिए ।
रामसिंहको सङ्गीतप्रतिको झुकाव र गोर्खे एकनिष्ठताबाट प्रभावित भई, ब्रिटिश सरकारले उनलाई शीघ्र नै पदोन्नति प्रदान गर्यो । रामसिंहले सन् १९४१ मा हवल्दार–मेजरको पद पाए र तुरुन्तै त्यही सालको अगस्ट महिनामा बम्बई बन्दरगाहबाट मलाया प्रस्थान भए ।
जापानले गरेको युद्ध घोषणालाई चुनौती दिन, अङ्ग्रेजले व्यापक रूपमा सैन्य दल धेरै युद्ध क्षेत्रहरूमा पठायो । जापान आफ्नो सामरिक शक्तिको चरम सीमामा थियो । ब्रिटिश सेनाहरूलाई जापानले पराजित गरे र धेरैलाई युद्धबन्दी पनि बनायो ।
रामसिंह पनि प्रथम पटक युद्धबन्दी बने । तर कलाले गर्दा उनले युद्धबन्दीले पाउने कठोर यातना भोग्नु परेन । उनको सङ्गीतले त्यहाँ पनि सबैलाई भिजायो, मुग्ध बनायो ।
भारत फर्केपछि रामसिंहलाई एउटा नौलो मौका मिल्यो । रास बिहारी बोस र सुभाष चन्द्र बोसको नेतृत्वमा अङ्ग्रेजलाई खेद्नमा ठूलो भूमिका निर्वाह गरेको आजाद हिन्द फौजमा रामसिंह व्याण्ड प्रमुख मात्रै भएनन्, उसलाई ‘आजाद हिन्द रेडियो’ स्टेशनको सङ्गीत निर्देशक पनि नियुक्ति गरियो । तन्नेरी रामसिंहलाई आफ्नो साङ्गीतिक क्षमता प्रदर्शन गर्ने यो एउटा सुनौलो अवसर थियो ।
अक्टोबर १९४३ मा जापान सरकारले मान्यता प्रदान गर्नासाथ, आजाद हिन्द फौजका वीर सेनानीहरू उत्तरपूर्वी क्षेत्रबाट अङ्ग्रेजसँग युद्ध गर्न भनी भारतभित्र पस्न लागे । कस्तो चाखलाग्दो कुरो, केही सालअघि मात्रै जापानीहरूले युद्धबन्दी बनाएका, रामसिंहले फेरि जापानसँग मिलेर अङ्ग्रेजहरूमाथि आक्रमण शुरु गरे ।
अभाग्यवश यस दोस्रो विश्व युद्धमा जापानको हार सँगसँगै आजाद हिन्द फौजले पनि हार स्वीकार गर्नु पर्यो । यस उत्तरपूर्व भारतका आक्रमणमा परेका फौजका सबै सेनाहरूले आत्मसमर्पण गरेपछि उनीहरूलाई युद्धबन्दी बनाइयो ।
रामसिंहलाई कलकत्तामा बन्द गरेर राखियो र पछि दिल्लीको लालकिल्लाको कालकोठरीमा थुनियो । सन् १९४६ मा कैदखानाबाट निस्कनासाथ, रामसिंह धेरै विशिष्ट नेताहरूका प्यारा भए । पण्डित नेहरूको आग्रहमा आई.एन.ए.अर्केष्ट्रा गठन गरेपछि, रामसिंहले राष्ट्रभक्ति र प्रेमका धुन–गीतहरू सुनाउँदै भारतका विभिन्न कुनाको भ्रमण गरे ।
तर कस्तो बिडम्बना हाम्रो ? बङ्गालीले रवीन्द्रनाथ ठाकुरको घोडा चढेर कहाँ पुग्यो, अङ्ग्रेजले शेक्सपियरलाई बेचेर विश्वमा ढोल पिट्यो, हामी भारतीय नेपालीहरूले भने रामसिंहलाई आफैँले राम्रो चिनेनौँ, अरूलाई चिनाउने त कुरै उठेन। हामी पनि देवकोटा–सम–पारिजातलाई विश्व बजारमा नल्याउने नेपालका नेपालीहरू जस्तै भयौँ ।
१५ अगस्ट १९४७ को दिन रामसिंहको जन्मतिथि थियो, भारतले अङ्ग्रेज शासनको घिनलाग्दो प्रपञ्चबाट छुटकारा पाएको महत्वपूर्ण क्षण थियो । लालकिलाको त्यस ऐतिहासिक प्राचीरबाट रामसिंहले देशभक्तिको सङ्गीत गुञ्जायमान गरेर दायित्व निभाए, वीर सेनानी र एउटा दक्ष सङ्गीतज्ञ भनेर आफूलाई चिनाए । भारतीय नेपालीहरूको यश र कीर्तिमा एउटा सग्लो अध्याय थपे ।
अगस्ट १९४८ मा उत्तर प्रदेशको प्रोभिन्सियल आर्म्ड कन्सटाबुलेरीको सङ्गीत व्याण्डमा रामसिंहले फेरि नोकरी गर्न थाले र सन् १९७४ मा निकै ठूलो पद प्राप्त गरी अवकाश लिए । त्यसपछि मात्रै भारतीय नेपालीहरूले शायद रामसिंहलाई ‘हाम्रो हो’ भनेर चिन्न थाले ।
तर कस्तो बिडम्बना हाम्रो ? बङ्गालीले रवीन्द्रनाथ ठाकुरको घोडा चढेर कहाँ पुग्यो, अङ्ग्रेजले शेक्सपियरलाई बेचेर विश्वमा ढोल पिट्यो, हामी भारतीय नेपालीहरूले भने रामसिंहलाई आफैँले राम्रो चिनेनौँ, अरूलाई चिनाउने त कुरै उठेन। हामी पनि देवकोटा–सम–पारिजातलाई विश्व बजारमा नल्याउने नेपालका नेपालीहरू जस्तै भयौँ ।
यस्तो विलक्षण प्रतिभा भएको रामसिंहको १५ अप्रिल २००२ मा लखनऊमा मृत्यु भयो । एक–दुई वटा टेलिभिजन च्यानलले नगण्य रूपमा समाचार दिए । कतिपय नेपाली संघसंस्थाहरूले शोक सभा आयोजन गरे । हाम्रा रामसिंह अब रहेनन् । रामसिंहले ‘भारत रत्न’ पाउनुपर्ने थियो । तर कसले भारत सरकारकहाँ यस कुरोलाई पुर्याउने । संस्था छैन, राजनीतिक पार्टी छैनर नेतृत्व छैन, हामी भारतीय गोर्खाहरूको ।
व्यक्तिगत प्रयासमा नै हामी कति बचाउँछौँ, आफ्नो संस्कृति–भाषा र जगेर्ना गर्छौँ जन्मथलोको ? यस्तो कहिलेसम्म गर्ने ? भारतमा प्रजातन्त्र रहेर पनि हामीले कहिल्यै फाइदा उठाएनौँ । भारतीय गोर्खाहरूको भावनालाई माथि उचालेर राजनैतिक लाभ उठाएपछि, त्यसलाई भुइँमुनि गाड्ने हाम्रा नेताहरूका प्रवृत्तिले हामीलाई केवल ओरालै लगायो ।
रामसिंहले नै रवीन्द्रनाथ ठाकुरद्वारा लिखित आजको राष्ट्र गीत जन गण मन अधिनायक जय हे को हिन्दी रुपान्तर शुभ सुख चैनकी बरखा बरसे, भारत भाग्य है जागा लाई अहिले गाइने धुनमा सुर हालेका थिए ।
अक्टुबर १९४३ मा अस्थायी आजाद हिन्द सरकारको गठन भएको दिन नेताजी सुभाष बोसले कोसेली स्वरुप प्रदान गरेको भायोलिनमा रामसिंहले यो धुन प्रथम पटक प्रस्तुत गरेका थिए । अहिलेको जन गण को धुन, शुभ सुख कै धुन हो भनेर रामसिंह आफैँले किटान गर्दा पनि, कसैले सुनेनन्। खोजी गरौँ, सत्यमा पुगौँ ।
रामसिंहले गाएको क्यासेट चलो दिल्ली, विरही काइँलाद्वारा उनीमाथि लेखिएको पुस्तक वीरों ने जो गाया, मणिप्रसाद रायको भारतीय स्वतन्त्रता सङ्ग्रामीहरूमाथिको साहित्य अकादमीद्वारा पुरस्कृत पुस्तक वीर जातिको अमर कहानी र कतिपय पुराना कागजपत्रहरू मेरै निजी पुस्तकालयमा पनि छन् ।
जमर्को गरौँ, एउटा खोजपूर्ण प्रयासको दुई वटा पीएचडी थेसिसको रामसिंहमाथि । समय अझै छ, रामसिंहलाई हामीमाझ् र अरूमाझ् कदरसँग बचाएर राख्ने ।
('रामसिंह ठाकुर र हाम्रो बिडम्बना' शीर्षकमा हिमाल खबरपत्रिकाको १६–३२ असार २०५९ मा छापिएको लेख । कतिपय अध्येताले रामसिंहलाई ठाकुर नभई ठकुरी भएको उल्लेख गरेका छन् । उनको यसै महीना अप्रिल १५, २००२ मा निधन भएको थियो ।)