खेलकुद आइतबार, चैत ३०, २०७६

खेलकुदमा कीर्तिमानी वर्ष–२०७६

हिमालखबर

खेलकुदमा कीर्तिमानी वर्ष–२०७६
साग उद्घाटन समाराेह, दशरथ रंगशाला ।
२०७६ को अन्तिम महीना कोरोना महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि स्थगित हुन पुग्यो। बी डिभिजन लिग, विश्वकप फुटबल छनोट देखि स्थानीय स्तरका सम्पूर्ण खेलकुद गतिविधि बन्दाबन्दीका कारण स्थगित छ। 
 
तर, पनि २०७६ नेपाल खेलकुदका लागि कीर्तिमानी वर्ष बन्न पुग्यो । विशेषगरी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कीर्तिमानी उपाधि जित्यो भने सफल आयोजना गर्न पनि सक्यो। 
 
सागमा सफलता
 
सागको इतिहासमा नेपालले कीर्तिमानी उपाधि जित्यो । १५–२४ मंसीरमा काठमाडौं, जनकपुर र पोखरामा आयोजित सागमा नेपालले ५१ स्वर्ण जित्यो। यो साग इतिहासमै नेपालले धेरै उपाधि जितेको संख्या हो। 
 
सागमा नेपालले ६० रजत र ९५ काँस्य सहित २०६ पदक जितेको थियो। एउटै सागमा चार स्वर्ण जितेर पौडीमा गौरिका सिंहले कीर्तिमान बनाइन्। कुस्तीमा संगीता धामी, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठले पनि कीर्तिमानी जित दिलाइन्। म्हिला भलिबलमा ऐतिहासिक रजत जितेको नेपालका लागि तेक्वान्दोबाट १२ र कराँतेबाट १० स्वर्ण मिलेको थियो। 
 
निलम्बन फुकुवा, क्यानमा नयाँ नेतृत्व 
 
झण्डै चार वर्षसम्म आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) फुकुवा भयो। आईसीसीले शर्तसहित निलम्बन फुकुवा गरेको छ। विवादमा परेपछि निलम्बनमा परेको क्यानमा नयाँ नेतृत्व आयो। यो सँगै, निलम्बन फुकुवा भयो। तर, दश वर्ष कप्तानी गरेका पारस खड्काले कप्तानबाट राजीनामा दिए। 
 
नेपाली क्रिकेटलाई डिभिजन पाँच देखि ओडीआईसम्म पु-याएका पारसको राजीनामासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल नयाँ कप्तान बनेका छन्। मल्लको कप्तानीमा खेलेका खेलमा नेपालका केही युवा क्रिकेटरहरुले नयाँ कीर्तिमान समेत बनाए । 
 
कप्तान ज्ञानेन्द्र मल्ल ।
 
राम्रो अवसर, सामान्य सफलता
 
२०२२ मा हुने विश्वकप फुटबल र २०२३ मा हुने एसिया कप छनोटमा नेपालले आफू भन्दा बलिया टीमसँग खेल्ने अवसर पायो। विश्वकप खेलिसकेको देशहरु अष्ट्रेलिया र कुवेत सहित जोडर्न र चाइनीज ताइपेई विरुद्ध नेपालले खेल्यो। तर, नेपालले चाइनीज ताइपेई विरुद्ध उसकै मैदानमा गएर हराउनु बाहेक अरु खेलमा पराजित भयो।
 
तर, अनुभवका हिसाबले भने नेपालले राम्रो अवसर पायो। बन्दाबन्दीकै कारण थप खेल भने नेपालले खेल्न पाएको छैन। सागमा भने नेपालले उपाधि रक्षा गर्न सफल भयो ।
 
सागकाे उपाधि जितेपछि नेपाली फुटबल टीम।
महिला भलिबलमा फड्को
 
महिला भलिबल तर्फ नेपालले लोभलाग्दो फड्को मारेको छ। सागमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमै सीमित भए पनि बांग्लादेशमा सम्पन्न एभीसी सिनियर वुमेन्स सेन्ट्रल जोन भलिबलको उपाधि जित्यो। 
 
पुरुषतर्फ भने नेपालको भलिबलमा सुधार देखिएन । भदौमा लगन खेलमा आयोजित एसियाली स्तरको प्रतियोगितामा नेपाल पाँचौं स्थानमा चित्त बुझाउनु प¥यो। 
 
सागमा महिला भलिबल टीम ।
 
प्रिन्सको छलाङ 
 
प्रिन्स दाहाल नेपाली ब्याडमिन्टनलाई विश्व स्तरमा चिनाउन सफल भए । १६ वर्षीय किशोर प्रिन्स ब्याडमिन्टनको जुनियर विश्व बरियतामा सातौं स्थानमा उक्लिएका छन्। 
उनले यो वर्ष मात्रै नौ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए। भदौमा दुबई इन्टरन्याशनल सिरिजको उनले उपाधि जिते। 
 
प्रिन्स दाहाल ।
 
राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिकमा पनि यो वर्ष नयाँ नेतृत्व आयो । केशरकुमार विष्टको चार वर्षे कार्यकाल सकिए पछि रमेशकुमार सिलवाल सदस्य सचिव नियुक्त भए । गएको भदौमा सम्पन्न निर्वाचनबाट ओलम्पिकमा जीवनराम श्रेष्ठ पुन अध्यक्ष निर्वाचित भए। उनी उमेशलाल श्रेष्ठलाई पराजित गरी अध्यक्ष निर्वाचित भए।
 
२०७६ को नेपाली खेलकुदमा थप सफलता भनेको खेलकुद ऐन पारित हुनु पनि हो । फागुन २०७५ मै राष्ट्रियसभामा दर्ता भएको ऐन प्रमाणिकरणको चरणमा पुगेको छ। 
 

प्रतिकृया दिनुहोस