समाचार विहीबार, चैत २७, २०७६

भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र, अनुगमनमा खटिए मन्त्री फुयाँल

हिमालखबर

भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र, अनुगमनमा खटिए मन्त्री फुयाँल

हेटौंडा–दक्षिणकाली सडक खण्ड अन्तर्गत भीमफेदी–कुलेखानी सडक विस्तारको अनुगमनमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल आफै खटिएका छन् । साविक ४ मिटर सडकलाई ६ मिटर बनाउने योजनासहित अहिले काम भइरहेको छ ।

बन्दाबन्दी (लकडाउन) को समय पारेर बागमती प्रदेशले भटाभट काम थालेको सडकको अनुगमनमा मन्त्री आफैं लागिपरेको प्रतिक्रिया दिएका छन् । मन्त्री फुयाँलले २६ चैतमा निर्माण स्थलमै पुगेर सडक अनुगमन गरेका हुन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री फुयाँलले अहिले सवारी साधन बन्द भएको समयलाई सदुपयोग गरी सडक विस्तारको काम गरिएको बताए । उनले छिट्टै निर्माण सकिने पनि बताएका छन् ।

अनुगमनमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायत स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।

भीमफेदीदेखि कुलेखानीसम्म दैनिक ६ वटा डोजरले बाटो विस्तार गरिरहेका छन् । भीमफेदीदेखि देउरालीसम्म ८ किलोमिटर सडक निर्माणका लागि रु.१७ करोड र देउरालीदेखि कुलेखानीसम्म ७ किलोमिटरका लागि रु.१५ करोडमा मोतीदाना कन्स्ट्रक्सनसँग सम्झौता भएको छ ।

हेटौंडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौं जोड्ने सडक निर्माणको २०४९ शुरुआत भई २०६३ सालमा सम्पन्न भएको थियो। हाल उक्त सडकमा दैनिक करीब २ हजार ५ सय सवारीसाधन आउजाउ गर्छन्।

सुरजकुमार भुजेल, मकवानपुर

 

प्रतिकृया दिनुहोस