विपदमा अगाडि बढ्दै केही मनकारी हातहरू
कोरोनाभाइरसको संक्रमणलाई रोक्न देश तीन हप्ते लकडाउनमा छ । यस अवधिमा विपन्न श्रमिक तथा असहायको दैनिकी कठिन बन्दै गएको छ।
विभिन्न स्थानीय तहले समस्यामा परेकाहरुलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको छ तर आलोचनामुक्त हुन सकेको छैन । राहत वितरणमा दलगत उपस्थिति करीब शून्य नै रहेको छ ।
अरु वेला सक्रिय रहने एनजीओहरुको पनि सक्रियता खासै छैन । विपन्न समुदायलाई अप्ठेरो पर्दै गएपछि केही मनकारीले भने आफ्नो ठाउँमा सहयोग शुरु गरेका छन् ।
रौतहटको मौलापुर नपा ८ सोनरनियाका अवधलाल साहले स्थानीय बजारमा सञ्चालन गरेको कुटानी–पिसानी मिललाई निशुल्क बनाएका छन् ।
विपन्न समुदायलाई संकटमा सहयोग गर्न धानबाट चामल बनाउन र गहुँ तथा चामलबाट पिठो बनाउन साहले सेवा शुरु गरेका छन् ।
यसबाट विपन्न समुदायलाई केही भए पनि राहत पुग्ने विश्वास साहले लिएका छन् । साहको कदम उदाहरणीय भएको भन्दै प्रशंसा गरिएको छ ।
रौतहटको चन्द्रपुर नपा ७ नयाँ बस्तीका जयनारायण साहले आफ्नो वडाका विपन्न समुदायका समस्यामा परेकालाई खोजी खोजी खाद्यान्न राहत सहयोग गरिरहेका छन् ।
साहले ६० परिवारलाई दश किलो चामल, पाँच किलो आलु, दाल, तेल र नुन उपलब्ध गराएका छन् । वडाका कोही समस्यामा भए जतिखेर पनि आफू सहयोग गर्न तयार रहेको साह बताउँछन् ।
संकटको समयमा कोही भोकै बस्न नपरोस् भन्ने लागेर आफूले मानवीय सेवा गरेको साहको भनाइ छ ।
रौतहटको कटहरिया नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा मेयर पदका प्रत्यासी अजयप्रकाश जयसवालले पनि आफ्नो निजी लगानीमा राहत वितरण गरेका छन् ।
जयसवालले कटहरिया नपा ६ फत्तेपुरका दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने घरपरिवारलाई दश किलो चामल, एक किलो दाल, नुन, साबुन, मास्क लगायतका सामान दिएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहले आफ्नो पहलमा ठूलै राहत स्थानीय तहलाई उपलब्ध गराउँदै छन् ।
निर्वाचन क्षेत्रभित्रका ६ वटा नगरपालिकालाई दश हजार सर्जिकल मास्क, पाँच सय एन ९५ मास्क, एक हजार ग्लोभ्स, पाँच सय लिटर सेनेटाइजर तथा हरेक स्थानीय तहलाई दुई दुई सेट पीपीई प्रदान गर्दै छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा मौलापुर, देवाही गोनाही, फतुवा विजयपुर, कटहरिया, कटहरिया र गुजरा नगरपालिका रहेका छन् ।
जिल्लाका सञ्चारकर्मीहरुलाई पनि कठिन समयमा काम गर्नु परिरहेको भन्दै संघीय सांसद साहले एन ९५ मास्क, सेनेटाइजर लगायतका सामग्री सहयोग गरेका छन् ।
यसअघि गरुडा ५ महम्मदपुरका रामविनोद प्रसादले करीब १३ हजार मास्क र १३ हजार साबुन आफ्नो वडाका पाँच गाउँमा बाँडेका थिए । उनी रौतहट इँटा उद्योग व्यवसायी संघ रौतहटका अध्यक्ष पनि हुन् ।
अन्य केही मनकारी हातहरु विपदमा परेकालाई सहयोग गर्न अगाडि सरेका छन् । समस्यामा परेकालाई मानवीय सहयोग गर्नुपर्छ भन्ने धारणाको विकास हुनु आवश्यक छ ।
सञ्जय मित्र, रौतहट