दस्तावेज बुधबार, चैत २६, २०७६

३० वर्षअघिको त्यो घर्षण (१५ तस्वीर)

हिमालखबर

३० वर्षअघिको त्यो घर्षण (१५ तस्वीर)
मिनरत्न बज्राचार्य, फोटाे पत्रकार । तस्वीर: नवीन बराल

‘सत्ता मात्रको प्रतिस्पर्धा, माओवादी हिंसा, राजनीतिक संक्रमण, कुशासन, लोकरिझयाँई, आसेपासे पूँजीवाद चुलिएको कालखण्ड’– पछिल्लो ३० वर्षलाई एक वाक्यमा सम्झ्नुपर्दा संभवतः धेरैको मनमस्तिष्कमा आउने कुरा यिनै हुन् । परिमाणतः सरकार नागरिकका लागि बन्न सकेन्, राजनीतिक दल भन्नु नै सत्ताका पर्याय झैं बन्न पुगे ।

तर, ३० वर्षअघिको आजको दिन, आमजनमा यस्तोे अनुभूत होला भनेर शायद कसैले सोचेको थिएन ।
स्वतन्त्रताको त्यो उचाइँमा पुग्ने उल्लासबाट प्रेरित त्यो त्यस्तो बेला थियो– जो समानतामा आधारित समाज बन्छ भन्नेमा विश्वस्त थियो । एउटा व्यक्तिको बुद्धि र सनकमा चल्ने देशलाई त्यहीँ सोचको बलमा ठूलो त्याग र बलिदानबाट बहुदलिय प्रतिस्पर्धात्मक व्यवस्थामा लैजान सफल भएको थियो ।

परिवर्तन हुँदै नभएका पनि होइनन् । हिजोको सामन्ती राज्य व्यवस्थाका थुप्रै अवयव पन्छाउँदै दमित र सिमान्त समुदायको पहिचान स्थापित गर्ने काम २०४६ सालकै जनआन्दोलनपश्चातको परिवर्तनकै कारण सम्भव भएको हो । व्यक्तिका आधारभूतदेखि सबैखाले अधिकारको सवालमा आजको नेपाली समाजको आधारशिला त्यही जनआन्दोलनमार्फत प्राप्त प्रजातन्त्र नै थियो– जसको बलमा उग्रबाम तथा दक्षिणपन्थी अतिवादी हुण्डरी पनि मध्यमार्गमा आउन बाध्य भए ।

कस्तो थियो त त्यो ३० वर्ष अघिको जनआन्दोलनको प्रस्थान बिन्दु ?
थोरै मात्र फोटोपत्रकार क्रियाशिल त्यसबखतको ऐतिहासिक क्षणलाई हामीले हिमालखबरका पूर्व सहकर्मी मीन बज्राचार्यको क्यामेराको लेन्सबाट चियाँउने प्रयत्न गरेका छौं । – सम्पादक

 

 

 

 

 

 

शंखनादः ५–७ माघ २०४६ को चर्चित चाक्सीबारी बैठक । सर्वोच्च नेता गणेशमान सिंह (कुर्सीमा बसेका)को घर ठमेल, चाक्सीबारीमा भएको नेपाली काँग्रेसको राष्ट्रिय सम्मेलनमा भारतका समाजवादी नेता चन्द्रशेखर (पछि प्रधानमन्त्री), नेकाका तत्कालिन कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई, भारतका कम्यूनिस्ट नेता हरकिशनसिंह सुरजीत र भारतका पत्रकार एमजे अकबर । (बायाँबाट क्रमशः) 

 

५–७ माघ २०४६ः चाक्सीबारी सम्मेलनलाई सम्बोधन गर्दै गणेशमान सिंह ।

 

५-७ माघ २०४६ः चाक्सीबारी सम्मेलनलाई सम्बोधन गर्दै गिरिजाप्रसाद कोइराला ।

 

५–७ माघ २०४६ः चाक्सीबारी सम्मेलनलाई सम्बोधन गर्दै भारतीय समाजवादी नेता चन्द्रशेखर ।

 

संघर्षः जनआन्दोलनका क्रममा तत्कालिन बाममोर्चाका नेता पद्मरत्न तुलाधर न्यूरोडस्थित तत्कालिन अमेरिकी लाइब्रेरी (खिचापोखरी जाने मोड) अगाडीबाट पक्राउ ।

 

. प्रतिरोधः आन्दोलनको प्रतिरोधमा न्यूरोडमा ७ फागुनमा खटिएका प्रहरी । तस्वीर खिच्दै ‘काठमाण्डौ स्प्रिङः द पिपुल्स मुभमेन्ट अफ १९९०’ पुस्तककी लेखक, पत्रकार कियोको ओगुरा ।

 

दमनः ७ फागुन, बागबजारस्थित भक्तपुर बसपार्क अगाडी आन्दोलनकारीमाथि अश्रृ ग्यास वर्षाउँदै प्रहरी ।

 

 

 

शिथिलतामा उर्जाः जनआन्दोलनको डेढ महीना बितिसक्दा पनि कुनै उपलब्धि हुन नसक्दा काठमाडौं शिथिल हुन पुगेको थियो भने पाटन  चाँहि आन्दोलनकारीको अभेद्य किल्ला बन्न पुगेको थियो । चैतको दोस्रो साताको एक दिन पाटनका महिलाले लठ्ठी, खेतमा माटोको डल्ला फोड्ने औजार र थाल, बाटासहितको विरोध जुलुस मंगलबजारबाट पुल्चोकतर्फ जाने क्रममा महापालमा ।

 

जनताको जितः २६ चैत, २०४६ को राति राजा वीरेन्द्रबाट पञ्चायतको विघटन र बहुदलिय प्रजातन्त्रको घोषणाको भोलिपल्ट २७ चैत बिहान वीर अस्पतालबाट हिरासतमुक्त हुँदै जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह र नेता मनमोहन अधिकारी । आन्दोलन शुरु भएलगत्तै सरकारले सर्वोच्च कमाण्डर सिंह र नेता अधिकारीलाई शुरुमा नजरबन्द र पछि अस्पतालमै हिरासतमा राखेको थियो । 

दुबै नेता वीर अस्पताल परिसरबाट रिहा हुँदाको तस्वीरमा नेता सिंहको दायाँतर्फ श्यामलाल श्रेष्ठ (हातअघि सार्ने), झ्ण्डा बोकेका गणेश खड्गी (पछि बागबजार क्षेत्रको वडाध्यक्ष), दुई नेताबीचमा काँग्रेस नेता स्व.सूर्यप्रसाद उपाध्यायका छोरा किरण उपाध्याय ।

 

उल्लासः प्रजातन्त्रप्राप्तिको खुशीयालीमा २७ चैत २०४६ को इन्द्रचोक । न्यूरोड र मखनटोलतर्फबाट आएको मानवभेल असन–भोटाहिटीहुँदै टुँडिखेलतर्फ लम्कदँै ।

 

टुँडिखेलको आमसभामा सरिक हुन जाने क्रममा सिंहदरबार अगाडिको मानवसागर ।   

 

टुँडिखेलकै आमसभामा त्यही दिन बिहान मात्र रिहा भएका गणेशमान सिंह र मनमोहन अधिकारीसँगै विष्णुबहादुर मानन्धर, झ्लनाथ खनाल, तुल्सीलाल अमात्य, बासु रिसाल, सहाना प्रधान (पछाडीपट्टी बाँयाबाट क्रमशः) र दायाँ छेउमा मंगलादेवी सिंह र शैलजा आचार्य, क्रमशः ।

 

स्वागतः २६ चैत, २०४६ को राति राजा वीरेन्द्रबाट पञ्चायतको विघटन र बहुदलिय प्रजातन्त्रको घोषणाको भोलिपल्ट २७ चैतमा टुँडिखेल (तिनिख्यँ) को विशाल आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई । भट्टराईको दायाँतर्फ मल्ल के सुन्दर र होमनाथ दाहाल देखिन्छन् भने बाँयातर्फ कुर्सीमा क्रमशः मोदनाथ प्रश्रित, पद्मरत्न तुलाधर र जगन्नाथ आचार्य ।

 

२७ चैतमा टुँडिखेलमा उर्लिएको मानवसागर ।

 

जनआन्दोलनकी ‘आईकोन’: प्रजातन्त्रप्राप्तिपछिको पहिलो आमसभामा जीतको खुशी मनाइरहेका सहभागीको भीडमा युवती (दुर्गा कार्की) । को यो तस्वीर जनआन्दोलनकै ‘आइकोन’ बन्न पुग्यो ।

 

प्रतिकृया दिनुहोस