कोभिड-१९ सोमबार, चैत २४, २०७६

कहिले हुन्छ कोरोना महामारीको अन्त्य ?

हिमालखबर

कहिले हुन्छ कोरोना महामारीको अन्त्य ?
बन्दाबन्दी (लकडाउन)मा बौद्धनाथ स्तुप । तस्बीरः मनिष पौडेल
डा. नारायण ज्ञवाली

विश्व विगत तीन महीनादेखि कोभिड १९ महामारीको चपेटामा छ, युद्धरत छ, शिथिल छ । नेपाल पनि यो महामारीमा अछुत छैन ।

सरकारी तथ्यांकमा हेर्ने हो भने, नेपालमा कोरोना संक्रमणका बिरामी अहिलेसम्म १० जनामा सीमित छन्, जसमध्ये एक जना निको भइसकेका छन् । जाँच गरिनुपर्ने अन्यमा सरकार नपुगेका कारण यो तथ्यांक वास्तविक संक्रमितको संख्या नभएको भन्न सक्ने आधारहरु पनि प्रशस्त छन् । तर, जे भए पनि यो सानो तथ्यांकले नेपालीलाई ढाडस भने दिइरहेको छ । चिन्ता भने यो ढाडस भ्रम नभइदियोस् भन्ने हो ।

अहिले सबैको एउटै पीर छ— कतै यो महामारीले मरिन्छ कि ? प्रश्न एउटै छ— कहिले हुन्छ यो महामारीको अन्त्य ?

किन हुन्छ महामारी ?
कुनै संक्रमण र रोग अकस्मात धेरै देशहरुमा एक साथ देखिन्छ वा विश्वव्यापी प्रसार हुन्छ भने त्यसलाई महामारी भनिन्छ ।

कोरोनाभाइरस विज्ञान र स्वास्थ जगतका लागि नयाँ नाम भने होइन । वर्षौंदेखि साधारण रुपमा प्रकृतिका विभिन्न जीवहरुसँगै मिलेर बसेको यो भाइरसले मानव जातिलाई लामो समयसम्म नोक्सान पु¥याएको पनि थिएन । सन् २००३ मा कोरोनाको एक प्रकार (सार्स भाइरस) ले चीन र त्यस क्षेत्रका अन्य देशहरु अनि २०१२ मा अर्को प्रकार (मर्स) ले मध्यपूर्वी अरब देशहरुमा भने मानवीय क्षति पु¥यायो । तर, त्यो महामारीका रुपमा फैलन पाएन ।

त्यसो भए अहिले त्यही कोरोनाको अर्को प्रकारको भाइरसले मानवमा किन महामारी सिर्जना ग¥यो त ?

सन् २०१३ मा वैज्ञानिकहरुले, चीनको वुहानको २००० किलोमिटर दक्षिण—पश्चिममा एउटा चमेराबाट सार्ससँग मिल्दोजुल्दो नयाँ कोरोना भाइरस फेला पारे, जसले मानिसलाई नभई चमेरामा मात्र संक्रमण गर्न सक्थ्यो, यसलाई ‘आरएटीजी १३’ नाम दिइयो । वैज्ञानिकहरुले यो भाइरस चमेराबाट मानिसमा सर्न सक्ने र महामारी हुनसक्ने सम्भावना औंल्याए पनि त्यतिबेलाका लागि यो प्राथमिकताको विषय बनेन ।

गएको ६ वर्षमा चमेराको यही ‘आरएटीजी १३’ जीवाणुले विभिन्न जनावर हुँदै मानव जातिसम्म आफ्नो अस्तित्व बनाउने गरी साना २ वटा आनुवंशिक उत्परिवर्तन (म्युटेसन) गर्न सफल भयो । र, अहिले नोभल कोरोनाभाइरसको विकास भयो ।

चमेराको यो भाइरस मानिसको कोशिकाकोे ‘एञ्जियाटोसिन कन्भर्टिङ इन्जाइम टु (एसिइटु) रिसेप्टर’ मा टाँसिएर भित्र छिर्न सक्ने भयो । यी एसिइटु रिसेप्टर फोक्सोमा अत्यधिक हुन्छन्, त्यसैले पनि यो भाइरसले श्वासप्रश्वास प्रणालीमा असर गर्न सक्षम देखियो । यो नयाँ कोरोनाभाइरस सार्स र मर्स जस्तै कोरोनाभाइरस भएता पनि उत्परिवर्तनले १० गुणा बढी एसिइटु रिसेप्टरमा टाँसिन सक्ने गुण भएकैले यसको संक्रमण क्षमता बढी छ ।

के नेपालबाट पनि महामारी सम्भव छ ?
अहिले त महामारी चीनबाट शुरु भयो, तर के भविष्यमा नेपालबाट पनि कुनै महामारी शुरु हुन सक्छ छ ? यतिबेला गरिनुपर्ने अर्को प्रश्न यो पनि हो ।

हो, महामारी जहिले र जहाँबाट पनि शुरु हुनसक्छ, तर जब प्रकृतिसँग भएका ब्याक्टेरिया र भाइरसहरुलाई हामी बिथोल्छौं, महामारीको सम्भावना त्यहींबाट शुरु हुन्छ ।

प्रकृतिको विनाश, वातावरणीय क्षति, वनजंगल फडानी, अवैध वन्यजन्तु व्यापार, जलवायु परिवर्तन आदिले जंगली जीवजन्तु, चराचुरुंगी आफ्नो ठाउँबाट विस्थापित हुनपुग्छन् र नयाँ ठाउँमा पुग्छन् । उनीहरुसँगै कीटाणु, जीवाणु पनि पुग्छन् । नयाँ ठाउँमा टिक्न कीटाणु, जीवाणुले आफूमा आवश्यक अनुकूलन गुण, उत्परिवर्तन गर्न पनि सफल हुन्छन् ।

जनावरसँग भएका कीटाणु, जीवाणु मानिसमा आउँदा ती बिल्कुलै नयाँ हुन्छन् । मानिसमा ती विरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति विकास भएकै हुँदैन, त्यसैले बिरामी पर्छन् । यस्ता जीवाणु, कीटाणु श्वासप्रश्वास वा छोएरै सर्ने अवस्थामा संक्रमण छिटो फैलिन्छ अनि महामारीको रुप लिन्छ । अहिले भइरहेकै त्यही हो ।

नेपालमा पनि वातावरणीय क्षति बढ्दो छ, जलवायु परिवर्तनको असर देखिइसकेको छ । त्यसैले हामीभित्रै पनि महामारीको सम्भावना जोखिम छ। त्यसैले सम्भावित संकटबाट बच्ने हो भने प्राकृतिक विनाश रोकौं, वैज्ञानिक अनुसन्धानको दायरा बढाऔं ।

महामारीको अन्त्य 
इतिहासका विभिन्न कालखण्डमा आएका महामारीजस्तै यो महामारी पनि अवश्य रोकिनेछ, जसका दुई उपाय छन् (जुन मैले आफ्नो पहिलो लेखमा थोरै लेखेको छु ।)

पहिलो, जब संक्रमण अत्यधिक हुनेछ, धेरै मानिसको शरीरमा प्रतिरोधात्मक शक्तिको विकास हुँदै जानेछ, जसलाई ‘हर्ड इम्युनिटी’ भनिन्छ। यसरी ठूलो जनमानसमा ‘हर्ड इम्युनिटी’ देखिए भाइरसको संक्रमणको क्रमभंग हुन थाल्छ ।

महामारी जहिले र जहाँबाट पनि शुरु हुनसक्छ, तर जब प्रकृतिसँग भएका ब्याक्टेरिया र भाइरसहरुलाई हामी बिथोल्छौं, महामारीको सम्भावना त्यहींबाट शुरु हुन्छ ।

अनुसन्धानका अनुसार कोरोनाभाइरसको एक संक्रमितले थप तीन जनामा संक्रमण सार्न सक्छ । संक्रमणको यो दरलाई भंग गर्न यो संख्या तीनबाट एकभन्दा पनि कममा झर्नुपर्दछ, त्यो भनेको लगभग दुई तिहाइ जनसंख्या यसबाट संक्रमित हुनुपर्छ । यो हिसाबले, जबसम्म ७० प्रतिशत मानिसमा भाइरस संक्रमित हुँदैन, हर्ड इम्युनिटीले कोरोनाको महामारी अन्त्य गर्न सजिलो हुने छैन ।

अर्को र अपरिहार्य विकल्प भनेको भाइरसविरुद्ध भ्याक्सिनको खोजी र उपलब्धि हो । अहिले विश्व नै कोरोनाको भ्याक्सिनको खोजमा छ । म कार्यरत् संस्था लगायत विश्वका ३० भन्दा बढी संस्था, कम्पनीहरु यसको खोजमा दौडिरहेका छन् । र, तीमध्ये चार वटाले आफूले खोज गरेको खोप मुसामा परीक्षण गर्ने तयारी गरिरहेका छन् ।

तस्बीरः बिजनेस इन्साइडर

अमेरिकाको बायोटेक मोर्डना कम्पनी छिट्टै नै मानिसमा क्लिनिकल परीक्षण शुरु गर्ने अवस्थामा छ । यो जानकारीले हामीलाई आशावादी बनाएको त छ तर बुझ्नु पर्ने कुरा यो छ कि यी क्लिनिकल परीक्षणहरू विभिन्न चरणका र साह्रै झन्झटिला हुन्छन् । पहिलो चरणमा केही स्वस्थ स्वयंसेवकहरु समावेश गरेर खोपको सुरक्षितता र प्रतिकूल प्रभावहरूको अनुगमन परीक्षण गरिन्छ भने दोस्रो चरणमा दायरा बढाएर सयौं मानिसमा । अनि तेस्रो चरणमा, हजारौंमा ।

मूर्तिकारले ल्याएका हरेक ढुंगाहरु मूर्तिमा परिणत नभएजस्तै परीक्षणमा रहेका खोपहरु पनि सबैले काम गर्छन् भन्न सकिन्न । गरिहाले पनि यसका असरहरु थुप्रै हुन सक्छन् । यस अर्थमा हामीले के बुझ्न जरुरी छ भने खोप बनिहाले छिटोमा पनि ४ देखि ५ महीनादेखि ढिलोमा केही वर्ष लाग्न सक्छ। बनिसकेका खोपहरु नेपाली बजारमा आउन त्योभन्दा बढी समय त लाग्छ नै ।

त्यसो भए तत्कालको समाधान के त ?
प्रतिरोधी क्षमता विकास भइनसकेका र भ्याक्सिनको खोजले पनि पूर्णता नपाइसकेको आजको अवस्थामा संक्रमणबाट जोगिने पहिलो उपाय भनेको सामाजिक दूरी या व्यक्ति विशेषसँगको सम्पर्क घटाउने नै हो । व्यक्तिगत दूरी ६ फिट जतिको राखेर हिंडडुल, कामकाज गर्नाले संक्रमितको श्वासप्रश्वास प्रणालीबाट निस्कने संक्रामक थोपालाई टाढा राख्छ ।

लकडाउनमा राजधानीको सिंहदरबार ।

जनसंख्या कमी भएका नेपालका गाम्रीण भेग, पहाडी क्षेत्रमा यसलाई प्रभावकारी ढंगबाट लागू गर्न सकिन्छ । तर, बढी जनसंख्या भएका शहरी क्षेत्रहरुमा शारीरिक दूरी कायम राख्न चुनौतीपूर्ण हुने भएकैले सरकारहरुले ‘लकडाउन’ गरेका हुन् ।

लामो समयको लकडाउनका कारण दैनन्दिनको जीवनयापनमा नै गाह्रो पर्न सक्छ, त्यसैले सरकारले लकडाउन अलि खुकुलो पार्न पनि सक्छ । तर, यस्तो अवस्थामा पनि हामी नागरिक अनुशासित नै रहनुपर्छ । अत्यावश्यक कामका लागि मात्र घरबाहिर जाने, गए पनि शारीरिक दूरी भने कायम राख्नैपर्छ ।

महामारीको अन्त्यको बाटो कठिन छ । महामारीको मार अनि सामाजिक एक्लोपनले धेरै मानिसमा शारीरिक र मानसिक स्वास्थ्य समस्या पनि देखा पर्न सक्छन् । त्यसैले, परिवारका सदस्यहरुले कुराकानी गर्दा, सामाजिक सन्जालमा लेख्दा वा टिप्पणी गर्दा बिचार पुर्याउनुहोस् ।

सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउन, उचित पीपीईको व्यवस्था सहज गर्न जरुरी छ । तर, स्वास्थ्यकर्मीले पीपीई पोजमा फोटो राख्दा जनमानसमा कोरोनासँग सम्बन्धित कुनै पनि कुरा छुन पीपीई नै चाहिने माग पनि बढन सक्छ, जसबाट समाजमा कसैलाई कोरोना देखिएमा वा मृत्यु भएमा त्यसले निम्त्याउने सामाजिक समस्या भयंकर हुन्छ ।

संकटमा हामी सबै अनुशासित र संयमित बनौं । हामी अनुशासित रुपले लाग्यौं भने, जुन हिसाबले कोरोनाको संक्रमण बढिरहेको छ, त्यसलाई रोक्न सक्छौं अथवा, समतल बनाउन सक्छौं।

(डा.ज्ञवाली हाल अष्ट्रेलियाको क्विन्स्ल्यान्ड मेडिकल रिसर्च इन्स्टिच्युटका भाइरोलोजिष्ट हुन् । उनी कोरोना, डेंगीजस्ता भाइरसका भ्याक्सिन तथा औषधिहरूको खोजी परियोजनाहरूमा संलग्न छन् ।)

प्रतिकृया दिनुहोस