चार्टर्ड फ्लाइटको कमिसन तत्काललाई नदिन मन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई तत्काल नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन्। अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिक स्वदेश लैजान गरेको ‘चार्टर्ड फ्लाइट’मा बोन ट्राभल्सलाई एजेन्ट बनाइएको थियो।
निगम नेतृत्वको मिलेमतोमा एजेन्ट घुसाइएको आरोप लागेपछि हाललाई कमिसन बापतको भुत्तानी रोक्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन्। उनले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाललाई कमिसन बापतको भुत्तानी रोकेर एजेन्ट घुसाइएको विषयमा जवाफ मागेका छन्।
यसअघि निगमको चार्टर्ड फ्लाइटमा एजेन्सी घुसाएर निगमलाई रु.२७ लाखभन्दा बढी नोक्सानी गरेको समाचार प्रकाशन भएको थियो। त्यसलगत्तै मन्त्री भट्टराईले निगम नेतृत्वसँग जवाफ मागेका थिए।
निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्ति गर्न पत्र पठाएको जानकारी दिएको थियो। तर, मन्त्री भट्टराईले एजेन्ट घुसाएको बिषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न भनेका छन् ।
उनले नियतबस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारबाहीको दायारामा ल्याउने चेतावनी दिएका छन् । अष्ट्रेलियन दूतावासले दिएको काठमाडौं–अष्ट्रेलिया–काठमाडौं उडान बापतको ४ लाख ३९ हजार २०० अमेरिकी डलर र प्रत्येक यात्रुको ट्याक्स समेत गरी ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ ।
बोन ट्राभल्सले एजेन्ट बापतकाृ ५ प्रतिशत अर्थात् रु.२७ लाख ४५ हजार ७७० रुपैयाँ पाउँछ। निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको र बोन ट्राभल्सलाई कसिमन बापतको रकम दिइ नसकिएको बताए ।
गत बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १ सय डलरका दरले शुल्क लिएको छ । निगमले काठमाडौं–अष्ट्रेलिया–काठमाडौं २५ घण्टा उडानको चार्टर्ड बापतको रकम रु.५ करोड ४९ लाख १५ हजार ४ सय रुपैयाँ तिरेको छ।