रुपन्देहीमा आजदेखि कोरोनाभाइरस परीक्षण गरिने, भारततर्फ संक्रमण बढेपछि सीमामा कडाइ
रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुँबाली केन्द्र परिसरमा रहेको प्रयोगशालामा आइतबारबाट कोरोना भाइरसको परीक्षण हुने भएको छ ।
विज्ञ सहितको प्राविधिक टोलीले शनिबार र आइतबार प्रयोगशालाका उपकरण जडान गरिसकेको र आजै साँझबाट प्रयोगशाला सञ्चालनमा आउने छ ।
प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र कुमार गिरीले नमूना परीक्षण सकेसम्म आजदेखि नै गर्ने योजना रहेको बताए ।
“आज प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कन्ट्रोल तथा स्ट्यान्डर टेस्ट हुन्छ त्यसपछि ल्याब परीक्षण कार्य शुरु हुन्छ,” डा गिरीले भने।
क्वालिटी कन्ट्रोल तथा स्ट्यान्डर टेस्ट लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले प्रदेश ५ का लागि विष्णु रायमाझीलाई तोकेको छ । प्रयोगशाला सञ्चालन लुम्बिनी प्रादेशिक अस्पतालबाट सुमन सापकोटा र आशीष श्रेष्ठ सहितको टोलीले कार्य गरिरहेको जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा गिरीले बताए।
डा गिरीका अनुसार एक पटकमा १६ वटा सम्म नमूना परीक्षण गर्न सकिन्छ । आवश्यक परेको खण्डमा यसको क्षमता बढाउँदै लैजाने छ । यसअघि बुटवलबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइँदै आएको थियो।
भैरहवापछि क्रमशः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने डा गिरीले बताए ।
मुख्यमन्त्रीद्वारा अवलोकन
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी लिए ।
सामाजिक विकास मन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले प्रयोगशालाको अवस्थाका बारेमा जानकारी गराए ।
मुख्यमन्त्रीले प्रयोगशालालाई छिटो सञ्चालन गरी कोरोना भाइरसको परीक्षण गर्न निर्देशन दिए। साथै उनले सामाजिक विकास सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुखलाई आरटीपीसीआर मेशिन तत्काल खरीद प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
आरटीपीसीआर मेशिनको परीक्षण गर्न सक्ने क्षमता बढी हुन्छ । अहिले प्रयोगशालामा पीसीआर मेशिन छ, यही मेशिनबाट कोरोना भाइरसको जाँच हुन्छ ।
भारततर्फ संक्रमण फैलिएपछि सीमामा कडाइ
रुपन्देही नवलपरासी र कपिलवस्तुको सीमावर्ती भारतीय सहरमा कोरोना संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता (हाई अलर्ट) अपनाइएको छ । कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधारणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा उच्च सतर्कता अपनाइएको हो ।
भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउँसोसम्म भारतमा ३ हजार ३ सय ७८ जना संक्रमित र ७७ जनाको मृत्यु भइसकेको छ ।
शनिबार रुपन्देहीको मुख्य सिमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका थिए । मर्चवार क्षेत्रका सर्वसाधारणका लागि कोल्हुई मुख्य बजार हो ।
मर्चवार क्षेत्रबाट नेपाली र भारतीयको आवगमन हुने गर्दछ । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ । यस्तै भारतबाट नेपाल आएका सुदूरपश्चिमका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि सीमामा निगरानी बढाइएको छ ।
सीमापारि भारतीय बजारमा संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले महादेव पन्थले बताए । उनले यसअघि बढी आवतजावत हुने पाँचवटा मुख्य नाका सिल गरिएको र अब अवातजावत हुन सक्ने स–साना नाका पनि सिल गरिएको बताए ।
रुपन्देहीको भारतसँग ५९ दशमलव ७ किमीको सीमा जोडिएको छ । सीमामा ५२ वटा प्वाइन्टमा चौबिसै घण्टा स्थायी रुपमा सशस्त्र प्रहरी खटिएका छन् । यसका अलावा जनपद प्रहरीले पनि जिल्लाको अन्य भेगसँगै सीमावर्ती क्षेत्रमा निगरानी गरिरहेको छ । सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीहरुले पनि निगरानी बढाएका छन् ।
भारतसँग जोडिएका साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले बताए ।
बिक्रम खड्का, बुटवल