बहिरा समुदायको लागि यूट्युब च्यानल
बहिरा समुदायलाई मनोरन्जन दिनको लागि दोभाषे शीलु शर्माले यूट्युब च्यानल फिंगर्स संचालनमा ल्याएकी छन् । शर्मा नेपाल टेलिभिजनको सांकेतिक समाचार वाचिका हुन्।
महामारी फैलिएका जस्ता समाचार बुझाउने शिलु आफैंमा पनि डर थपेको महशुस गरेपछि डर कम गर्न र बन्दाबन्दीको समय व्यतित गर्न गीत सुन्ने चलचित्र हेरेर मनोरन्जन लिने गर्थिन्।
तर २२ वर्षदेखि बहिरा समुदायको लागि दोभाषेको रुपमा काम गर्दै आएकी शर्माले बहिरालाई कोरोना भाइरस (कोभिड-१९) को महामारीको डर कम गर्ने, बन्दाबन्दीको समय व्यतीत गर्ने उपाय भेटिनन् । त्यसपछि उनले बहिराको मनोरन्जनको लागि च्यानल संचालन गर्ने सोँच बनाएको बताउँछिन्।
उनी भन्छिन् ‘कान सुन्नेले डर कम गर्न, बन्दाबन्दीको समय व्यतित गर्ने अनेक उपाय छन् । गीत सुन्ने, फिल्म हेर्ने तर बहिराले त किताब पढ्न बाहेक अरु उपाय छैन। त्यसैले बहिराले पनि मनोरन्जन लिन सकुन् भनेर च्यानल संचालन गर्न थालेकी हुँ ।’
यूट्युब च्यानलमा बहिरा वर्गको लागि कविता, कथा भन्ने योजना रहेको बताइन् । २२ चैत्रदेखि यूट्युब च्यानल शुरु गरेकी शर्माले पहिलो दिन कक्षा सातको नेपाली किताबमा रहेको बोधीसत्वको कथा भनेकी छन्।
उनको यो कथा करीब दुई सय जनाले हेरिसकेका छन् । उनी भन्छिन्, ‘बहिरा समुदायसँग लामो समयदेखि काम गरिरहेकी छु । उहाँहरुसँग मेरो भावानात्मक सम्बन्ध जोडिएको छ। त्यसैले उहाँहरुको लागि केही न केही गरिरहन मन लाग्छ।’ उनको भिडियो हेरेर धेरै जनाले सकरात्मक प्रतिक्रिया दिइरहेका छन्।
राष्ट्रिय बहिरा महासंघको प्रयास
कोभिड-१९ को विषयमा सरकारले दिने जानकारी तथा सूचनाहरु सांकेतिक भाषामा नहुँदा बहिरा समुदायलाई बुझन समस्या भएकोले त्यस्ता जानकारी तथा सन्देशहरुको भिडियो पुन: छायांकन गरेर सांकेतिक भाषा सहितको भिडियो राष्ट्रिय बहिरा महासंघले आफ्नो फेसबुक पेजमा राख्न थालेको छ।
यूट्युब च्यानल
फेसबुक पेज