दोलखामा स्वास्थ्य सामग्री पर्याप्त नभएको गुनासो
दोलखामा कोरोना संक्रमित भेटियो भने परीक्षण र आवश्यक संख्यामा भेन्टिलेटर नभएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । स्वास्थ्यकर्मीहरुका लागि पीपीई, थर्मल गन लगायत सामग्री समेत पर्याप्त नभएको उनीहरुको गुनासो छ ।
सदरमुकाम चरिकोट, दोलखा र जिरीमा गरी ३६ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको र २७ वटा क्वारेन्टिन निर्माण भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए।
जिल्लामा कसैलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भइहालेको अवस्थामा उनीहरुलाई राख्न स्वास्थ्यकर्मी र आवश्यक सुविधा सहितको भेन्टिलेटर भने सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा एउटा मात्र रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताए।
जिल्लामा उल्लेख्य मात्रामा भारत तथा तेस्रो मुलुकबाट मानिसहरु आएको भएपनि स्वाब संकलनका लागि आवश्यक उपकरण पनि प्रस्तावित चरिकोट अस्पतालमा मात्र रहेकाले सबैको स्वाब परीक्षण समेत संभव नभएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
सर्मिला बुढाथोकी