स्वास्थ्य परीक्षण गरेपछि मात्रै गाउँपालिका प्रवेश
दोलखाको विगु गाउँपालिकाले बाहिरबाट आएका मानिसहरूलाई स्वास्थ्य जाँचपछि मात्र गाउँपालिकामा प्रवेश गराउँदै आएको छ । विभिन्न माध्यमबाट गाउँपालिकामा प्रवेश गर्ने मानिसलाई पुलसँगै सिमानामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएर मात्र प्रवेश गराउन थालेको हो।
मुलुकमा सरकारले बन्दाबन्दी घोषणा गरेपछि ११ चैत्रदेखि कालिञ्चोक गाउँपालिकासँगको सिमाना सिंगटीमा रहेको पुलसंगै हेल्थ डेक्स राखिएको र बाहिरबाट आउने मानिसलाई हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेपछि मात्र गाँउपालिकाभित्र प्रवेश गराउदै आएको गाँउपालिका प्रमुख युधिष्ठीर खड्काले जानकारी दिए ।
गाँउपालिकाका स्वास्थ्य संयोजक ईश्वर खड्काका अनुसार ११ देखि २१ चैत्रसम्म बाहिरबाट गाँउपालिका प्रवेश गर्ने झण्डै दुई सय जनाको हेल्थ डेक्समा स्वास्थ्य परिक्षण गरिएको छ ।
त्यसैगरी दोलखाको विगु गाँउपालिकामा अहिलेसम्म २७ जना बिभिन्न देशबाट आएको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्य संयोजक खड्काले जानकारी दिए ।
उनीहरू सबै अहिले होम क्वारेन्टिनमै रहेको र स्वास्थ्यकर्मीले निरन्तर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको संयोजक खड्काले जानकारी दिए ।
शर्मिला बुढाथोकी/दोलखा