माथिल्लो तामाकोशी आयोजनाको निर्माण नरोकिने
दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सुचारु हुने भएको छ। आयोजना व्यवस्थापनले स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र स्थानीयबासीसँग २१ चैतमा गरेको छलफलपछि आयोजना निर्माणको काम नरोक्ने निर्णय गरेको हो।
आयोजनाका उपप्रबन्धक विमल गुरुङले नियन्त्रित वातावरणमा निर्माणको लागि सरोकारवालाहरुले सहमति गरेको जानकारी दिएका छन्। आयोजना स्थलमा रहेका कर्मचारी र कामदारलाई मात्रै परिचालन गरी निर्माण कार्यलाई सुचारु बनाउन लागिएको हो। बन्दाबन्दीको अवधिमा बाह्य आगमनलाई पूर्ण रुपमा रोक्ने तथा आयोजना स्थलमा कामदारको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान पुर्याउने निर्णय भएको छ। स्थानीयबासीले बन्दाबन्दी घोषणासँगै काम रोक्न दबाव दिँदै आएका थिए।
सरकारले २० चैतमा मेलम्ची, माथिल्लो तामाकोशी लगायतका ठूला आयोजनामा बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजीकरणमा निर्माण कार्य गर्न सक्ने निर्णय गरेको थियो।
आयोजनाले आगामी असारसम्ममा एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने र बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन गर्ने तयारी गरेको थियो। जस अनुसार, आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको छ भने बाँकी पाइप जडानको काम पनि वैशाखभित्रै सक्ने लक्ष्य थियो । तर, कोरोना भाइरसको कारण काममा अवरोध आएपछि लक्ष्यअनुसार काम भएको छैन।
२०७२ को विनाशकारी भूकम्प, नाकाबन्दीका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको छ।