कोरोनाभाइरस संक्रमितको संख्या १० लाख नाघ्यो, सात लाख ५० हजार अझै उपचारमा
विश्वभर कोरोनाभाइरस संक्रमित भएको पुष्टि हुनेको संख्या १० लाख नाघेको छ। तीमध्ये करीब सात लाख ५० हजार अझै उपचारमा छन्।
अमेरिकाको जोहन हप्किन्स् विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ५३ हजार नाघिसकेको छ। विश्वका २०४ वटा देश र क्षेत्रमा संक्रमित फेला परेका छन्।
विश्वभर करीब १० लाख १५ हजारलाई संक्रमण भएको भेटिएको छ। तीमध्ये करीब दुई लाख १२ हजार उपचारपछि निको भएका छन्।
सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् भने सबै भन्दा धेरै मृत्यु इटालीमा भएको छ। अमेरिकामा अहिलेसम्म करीब दुई लाख ४५ हजारलाई संक्रमण भएको फेला परेको छ। त्यहाँ ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
त्यस्तै इटालीमा एक लाख १५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने करीब १४ हजारको मृत्यु भएको छ। जोहन हप्किन्स् विश्वविद्यालयले भने त्यहाँ संक्रमितको संख्या अझ बढी भएको र धेरै मान्छे जोखिममा रहेको जनाएको छ।
दोस्रो बढी मृत्यु भएको देश स्पेन हो। त्यहाँ एक लाख १२ हजारभन्दा बढी संक्रमित भेटिँदा १० हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा त्यहाँ ९५० जनाको मृत्यु भएको छ।
पछिल्लो समय फ्रान्स पनि आक्रान्त बन्न थालेको छ। त्यहाँ ५९ हजार संक्रमित फेला परेका छन् भने करीब पाँच हजार ४०० को मृत्यु भइसकेको छ।