समाचार विहीबार, चैत २०, २०७६

अनलाइन पोर्टलबाट समाचार हटाइएको विषयमा छानबिन गर्न सम्पादकहरूको माग

हिमालखबर

एक अनलाइनमा प्रकाशित समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको भन्दै त्यसको छानबिन गर्न सम्पादकहरूले माग गरेका छन् ।

बिहीबार विभिन्न सञ्चार माध्यमका २१ जना सम्पादकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ "अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको तथा केही अनलाइनकाे समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिशले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।"

बुधबार काठमान्डु प्रेस डटकमले ‘चीनबाट झिकाइएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शीर्षकमा सम्प्रेषण गरेको समाचार ‘माथिको आदेश’ भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाइएको भनिएको थियो।

काठमाडौं प्रेसले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार सिरान टेक्नोलोजिज् प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्टको तर्फबाट हटाइएको बताएको छ। 

"यो समाचार हटाउने आपत्तिजनक कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार अस्गर अली सिरान टेक्नोलोजिजको  प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको छ", सम्पादकहरूले जारी विज्ञप्तिमा भनिएको छ।

उनीहरूले उक्त कार्य संविधानको मर्म विपरीत भएको भन्दै संलग्नहरूबारे छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस