टिप्पणी विहीबार, चैत २०, २०७६

स्वास्थ्यकर्मीलाई हतोत्साही नबनाऔं

हिमालखबर

स्वास्थ्यकर्मीलाई हतोत्साही नबनाऔं
स्केच: भानु भट्टराई
प्रेमनारायण भुसाल

स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक प्राथमिक उपचार डब्लुएचओले साइकोलोजिकल फस्ट एड (पीएफए) मा निर्धारण गरेका आधारभूत आवश्यकता पूर्ति गरिदिने काम राज्यले गर्नुपर्दछ। अन्यथा राज्यमा विपत्ति आउँदा व्यावसायिक मान्यताविपरीत सेवा बन्द गर्ने निजी व्यापारी अस्पतालझैँ चिकित्सकले सेवाबाट हात झिक्ने अवस्था नआउला भन्न सकिन्न।

गत सोमबार कोभिड-१९ को आशङ्कामा पाटन अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको खबर बाहिरिएको एकाध घण्टामै देशको जेठो अस्पताल वीर अस्पतालमा सङ्क्रमणको आशङ्कामा भर्ना गरिएका दुई व्यक्तिको मृत्युको खबर आयो। अघिल्लो दिनमात्र चीनबाट मेडिकल कीट ल्याइएकाले अस्पताल जानेबित्तिकै शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण हुन्छ भन्ने धारणा बनाएका नागरिक मृत्युको कारण सुन्न व्यग्र थिए।

बुटवलमा नाम मात्रको कोरोन विशेष अस्पतालमा एक युवाले ज्यान गुमाएको घटना नसेलाए पनि काठमाडौँको सुविधासम्पन्न अस्पतालमा त बिरामीलाई बेवारिसे राखिएन होला भन्ने अनुमान थियो। तर, त्यही वेला सामाजिक सञ्जालमा वीर अस्पतालका एक वरिष्ट चिकित्सकको स्टाटस आयो, ‘बिरामी मर्नुभन्दा पहिले रिपोर्ट आउनुपर्यो।’ सायद स्टाटस पोस्ट गर्ने चिकित्सक सम्बन्धित बिरामीको उपचारमा संलग्न थिए। चिकित्सकले व्यक्त गरेको स्टाटसबाट उनको छटपटी र चिन्तित मनोदशा स्पस्टै देखिन्छ।

सुरक्षा साधनको राम्रो व्यवस्था नभएको भनी देशका विभिन्न भागका स्वास्थ्यकर्मीले ज्वरोको लक्षण देखाउने बिरामीलाई उपचार गरिरहेका थिएनन्। अस्पताल चहार्दा चहार्दै बिरामीहरूले मृत्युवरण गरिरहेका समाचार बढ्दै गएको सन्दर्भमा ती चिकित्सकको अभिव्यक्ति नितान्त व्यक्तिगत नभई आम स्वास्थ्यकर्मीको प्रतिनिधि अभिव्यक्ति हो। कोभिड-१९ बाट संसार नै त्रस्त भएका वेला उच्च आत्मबल राखेर उपचारमा जुट्नुपर्ने चिकित्सकहरू त्रास र तनावमा रहिरहनु कुनै पनि दृष्टिले राम्रो होइन।

राज्यले स्वास्थ्यकर्मीलाई त्रासरहित वातावरणमा काम गर्ने तथा नियमित एवम् महामारीजन्य बिरामीलाई उपचार पाउने अवस्थाको सिर्जना गर्न सक्नुपर्दछ। महामारीमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मनोवैज्ञानिक प्राथमिक उपचार तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले साइकोलोजिकल फस्ट एड (पीएफए) मा निर्धारण गरेका आधारभूत आवश्यकता पूर्ति गरिदिने काम राज्यले गर्नुपर्दछ। अन्यथा राज्यमा विपत्ति आउँदा व्यावसायिक मान्यताविपरीत सेवा बन्द गर्ने निजी व्यापारी अस्पतालझैँ सेवामा खटेका चिकित्सकले सेवाबाट हात झिक्ने अवस्था नआउला भन्न सकिन्न।


के हो साइकोलोजिकल फस्ट एड ?
विश्व स्वास्थ्य सङ्गठनले महामारी तथा प्राकृतिक विपत्तिमा परेका पीडित, उपचार र उद्धारमा संलग्न व्यक्ति तथा पीडितको दुःखद अवस्था देखेका कारण प्रत्यक्षदर्शीलाई उत्पन्न हुने दुःख, त्रास र तनावबाट मुक्त राख्न सिफारिस गरेको मनोविमर्शको विधिलाई पीएफए भनिन्छ। यसमा घटनाका अनुभवबाट व्यथित भएका व्यक्तिलाई मानसिक रूपमा शान्त राखी आत्मबल बढाएर काम र जीवनप्रति आशावादी बनाइन्छ। २०७२ सालको भूकम्पपछि नेपालमा पहिलो पटक सरकारी तहबाट संयोजन गरिएको यस प्रकारको सेवा दिन पङ्तिकार स्वयम्लाई पनि संलग्न हुने अवसर मिलेकोे थियो।


केके गरिन्छ पीएफएमा ?
पीएफएमा सबैभन्दा पहिला पीडित वा उद्धारकर्तालाई घटनासँग भिड्न तयार गराइन्छ। यसमा सम्बन्धित विपत्तिका बारेमा वस्तुगत र वैज्ञानिक सूचना दिइन्छ। विपत्तिलाई बढाउने र घटाउने तत्त्वमाथि प्रकाश पारिन्छ।

विपत्ति सामना गर्न उपलब्ध स्रोत र साधनको जानकारी दिई आवश्यक सुरक्षा सतर्कता प्रत्याभूत गरिन्छ। कोभिड-१९ का सन्दर्भमा सम्बन्धित व्यक्तिका वैयक्तिक सुरक्षाका साधनहरू तथा सङ्क्रमणबाट पूर्ण सुरक्षित राख्ने अन्य वस्तुहरू यस अन्तर्गत पर्दछन्। तयारीको चरण पूरा भएपछि अन्य तीन चरणमा पीडितलाई सेवा तथा सहयोग पुर्‌याइन्छ। ती चरणहरू यस प्रकार छन्: 


अवलोकन
प्रत्यक्षरूपमा प्रभावित वा जोखिममा रहेका व्यक्तिको आधारभूत आवश्यकता पूरा गर्न केकस्ता काम गर्नुपर्दछ? उपलब्ध स्रोत र साधनको कसरी वितरण गर्दा प्रभावित पक्षले वास्तविक राहतको महसुुस गर्दछन् भन्ने कुराको निर्धारण, घटना र त्यसका असरप्रतिको पीडितको चिन्ताको अवस्था वा उसको मानसिक अवस्थाको पहिचान यस चरणमा गरिन्छ।

यस चरणमा सहयोग आवश्यक पर्ने व्यक्तिको सोच, चिन्ता र सरोकारका बारेमा निःसर्त सुन्ने काम गरिन्छ। समस्यामा परेका व्यक्तिले आफ्ना दमित कुण्ठा र पीडा अभिव्यक्त गर्दै समस्याबाट उन्मुक्तिका लागि उपाय समेत सुझाउन सक्दछन् अथवा अन्धविश्वास वा अन्य कारणले प्रकोपप्रति अवैज्ञानिक र भ्रमपूर्ण धारणा पालेका भए सो पनि अभिव्यक्त गर्दछन्।

यस चरणमा उनीहरूको गुनासो र पीडा सुनिदिएर शान्त हुन सहयोग पु¥याइन्छ। आक्रोशित र अन्तर्मुखी व्यक्तिलाई मनका कुरा खोल्न अन्य विभिन्न मनोवैज्ञानिक पद्धतिहरूको समेत सहयोग लिइन्छ।


सम्पर्क
मनोवैज्ञानिक प्राथमिक उपचारको अन्तिम चरण लिङ्क वा सम्पर्कको चरण हो। आधारभूत आवश्यकता पूर्ति गर्न र मनोबल उच्च राख्न प्रियजन, आफन्त र समाजसेवीसँग सम्पर्क गराउने तथा समस्यासँग जुध्न आवश्यक भौतिक सहयोग पुर्याइ मानसिक रूपमा तयार पार्ने काम गरिन्छ। अन्योलमा परेका व्यक्तिलाई सही सूचना उपलब्ध गराएर मानसिक रूपमा स्वस्थ तथा घटनाप्रति सावधान पार्ने काम प्राथमिक मनोवैज्ञानिक उपचारको अन्तिम चरणमा गरिन्छ।

नेपालका सन्दर्भमा महामारीले डरलाग्दो अवस्था सिर्जना गरिसकेको छैन तर स्वास्थ्यकर्मीहरू आफ्नो र परिवारको सुरक्षा सुनिश्चित नभएकामा चिन्तित छन्। यस्तै अवस्थामा साँच्चिकै विपत्ति आइलाग्यो भने न अस्पताल तयारी अवस्थामा देखिन्छन् न त स्वास्थ्यकर्मी नै। यसैले राज्यले स्वास्थ्यकर्मीलाई स्रोत साधन सम्पन्न बनाएर स्वास्थ्यकर्मी तथा परिवारकै सुरक्षा सुनिश्चित गरी उनीहरूको मनोबल उच्च बनाइदिनुपर्दछ। सङ्कटापन्न अवस्थामा पनि व्यक्तिगत तथा पार्टीगत स्वार्थमा लागेर आर्थिक विचलन र अपारदर्शी गतिविधिमा राज्यसंयन्त्र संलग्न हुनु दुःखद कुरा हो।

चिकित्सकका लागि ल्याइएका सुरक्षा कवच राजनीतिक कार्यकर्ताले दुरूपयोग गर्ने तथा उपचार गरिरहेका बेलामा स्वास्थ्य रिपोर्ट नआएर मान्छे मरेपछि मात्र परीक्षणका लागि पठाउने जस्ता अपरिपक्व र गैरजिम्मेवार काममा नियन्त्रण गरी स्वास्थ्यकर्मी, सर्वसाधारण र सुरक्षाकर्मी सबैलाई विश्वस्त हुन सक्ने वातावरणको सिर्जना गर्न सबै सरोकारवालाहरू लाग्नुपर्ने देखिन्छ।

(भुसाल मनाेवैज्ञानिक परामर्शदाता हुन्)

प्रतिकृया दिनुहोस