कोभिड-१९ को ‘इपिसेन्टर’ बन्दै न्यूयोर्क
अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या पाँच हजार १०२ पुगिसकेको छ। दुई लाख १५ हजारभन्दा बढी संक्रमित छन्। योमध्ये मृतक र संक्रमित करीब ४० प्रतिशत न्यूयोर्कका हुन्।
न्यूयोर्क राज्यमा संक्रमितको संख्या ८३ हजार ७१२ पुगेको छ। एक हजार ९४१ जनाले ज्यान गुमाइसकेका छन्।
न्यूयोर्क राज्यको पनि न्यूयोर्क शहर सबैभन्दा बढी आक्रान्त छ। न्यूयोर्क शहरमा अहिलेसम्म ४७ हजार ४३९ संक्रमित फेला परिसकेका छन्। तीमध्ये एक हजार १३९ जनाको मृत्यु भइसकेको छ।
न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले नै न्यूयोर्क कोभिड १९ को इपिसेन्टर भएको घोषणा गरेका छन्। उनले त्यहाँको सेनालाई सहयोगका लागि आग्रह पनि गरेका छन्। मेयर ब्लासियोले न्यूयोर्कमा अरु दुई साता अत्यावश्यक र औषधि उपचारका सामग्रीको अभाव हुनसक्ने चेतावनी दिएका छन्।
न्यूयोर्क शहरको क्विन्समा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। त्यसैले न्यूयोर्कको क्विन्सलाई ‘इपिसेन्टर’ घोषणा गरिएको छ। उक्त सानो क्षेत्रमा करीब १४ हजार संक्रमित फेला परेका छन्।
क्विन्सको बिल्ली जिन किङ नेशनल टेनिस सेन्टरलाई अस्थायी अस्पताल बनाइएको छ। त्यहाँ ३५० बेड राखिएको छ। न्यूयोर्कका कतिपय सार्वजनिक भवन र खेलस्थललाई पनि अस्थायी अस्पताल बनाइएको छ।
न्यूयोर्कमा उपचारपछि ठीक भएर घर फर्किनेको संख्या ज्यादै न्यून छ। अन्य राज्यमा नागरिकलाई घरैमा बस्न (स्टे एट होम) आदेश जारी भए पनि न्यूयोर्कमा भने बन्दाबन्दी नै घोषणा गरिएको छ।
अन्य राज्यमा एक जना मात्र हिँड्न छुट छ। तर, न्यूयोर्कमा अत्यावश्यक काममा मात्र बाहिर निस्कन दिइएको छ।
अमेरिकामा न्यूयोर्कपछि न्यूजर्सी, वासिङ्टन र डीसी बढी प्रभावित छन्। त्यहाँका २५ राज्यमा एक हजारभन्दा बढी संक्रमित फेला परेका छन्। उपराष्ट्रपति माइक पेन्सले अमेरिकाको अवस्था इटालीको जस्तै हुन सक्ने चेतावनी दिइसकेका छन्।