तिलोत्तमा नगरपालिकाको नयाँ सूत्र, विदेशबाट आउनेका घरमा स्टिकर
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले देश बाहिरबाट आएका नागरिकको घरमा स्टिकर लगाएर निगरानी गर्ने व्यवस्था गरेको छ ।
नेपाल भन्दा बाहिरबाट आएका नागरिक निगरानी गर्न घरमा स्टिकर टाँसेर होम क्वारेन्टाइनमा राखेको राखिएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताए ।
उनका अनुसार, भारत लगायत विभिन्न मुलुकबाट आएका मानिस अरुसँग घुलमिल नहोउन र छरछिमेकलाई पनि पहिचान गर्न सजिलो होस् भनी यस्तो अभियान चलाइएको मेयर घिमिरेले बताए ।
नगरपालिकाका अनुसार, मंगलबारसम्म बाहिरबाट आएका १९९ जनाको घरमा स्टिकर लगाइएको छ । हरेक टोलमा गठन गरिएका टोल विकास संस्थाले आफ्नो टोलमा प्रवेश गर्ने व्यक्तिबारे वडाध्यक्षलाई जानकारी गराउँछन् । त्यसपछि नगरापलिकाबाट खटिएको टोलीले परिवारसँग अलग बस्ने व्यवस्था मिलाएर सम्बन्धित व्यक्तिको घरमा स्टिकर लगाइन्छ ।
नगरपालिकाले भारत लगायत तेस्रो मुलुकबाट आएका ३१ जनालाई भने नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ । उक्त क्वारेन्टाइनमा चितवन, बर्दिया, झापा लगायत जिल्ला बाहिरका व्यक्तिहरु समेत रहेका छन् ।