गभर्नर नियुक्तिको पहल शुरु, को बन्लान् नयाँ गभर्नर ?
नेपाल राष्ट्र ब्याङ्कको रिक्त गभर्नर नियुक्तिका लागि सरकारले सिफारिश समिति गठन गरेको छ। बन्दाबन्दी शुरु हुनुअघि नै अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर नियुक्ति सिफारिश समिति गठन गरेर गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएका हुन्।
गभर्नर सिफारिश समितिमा अर्थमन्त्री संयोजक हुने व्यवस्था छ। राष्ट्र ब्याङ्कका पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा समितिको सदस्य तोकिएका छन्। गभर्नर सिफारिस समितिमा पूर्व गभर्नरमध्ये एक र सरकारले तोकेबमोजिम आर्थिक, मौद्रिक, वाणिज्य कानून, ब्याङ्किङ र वित्तीय क्षेत्रको लब्धप्रतिष्ठित व्यक्ति एक गरी दुई सदस्य हुने व्यवस्था छ।
गभर्नर सिफारिस समिति गठन भए पनि बन्दाबन्दीका कारण बैठक भने बस्न सकेको छैन।
समितिले आर्थिक, मौद्रिक, ब्यांकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित दुई जना र नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नरहरुमध्ये एक गरी तीन जनालाई सिफारिश गर्ने प्रावधान छ। ती तीन नाममध्ये मन्त्रिपरिषद्ले एकलाई पाँच वर्षका लागि राष्ट्र ब्याङ्कको गभर्नर नियुक्त गर्छ।
निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको पदावधि ५ चैतमा सकिएपछि राष्ट्र ब्याङ्कमा गभर्नर पद रिक्त छ।
अर्थमन्त्री खतिवडाले डा. नेपालको पदावधि सकिनु अगावै नयाँ गभर्नर नियुक्ति गरिसक्ने बताउँदै आएका थिए। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका कारण गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
नयाँ गभर्नरका लागि पूर्व अर्थसचिव राजन खनाल, राष्ट्र ब्याङ्कका पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, वर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी आदिको नाम चर्चामा छ।