कला/साहित्य आइतबार, चैत १६, २०७६

‘नमासिने लिम्बू’को अपूरो इतिहास

हिमालखबर

‘नमासिने लिम्बू’को अपूरो इतिहास

यो लेख राजकुमार दिक्पालको पुस्तक “आदिवासी विद्रोहको इतिहास” को समग्र समीक्षा होइन । पुस्तकका दुईवटा आलेख ‘लिम्बू विद्रोह–१८४८’ र ‘माझकिरात राई विद्रोह–१८६४’ को मात्र चर्चा गरिएको छ।

अर्जुनबाबु माबुहाङ

दुवै आलेखको शीर्षकमा ‘विद्रोह’ शब्दको प्रयोग गरिएको छ । तर, गोर्खालीसँगको लिम्बू र राईको लडाइँ विद्रोह नभएर स्वाधीनताको लडाइँ थियो । पुस्तकमा १८३१ मा लिम्बूलाई दिइएको लालमोहरको तिथिमितिलाई चासो मात्र दिइएको छ । लालमोहरमा परेका छाप, पात्र, नाम, स्थानको व्याख्या हुन सकेको छैन । लालमोहर पाउने मोहरिया लिम्बूहरु आजका कुन थरी लिम्बूका पुर्खा हुन् पाठकलाई जानकारी दिनुपर्छ।

पृथ्वीनारायण शाहले विसं १८३१ मा मात्रै लिम्बूलाई तीनवटा लालमोहर दिए । ती लालमोहरका सक्कल बमोजिमका नक्कल मात्र पुस्तकमा छापिएका छन् । नक्कल उतारमा पनि एकरुपता छैन । टेकबहादुर श्रेष्ठद्वारा २०५८ सालमा सम्पादित “नेपालका राजाहरू तथा तराईका थारु” पुस्तकमा पृथ्वीनारायण शाहका पालामा तराईतिर दिइएका लालमोहरका शिरमा ‘दुर्गा’ मुनि ‘भवानी’ लेखिएको र बीचमा खड्ग तेस्र्याइएको उल्लेख छ।

लिम्बूहरूले नै सक्कल बमोजिम नक्कल उतार गरेको १८३१ श्रावण सुदी २२ को लालमोहरमा घेरेबुट्टा छ । त्यसैलाई नाग बेरिएको जस्तो रातो छाप बनाएर पुस्तकमा उतार गरिएको छ । श्रावण सुदी २२ कै लालमोहरको शिरमा ‘श्री पशुपति’ र ‘श्री राम’ ‘श्री नायब’ लेखिएको जनकलाल शर्माद्वारा सम्पादित ‘प्राचीन नेपाल’  भदौ–असोज २०४२ मा उतार भएको छ।

तिथिमितिका सवालमा प्रा. दिनेशराज पन्तले ‘श्रावण सुदी २२’ नहुने धारणा राख्दै आएका छन् । महेशचन्द्र रेग्मीको पुस्तक ‘ल्याण्ड ट्यानुर एण्ड ट्याक्सेसन इन नेपाल (सन् १९६३—१९७८)’ मा भने लिम्बूहरूलाई १८३१ श्रावण सुदी १२ मा लालमोहर दिइएको ‘रोयल ट्याक्सेसन कमिसन रेकर्ड’ बाट उद्धृत गरिएको छ।

लालमोहरमा परेका ‘तुत्तु तुम्याङहाङ याक्थुङहाङ/येहाङका सन्तान’, ‘लिम्बू’, ‘लिम्बुवान’, ‘अरु राजा मासिने हुँदा तिमीहरू राजा नै हो भने नमासिने हौ’, ‘अरु नौलाख एक पट्टी तिमिहरू हौन’, जस्ता वाक्यांशले उति वेलाको लिम्बूको पहिचान, सामाजिक र राजनीतिक हैसियतलाई प्रष्ट पार्छ । लालमोहरमा लिम्बूले आफूलाई तुत्तु तुम्याङहाङ, याक्थुङहाङ/येहाङका सन्तान भनेका छन् । याक्थुङहाङलाई गोर्खालीले ‘लिम्बू’ र माटोलाई ‘लिम्बुवान’ भनेको छ । गोर्खालीले बोलेको ‘लिम्बु’ र ‘लिम्बुवान’ राज्यको बोली बनेकाले लोकप्रिय बन्यो । यता ‘याक्थुङहाङ÷येहाङ’ वाक्यांशहरू लिम्बूका कुलपुजारी (फेदाङ्बा, साम्बा र येबा/येमा) को जिब्रोमा मात्र सीमित भए । किपट पाउनका लागि आज खम्बू/राई, भोटे, लाप्चा, याख्खा, तामाङ, भुजेल, धिमाल जस्ता थुपै्र जाति लिम्बूका भैयाद भए।

गोर्खालीले ‘अरु नौलाख एक पट्टी तिमिहरू हौन’, भनेर राईभन्दा लिम्बू छुट्टै अलग जाति भनेका हुन् । ‘नवलख देश किरात’ वाक्यांश केलटोलको अभिमानसिंह बस्नेतको अभिलेखमा परेको धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको पुस्तक ‘शाहकालका अभिलेख’ मा उल्लेख छ । त्यस्तै अभिमानसिं र पारथ भण्डारीले हरिनन्द पोख्रेललाई लेखेको पत्रमा खम्बू÷राईहरूको पहाड, मधेश मुलुकलाई “नौलाख किरात” भनेर सम्बोधन गरेको पाइएको छ । जुन पत्र बाबुराम आचार्यको पुस्तक ‘श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–भाग–३’ मा राखिएको छ । ‘नौलाख’ वा ‘नवलाख किरात’ वाक्यांशको सही अर्थ खोज्न सकिएको छैन ।

ब्रायन हग्टन हज्शनको पुस्तक ‘मिसेलेनियस एस्सेज रिलेटिङ टु इन्डियन सब्जेक्ट्स’ मा सुनकोशीदेखि लिखु हुँदै अरुणसम्मको खम्बुवानमा प्रत्येक घरको दुई आनाका दरले नौ लाख कर उठेकाले ‘नौलाख किरात’ भनिएको तर्क गरेका छन् । उबेला खम्बुवानमा ४५ हजार घर/परिवार थिए भन्नेमा आशंका हुन्छ । इतिहासकारहरू मकवानपुरका राजा दिग्बन्धन सेन र पृथ्वीनारायण शाहका ज्वाइँ–जेठानबीच नौलाखे हार र एकदन्ते हात्तीको विषयमा मनमुटाव भएको खुबै चर्चा गर्छन् । यसरी पो ‘नौलाख’ वाक्यांशले लोकप्रियता पायो कि?

जातीय भेषभूषााका साथ लिम्बू युवती ।

आज लिम्बू जाति ‘किराती’ हुन् कि होइनन् भन्ने विषय पेचिलो बनिरहेको बारे भने पुस्तक मौन छ । गोर्खालीले लिम्बूलाई किरात सम्बोधन गरेको कागजात कहीं कतै पाइएको छैन् । १९०५ सालमा जंगबहादुर राणाले राई र लिम्बूको साझा पल्टन खोल्न लिम्बूलाई ‘किराती’ र लिम्बूको माटोलाई ‘पल्लोकिरात’ भनेर शिवदल खड्का र कृष्णध्वज कुँवरलाई पत्राचार गरेका कागजहरू ज्ञानमणि नेपालको पुस्तक ‘नेपाल निरुपण’ मा छन्।  

गोर्खालीले युद्धबाट हराइएका राईलाई ‘मासिने’ र युद्ध नभएर सम्झौताबाट हराइएका लिम्बूलाई ‘नमासिने’ राजा भनेर सम्बोधन गरेका थिए । तर, जंगबहादुर राणाले १९१४ सालको लखनऊ र १९११ सालको भोट युद्धमा राई र लिम्बूले बहादुरीका साथ लडेपछि ‘लिम्बू, किरातीको जात पनि नमास्नू’ भनेर १९२० सालमा जारी भएको कागजले पुष्टि गर्छ (योगी नरहरिनाथ, २०२२, इतिहास प्रकाशमा सन्धिपत्र संग्रह पृष्ठ ६११)।

पुस्तकमा गोर्खा–लिम्बुवान युद्धलाई १८४८ को चैनपुरको युद्धमा मात्र सीमित गर्न खोजिएको छ । चैनपुरका खपने र फागुको झगडाको कागजमा १८३० मा नै गोर्खाली चैनपुर पुगेका छन् । गोर्खा–लिम्बू लडाइँलाई पुष्टि गर्न हज्शन पाण्डुलिपिको अध्ययन गर्नुपर्छ।

हज्शन सन् १८४५ सम्म नेपाल बसे । त्यसपछि १८५८ सम्म दार्जिलिङ बसे । दार्जिलिङमा चैनपुर, मैदानेका जोभानसिं फागो वनेमले आप्mना बाजे साङबोत्रेले सुनाएका युद्धका घटना लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लेखेर उनी मार्फत ब्रिटिश पुस्तकालयमा बुझाएका थिए।

पाण्डुलिपिको खण्ड ८५ को पृष्ठ १३०–१४९ सम्म गोर्खाली, खम्बू/राई/किराती, याक्थुङ्बा/लिम्बू, याख्खा, भोटे, लाप्चाबीच भएको लडाइँको वर्णन छ । ती लडाइँ सिन्धुली र ओखलढुंगाको तामाकोशी, भोजपुरको दिङ्ला, फालिकोट हुँदै अरुण र सभाखोलाको दोभान, सङ्खुवासभाको धुपु, बाह्रबिसे, सभाखोला, खपनको स्वाची, सिबुवा, स्याबुन, टुवाकोट, जलजला, कुइबिर, भालुखोप, चौंरीखर्क, दुम्जन र चैनपुरको सिद्धिपुरमा र पा“चथर, याङवारकको मिकआप्पामा भएका थिए । गोर्खाली सरदार रामाभद्र र रघु राना सिंजाली थापा मगर थिए । लिम्बू सरदार काङशोरे, जयकर्न फागो वनेम थिए । त्यस्तै याख्खाका लिङलिङका इयकहाङ र मादी पुत्लुङका पुत्लुङहाङ देवानहरू पनि थिए । भोटे, लाप्चाबाट टिपुटाका, युकअदा र थितेफुदाकहरूको नेतृत्व थियो। 

१८३० मा अरुण र सभाखोलाको दोभानबाट युद्ध शुरु हुन्छ । प्रमुख युद्धस्थललाई लिएर पाण्डुलिपिमा ‘सभाया घाट’ र ‘सभाया वदो’ वाक्यांशहरू परेका छन् । लगत्तै पृष्ठमा ‘अरुण पार’ शब्द परेकाले ‘सोभायाघाट’ भनेको अरुण र सभाखोलाको दोभान बुझिन्छ । त्यस्तै सिया भनेको सङ्खुवासभाको बाह्रबिसे आसपास स्वाची गढी र धापी भनेको बाह्रबिसेपारिको धुपु हो । बाह्रबिसेलाई ‘पारापुक्सी’ भनिएको छ । त्यसैले ‘सोभाया वदो’ भनेको बाह्रबिसेको लंखुवा, भोटी र सभाखोलाको त्रिवेणी हो जहा“ गोर्खालीले छलकपट गरेर काङ्सोरे फागो वनेमको हत्या गरेका थिए।

पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई लेखेको पत्रमा “पाहाडमहा सभाखोलो तमोरनदीको सा“ध लाग्यो” भनेर लेखेको बाबुराम आचार्यले उल्लेख गरेका छन् । पत्र र पाण्डुलिपिहरु दाँजेर हेर्ने हो भने १८३० मा गोर्खाली चयनपुर पुग्नु अघिको युद्ध अरुण र सभाखोलाको दोभानमा भएको र १८३१ को भाद्रको युद्ध बाह्रबिसेको सभाखोलामा भएको स्पष्ट हुन्छ । काङसोरेको मृत्यु पनि १८३१ भाद्रमा भएको नै अनुमान गर्न सकिन्छ । काङसोरेको साथमा जयकर्ण, चतुरभद्र, साङ्बोतरे, तेसाक्पा, गंगारे, विरजितरे, राजमोतरे, मन्जितरे, सिपा, फाक्ते लगायत थिए । सिपा र फाक्ते मिवाखोलाका साँबा हुन् । स्थानीयका अनुसार साँबाका तेसपोन्ना र उभारिसिं पनि युद्धमा संग्लग्न थिए । बाह्रबिसे, सभाखोलाको लडाइँसम्म गोर्खाली विरुद्ध सबै लिम्बू लडेका थिए।

तर, गोर्खाली सरदार रामाभद्र मगरले पहिले सिम्रौनगढमा नै मगर र लिम्बू भैयाद बनेकाले मगर र लिम्बू दाजुभाइ झगडा गरिनु हुन्न भनेपछि चैनपुरको सिद्धिपुरमा वैशाखमा भएको लडाइँमा गोर्खालीको पक्ष र विपक्षमा लिम्बूहरुबीच नै लडाइँ भएको थियो । लोकबोलीमा सिद्धिपुरको लडाइँ लड्ने गोर्खाली योद्धा आशाराम खत्री र अठार धार्नी टाउके भोटे हिमा दोर्जेको ठूलो चर्चा भेटिन्छ।

पाण्डुलिपि अनुसार याङवारके (याङरुप) काक र भोटे एक भएर गोर्खाली विरुद्ध पान्थरको हिलिहाङ पञ्चमीको शिर मिकआप्पामा लडेका थिए । याङरके काक भनेका उवेलाका योङहाङ, सेलिङ, थङगम्बा, हेम्ब्या, सिगु थरीका लिम्बूका गुट हुन् । उनीहरूको सिक्किमका भोटे, लाप्चाहरूसँग दरबारिया सम्धी–ज्वाइँचेलाको सम्बन्ध थियो । मिकआप्पाको  लडाइँपछि फेरि याङवारकका लिम्बूहरू गोर्खालीतिरै लाग्छन्।

लिम्बू जातिकाे परम्परागत नाच ।

यसपछि याङवारकका लिम्बूको बलले गोर्खालीले सिक्किममाथि चढाइँ गर्छन् । १८३१ आश्विन ३० मा गोर्खालीले पान्थरको लिम्बादेखि च्याङ्थापुसम्म आक्रमण गरेको योगी नरहरिनाथले उल्लेख गरेका छन् । मिकआप्पाको लडाइँ १८३१ आश्विनमा नै भएको पुष्टि हुन्छ । याङवारके लिम्बुहरूलाई मनाउन गोर्खालीले हंशदल माबोको नेतृत्वमा १८९६ मा श्री कम्पु पल्टनका लागि र राणाहरूले १९१२ मा मतपाल सेलिङको नेतृत्वमा श्रीजंगी पल्टनका लागि नगरा, निशान, हातहतियार दिएका थिए।   

दिक्पालले माझकिरातका राईहरूको इतिहासलाई पनि “माँझ किरात राई विद्रोह १८६४” शीर्षक दिएर कम आँकेका छन् । भीमसेन थापाले मुलुकमा आर्थिक सङ्कट टार्न केही बाहुनहरूका बिर्ता, देउदेउताका नामका गुठी र राईका किपट हरण गरेका थिए । ‘बासठ्ठीहरण’ पर्वमा बाहुनहरूको दानको हरण मुख्य विषय थियो।

राईहरूको इतिहास निखन्दा गोर्खाविरुद्ध बन्दुकसँग बाँसका धनुकाँणले लड्ने रावाखोलाका चतिम राय र पामाखामका अटल राय खम्बूहरूको थातथलोबारे चर्चा गरिनु सान्दर्भिक हुन्छ । अटलजित रायको नामबाट १८२५ मा लेगुवाघाटबाट केही कागजहरू जारी भएको देखिन्छ (भोगिराज चाम्लिङ, ८ चैत २०७६ कान्तिपुर दैनिक) । अटल राय भोजपुरको हतुवागढीका वालाहाङ राईका पुर्खा हुन् । उनको पामाखाममा गढी थियो । रावाखोलाका आसपास बढी थुलुङ राईको बसोबास भएकाले रावाखोलाका चतिमे राई चाहिँ थुलुङका पुर्खा हुन सक्छन्।

पाण्डुलिपिमा वलिङहाङ र उलिङहाङ खम्बूले गोर्खालीहरूको फौजलाई तामाकोशीदेखि नै छेक्दै आएको पढ्न पाइन्छ । अटल रायलाई वलिङहाङ र उलिङहाङलाई चतिम राय भनिएको हुन सक्छ । चौदण्डीका अगमसिं खम्बू लिम्बुवानका जयकर्ण, पुत्लुङहाङ, इयकहाङसँग गुहार माग्न आए । गोर्खालीले लखेटेका चौदण्डीका चौतारिया  अगमसिं राईले पनि विजयपुरमा पनि आश्रय लिएको देखिन्छ (फ्रान्सिस बुखानन् ह्यामिल्टन, सन् १८१९/१९८६/१९९०, एन् अकाउन्ट अफ द किङडम अफ नेपाल, पृष्ठ १३५) । पृथ्वीनारायण शाहले योगी भगवन्त नाथलाई १८३० मा लेखेको पत्रमा “सय चौध जाहान पक्डिएको, सयचार वैरी अरुणमा वगिमरेको, हजार वैरी काटिएको अरुणमा सा“ध लागेको, वल्लोकिरात फत्ते भएको” लेखिएको छ।

लेखकले १८६९ वैशाख ५ मा मिहित राय को नाममा जारी भएको कागज उतार्दा धेरै वाक्यांश छुटाएका छन् । मिहित राय एभेङ/थोप्राहरूका पुर्खा हुनुपर्छ । ताप्लेजुङको साविक फाकुम्बा गाविसको फुरुक्लापारि भिरको टुप्पो नेवामा एभेङ थोप्राहरूका पुर्खा चोङवालिङ्वा र भोटे/लाप्चाहरूको लडाइँ भएको कहानी आज पनि सुन्न पाइन्छ । फागोबाट खोसेर सिक्किमे राजाले मिहित रायलाई फाकुम्बा आसपासका मौजा/खुवाहरू चारकिल्लाको स्याहामोहोर गरिदिएका थिए।

प्रवासमा रहेर बटुलेका कागजातका भरमा आदिवासी विद्रोहको इतिहास बारे यति लेख्नु पनि लेखक दिक्पालको सफलता मान्नुपर्छ । लिम्बूजातिका विषयमा हालसम्म प्रकाशमा आएका इतिहास र त्यसबाट स्थापित मान्यतालाई परिमार्जन वा संशोधन गर्नुपर्ने उनको विचार जायज छ। लिम्बू जातिको इतिहास लेखनमा सक्कलको नक्कल मात्र उतार्ने परम्परा छ । पठन÷पाठनमा टिका टिप्पणी/समालोचना छैन । इतिहास लेख्दा पात्र, ठाउ“, तिथिमिति पुष्टि नगरी हुँदैन।

हिजोका सेन, तिब्बती, सिक्किमी राजाहरूका स्याहामोहर, गोर्खालीका लालमोहर, सनद, रुक्का, किपटिया सुब्बाहरूले रैतीहरूलाई गरिदिएका सोह्रआनी, भोगबन्धी÷बढका कागज, बुढापाकाहरूले राखेका वंशावली, टिपोट÷लिखत नै लिम्बूजातिको इतिहास लेखनका मुख्य स्रोत हुन् । यस्ता कागजातहरूमा परेका वाक्यांशले लिम्बूहरूको परम्परा र भूगोल चिन्न सकिन्छ । यी कागजात लिम्बू गाउँघर डुलेर र स्थलगत अध्ययन गरेर मात्रै उतार्न सकिन्छ । इतिहासकारहरूले संकलन गरेका कागजातको सिलसिला मिलाएर मात्र लिम्बूको इतिहास लेखिन्न।

(अध्येता माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर पनि हुन्।)

प्रतिकृया दिनुहोस