समाचार शुक्रबार, चैत १४, २०७६

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच भिडन्त, एक जनाको मृत्यु

मुकेश पोखरेल

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच भिडन्त, एक जनाको मृत्यु
फाइल तस्वीर

पर्सा राष्टिय निकुञ्जमा तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका एक जमदार घाइते भएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ्ग छन् । मृतकको अहिलेसम्म पहिचान हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी, उपसचिव विष्णु श्रेष्ठले बताए ।

पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जको कोर एरियामा आज विहान ९ बजे तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको हो। सुरक्षाकर्मीले दुई थान बन्दुक समेत बरामद गरेका छन् ।

“कोर एरियामा बन्दुकको आवाज आएको सुनेर त्यता गएका सुरक्षाकर्मी माथि तस्करले आक्रमण गरे,” श्रेष्ठले भने । उनका अनुसार तस्करहरु ११ जना थिए ।

बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावनालाई ध्यान राखेर गस्तीलाई बाक्लो बनाइएको श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस