टिप्पणी शनिबार, चैत १, २०७६

काेभिड १९: महामारीको उत्कर्ष वा शुरूआत ?

हिमालखबर

काेभिड १९: महामारीको उत्कर्ष वा शुरूआत ?
तस्वीर: बिजनेस इन्साइडर

चीनबाट शुरू भएको मानिएको कोभिड–१९ प्रत्येक एक–दुई दिनमा थप देशमा फैलिएको सूचना सार्वजनिक भइरहेका छन् । प्रकोप ठानिएको यो संक्रमण आपतकाल हुँदै महामारी बनिसकेको छ ।

आशा गरौं, चाँडै नै एउटा निश्चित बिन्दुमा पुगेर कोभिड–१९ नियन्त्रण हुनेछ । तर, यो संक्रमणलाई त्यतिमै सीमित राखिंदा भविष्यका लागि थप जोखिम हुने सम्भावना देखिएको छ । त्यसैले पनि कोभिड–१९ लाई फरक ढङ्गबाट हेरिनु आवश्यक छ ।

कोभिड–१९ महामारी जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित नहुन सक्छ । यो जलवायु सङ्कटबाट उत्पन्न हुनसक्ने महामारी अघिको महामारी भने हुन सक्छ । संसारमा भइरहेका भौगोलिक, भौतिक, सामाजिक–आर्थिक परिवर्तनहरूले हामीले कल्पना नै नगरेका चुनौती बोकेर आउन सक्ने देखिन्छ । कोभिड–१९ लाई त्यसैको उदाहरणका रूपमा पनि लिन सकिन्छ ।

जलवायु परिवर्तनका थुप्रै असर हुनसक्छन् तर हाम्रो ध्यान अहिलेसम्म स्वास्थ्य सङ्कटमा परेकै छैन । गत वर्ष पूरै नेपाललाई सताएको डेंगी, सार्वजनिक स्वास्थ्यमा जलवायु परिवर्तनको प्रत्यक्ष असर हो । डेंगी र मलेरिया जीवहरूबाट सर्छन् । साल्मोनेलोसिस रोग भने खाद्य पदार्थका माध्यमबाट सर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुमान अनुसार, सन् २०३० देखि २०५० सम्ममा जलवायु परिवर्तनले कारण फैलिने कुपोषण, मलेरिया, झडावान्ता, अधिक गर्मी आदिका कारण प्रति वर्ष लगभग २ लाख ५० हजार मानिसको थप मृत्यु हुनेछ ।

जलवायु परिवर्तनका कारण सार्वजनिक स्वास्थ्य प्रभावित भएको विश्वकै बलियो साक्षी हो– नेपाल । विश्वव्यापी रूपमा बढेको तापक्रमकै कारण डेंगी उच्च पहाडी क्षेत्रमा फैलिइरहेको छ । २००६ को अन्त्यतिर नेपालमा पहिलोपटक देखिएको डेंगी गत वर्षसम्म ७७ मध्ये ६६ जिल्लामा देखियो । करीब १ लाख ४० हजारमा देखिएको डेंगीबाट ६ जनाले ज्यान गुमाए ।

बढ्दो गर्मीले पृथ्वीमुनि जमेर बसेको वरफ पग्लिंदा नयाँ नयाँ महामारी देखिने आशङ्का पनि गरिएको छ । सन् १९९० को दशकपछि पृथ्वीमुनिको वरफ १० प्रतिशत पग्लिसकेको अनुमान केही वैज्ञानिकले गरेका छन् । पृथ्वीमुनि जमेर बसेका माटो, पर्माफ्रोस्ट (स्थायीतुषारो) मा सामान्यतः प्रतिग्राम एक अर्ब ब्याक्टेरिया (पाथोजेन) हुन्छन् । यी पाथोजेन निष्कासन भए भने घातक महामारी फैलिन सक्छ ।

गम्भीरतापूर्वक सोच्ने हो भने, कोभिड–१९ भविष्यमा आउने महामारी विरुद्धको लडाइँमा विश्वव्यापी सहकार्यको नमूना बन्न सक्छ । र, यसका लागि इमानदार तयारी नगर्नु ‘आफ्नै खुट्टामा बन्चरो हान्नुसरह’ हुनेछ ।

हामीले सन् २०१६ मा साइबेरियामा फैलिएको एन्थ्राक्स महामारी बारे सुनेका छौं । यो महामारी पृथ्वीमुनि हिउँमा जमेर बसेको मृगको मृत शरीर पग्लिंदा निस्किएको ब्याक्टेरियाकै कारण फैलिएको अहिलेसम्मको अनुसन्धानको निष्कर्ष हो ।

त्यसैले हिमालय क्षेत्रमा बढ्दो तापमानका कारण वरफ पग्लँदै जानु नेपालका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बन्नुपर्छ । तर, यसबारे कमै मात्र चासो, अनुसन्धान भएका छन् । वैज्ञानिकहरू त्यस्ता ब्याक्टेरियाबाट उत्पन्न हुनसक्ने जोखिमबारे प्रष्ट छैनन् । हाम्रा सञ्चारमाध्यमले पनि यसबारे पर्याप्त चासो दिएका छैनन् ।

हामी जतिसुकै अटेरी र अनभिज्ञ भए पनि यो चाहिं निश्चित छ कि जलवायु संकटले विश्वमा नयाँ नयाँ महामारी ल्याउनेछ, जुन सीमाविहीन हुनेछ । त्यसैले पनि कोभिड–१९ विरुद्धको लडाइँमा हामीले चीनको आलोचना गर्नुको साटो महामारी नियन्त्रणमा उसले लिएका नीतिको वस्तुपरक मूल्याङ्कन गर्नुपर्छ ।

चीन जत्तिको क्षमतावान मुलुकले त महामारी रोक्न यति संघर्ष गर्नु परिरहेको छ भने कमजोर स्वास्थ्य पूर्वाधार भएका हाम्रोजस्तो अल्पविकसित देशमा कस्तो हालत होला भनी पूर्वतयारीमा जुटिहाल्नु आवश्यक छ ।

कोभिड–१९ जस्तै आसन्न अन्य महामारी विरुद्ध लड्न विश्वव्यापी समन्वय र सार्वजनिक स्वास्थ्य अनुसन्धानमा अधिक लगानी अत्यावश्यक छ । तर, अमेरिकाले भने सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी), नेशनल इन्ष्टिच्यूट अफ हेल्थ (एनआईएच) का लागि वित्तीय सहयोग घटाइरहेको छ । यो महामारीले आफ्नो पश्चगामी नीति बदल्न अमेरिकासहित विश्वका सबैजसो देशलाई ध्यानाकर्षण गराउने आशा गर्न सकिन्छ ।

थप, जनावरबाटै सरेको भनिएको कोभिड–१९ ले मानव स्वास्थ्यसँग जनावर र पारिस्थितिकीय प्रणालीको अन्तरसम्बन्ध उजागर गरेको छ । त्यसैले बेइजिङले वन्यजन्तु व्यापार र उपभोगमा लगाएको प्रतिबन्ध अब विश्वव्यापी रूपमै लागू गर्नै पर्ने देखिन्छ ।

गम्भीरतापूर्वक सोच्ने हो भने, कोभिड–१९ भविष्यमा आउने महामारी विरुद्धको लडाइँमा विश्वव्यापी सहकार्यको नमूना बन्न सक्छ । र, यसका लागि इमानदार तयारी नगर्नु ‘आफ्नै खुट्टामा बन्चरो हान्नुसरह’ हुनेछ ।

(भण्डारी बेइजिङस्थित पेकिङ युनिभर्सिटीमा अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका छन् ।)

प्रतिकृया दिनुहोस