क्यानडाबाट पार्सल गरेर काठमाडौंमा गाँजा तस्करी
नेपालमा क्यानडाबाट गाँजा भित्रिन थालेको छ। प्रहरीले क्यानडाबाट पार्सल मार्फत भित्रिएको करिब एक किलो गाँजा काठमाडौंमा बुधबार बरामद गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरोले डिल्लीबजारस्थित गोश्वारका हुलाक कार्यालयको पार्सल शाखाबाट ९ सय ३० ग्राम गाँजा बरामद गरेको हो।
ब्युरोका एसएसपी बसन्त लामाले क्यानडाको टाइटन फुडस नामक कम्पनीले नेपालमा रहेका एकजना भारतीयका लागि पठाएको गाँजा बरामद भएको बताए।
उनका अनुसार गाँजा खुला भएका अमेरिका र क्यानडाबाट पछिल्लो समय नेपालमा भित्रिन थालेको छ। “हामीले सुरुमा अन्य कुनै लागूऔषध ठानेका थियौं,” एसएसपी लामाले भने “नेपालमा पाईने भन्दा केही फरक छ।” उनले नेपालमा आउने पर्यटकहरुका लागि यसरी गाँजा भित्रने गरेको बताए।
ब्युरोका अनुसार टाइटन फुड्स क्यानडाले तिलगंगास्थित होटल काठमाडौं इनमा बसेका भारतीय निखिल रङगाको ठेगानामा गाँजा पठाइएकाे हो। ब्युरोले सुरुमा गाँजा लिन आउने होटलका कर्मचारीलाई पक्राउ गरेको थियो। उनीसँगको सोधपुछमा गाँजा भारतीय रंगाले मगाएको खुलेपछि उनलाई पक्राउ गरिएको हो।
गाँजाका लागि केही वर्ष अघिसम्म नेपाल आपूर्ती राष्ट्रका रुपमा परिचित रहे पनि पछिल्लोसमय परिस्थिती परिवर्तन भएको ब्युरोले जनाएको छ। ब्युरो र प्रहरीका अन्य इकाईहरुले गाँजा खेतीमा कडाई गरेपछि नेपालमा गाँजा उत्पादन घटेको दाबी गर्दै आएका हुन।