रोशी जलाधार क्षेत्रका स्थानीय भन्छन्, “खानेपानीमा मात्र होइन, जलाधार बचाउन पनि ध्यान दिनुस्”
काभ्रेको रोशी जलाधार क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो जलाधार क्षेत्रको पानी उपयोग गर्दा जीविकोपार्जन नै प्रभावित हुने भएकाले जलाधार संरक्षणमा विशेष ध्यान दिन माग गरेका छन्।
बिहीबार काभ्रेको धुलिखेलमा आयोजित धुलिखेल पानी चौतारी शृंखला–६ अन्तर्गत आयोजित जल सुरक्षाका लागि जलाधार क्षेत्र र खानेपानी उपभोक्ताबीचको अन्तर सम्बन्ध विषयक कार्यक्रममा उनीहरूले जलाधार क्षेत्रमा बसोबास गर्ने र त्यसको संरक्षण गरे वापत आफूहरूलाई लाभांश दिनुपर्ने उनीहरूको माग छ ।
घट्ट संघका अध्यक्ष बालकृष्ण गुरुङले रोशी र कलाँते खोलाको पानी खानेपानीका लागि प्रयोग गर्दा खोलामा घट्ट चलाएर जीविकोपार्जन गरिरहेका परिवारहरू प्रभावित हुने भएकाले उनीहरूको पेशा व्यवसाय प्रभावित नहुने गरी उक्त जलाधारको पानी प्रयोग गरिनुपर्ने बताए ।
अहिले काभ्रे जिल्लाको धुलिखेलमा रोशी जलाधारमा पर्ने कलाँते खोलाको पानी ल्याइएको छ । काभ्रे एकीकृत खानेपानीका लागि उक्त जलाधार क्षेत्रबाट ५ वटा खोलाको पानी ल्याएर बनेपा, पनौती र धुलिखेलमा वितरण गर्ने योजना छ । यो योजना अन्तर्गत प्रतिसेकेण्ड ७७ लिटर पानी उक्त जलाधारबाट ल्याइने छ ।
गुरुङका अनुसार रोशी र कलाँते खोलामा गरी १२ भन्दा बढी पानी घट्ट सञ्चालनमा छन् । ती खोलाको पानी खानेपानीका लागि उपयोग गरिंदा पानी घट्ट र कृषि व्यवसाय प्रभावित हुने स्थानीयको भनाइ छ । “हामीले पानीको स्रोत व्यवस्थापन गर्न र स्थानीयको जीविकोपार्जन प्रभावित नहुने गरी पानीको उपयोग गर्नुपर्नेमा जोड दिंदै आएका छौं,” गुरुङ भन्छन् ।
पानीको उपयोग गरेवापत धुलिखेल खानेपानी उपभोक्ता समितिले रोशी जलाधारमा पर्ने साविकको भूमिडाँडा गाउँ विकास समितिमा रु १ करोड भन्दा बढी दिएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्वर श्रेष्ठका अनुसार धुलिखेल खानेपानी उपभोक्ता समितिले जलाधार संरक्षणका लागि हरेक वर्ष तत्कालीन भूमिडाँडा गाविस र हालको पनौती नपा–१२ लाई सन् २०१० देखि वार्षिक रु १० लाख दिंदै आएको छ ।
त्यसैगरी काभ्रे उपत्यका खानेपानी योजनाले साविकको भूमिडाँडा गाविसलाई ७५ लाख र कुशादेवी गाविसलाई ७० लाख दिएको छ । पनौती–१२ का वडाअध्यक्ष ईश्वरजंगम प्राप्त रकम जलाधार संरक्षणमा खर्च गरिने बताउँछन् । त्यसैगरी रोशी र फलाँते खोलामा सञ्चालित घट्टहरूको सुधारका लागि समेत लगानी गरिएको छ ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्याञ्जु श्रेष्ठ नगरपालिका पानीको स्रोत संरक्षणका लागि संवेदनशील भएको भन्दै काउन्सिल बनाएर अघि बढ्न सकिने बताए ।