माले महासचिव मैनालीलाई काठमाडौं ल्याइयो, ग्राण्डीमा उपचार हुँदै
कार दुर्घटनामा घाइते भएका पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माले)का महासचिव सीपी मैनालीलाई थप उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ।
उनी सहित दुर्घटनामा घाइतेलाई सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याईएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी दानबहादुर मल्लले मैनाली सहित घाईतेहरु चढेको हेलिकोप्टर काठमाडौं आईसकेको पुष्टिगर्दै उनीहरुलाई ग्राण्डी अस्पताल धापासी लगिएको बताए।
नेता मैनाली बिहीबार अपरान्ह महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा कार दुर्घटनामा घाईते भएका थिए। उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरमा काठमाडौं ल्याईएको हो। मैनालीको दायाँ खुट्टा र टाउकोमा चोट लागेको छ । प्रहरीले पिकअप भ्यानका चालक जितबहादुर परियारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका डीएसपी राजन चापागाईले बताए।