सुन लुकाउने प्रहरी निरीक्षकसहित १६ प्रहरी निलम्बन सिफारिस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको टिमुरे नाकाबाट भित्रिएको सुन लुकाउने प्रहरी निरीक्षक खेमप्रसाद नेपाल सहित १६ जना प्रहरी कर्मचारीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेकाे छ।
सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपाल समेतले कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ को कन्टेनर चेकजाँच गर्दा सुन बरामद गरे पनि चालकलाई छाडेर सुन आपसमा बाँडेको आयोगले जनाएको छ ।
आयोगका अनुसार ११ पुस २०७६ मा प्रहरी निरीक्षक नेपालले चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन बरामद गरेपनि उनलाई कुनै कारबाही नगरी छाडेका थिए। यस्तै बरामद सुन राजस्वमा बुझाउनु पर्नेमा आपसमा बाँडचुड गरेका थिए।
आयोगले यस्ता आरोपी पदमा बहाल रहे आफू विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुग्ने भएकाले निलम्बन गरेर कारबाही अघि बढाउने जनाएकाे हाे ।
आयोगले प्रहरी निरीक्षक नेपाल सहित प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपीबहादुर लो तामाङ र प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र हरीबहादुर श्रेष्ठलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेकाे हाे।