कालिञ्चोकमा भारी हिमपात, अत्यधिक चिसोले जनजीवन प्रभावित
दोलखाको कालिञ्चोकमा बुधबार बिहानैदेखि भारी हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण कालिञ्चोकको कुरीमा दुई फिटभन्दा बढी हिउँ जमेको सुनपाती होटलका मेनेजर विमल ओझाले बताएका छन् ।
केही दिनदेखि कालिञ्चोकमा लगातार हिमपात भइरहेकोमा बुधबार बिहानैदेखि भारी हिमपात भएको सुनपाती होटलका मेनेजर ओझाले बताए । लगातारको हिमपातपछि अत्यधिक चिसो बढेकाले कालिञ्चोक आसपासको जनजीवन प्रभावित भएको छ ।
तर, चिसोको प्रवाह नगरी सयौं पर्यटकहरू हिउँमा रमाइरहेको सुनपाती होटलका मेनेजर ओझा बताउँछन् । काठमाडौं तथा चरिकोटबाट कालिञ्चोक जाने सवारी साधनहरू हिमपातका कारण गैरीसम्म मात्र पुग्ने र गैरीबाट चेन भएका केही बोलेरोले यात्रु ओसारी रहेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन् ।
कालिञ्चोकमा हिमपात शुरु भएपछि पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको स्थानीय बताउँछन् । तीन हजार आठ सय ४२ मीटरको उँचाइमा रहेको कालिञ्चोक धार्मिक महत्वको प्राकृतिक सुन्दरताले भरिएको काठमाडौंबाट नजिकको उच्च पहाडी भेग भएकाले पनि हिमपातको मौसममा सयौं पर्यटक पुग्ने गरेको स्थानीय होटल व्यवसायीहरू बताउँछन् ।
मौसममा भएका परिवर्तनसँगै दोलखाको खावाँ, खरीढुङ्गा र शैलुङ क्षेत्रमा समेत हिमपात भइरहेको स्थानीयले बताएका छन् । लगातारको हिमपातका कारण जिरी पुग्ने सवारी साधन खावाँमा केही समय अवरुद्ध भए पनि प्रहरीले स्थानीयको सहयोगमा हिउँ पन्छाएर यातायात पुनः संचालन गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले बताए ।
खावाँ, खरीढुङ्गा र शैलुङ क्षेत्रमा हिमपातले यातायात अवरुद्ध हुनसक्ने भएकाले प्रहरी निरीक्षक रेशम बोहोराको कमाण्डमा प्रहरी परिचालन गरिएको र कहीं अवरोध हुन लागे तत्काल हिउँ पन्छाएर यातायात पुनः संचालन गरिने प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
सर्मिला बुढाथोकी, दाेलखा