असिनापानीले गहुँ बाली नष्ट, किसान चिन्तित
आइतबारदेखि वर्षासँगै परेको असिनापानीले बाला लाग्न थालेको गहुँखेतीमा ठूलो क्षति पुगेपछि नौमुले र गुराँस गाउँपालिकाका सयौं किसान चिन्तित बनेका छन् ।
नौमुले गाउँपालिकाका विभिन्न गाउँमा ३ फिटसम्म असिना परेपछि गहुँबाली पूर्णरूपमा नष्ट भएको छ । असिनाले आफूहरूले लगाएको बाली पूर्णरूपमा नष्ट गरेको नौमुले गाउँपालिका–३ द्वारीका किसान टीकाराम विकले बताए ।
“असिनाले गहुँ बालीसँगै तोरी र तरकारीबाली सखाप पार्यो,” विकले भने, “फल्ने बेलामा केही बाँकी रहेन ।”
सोही ठाउँका किसान दीपेन्द्र खत्रीले असिनाले वर्षेनि क्षति पुर्याउने गरेको दुखेसो पोखे ।
असिनाले गहुँबाली नष्ट गरेपछि क्षतिको मूल्यांकन र विवरण संकलनका लागि गाउँपालिकाले जनप्रतिनिधिको नेतृत्वमा कर्मचारी खटाएको छ ।
असिनापानीले गहुँबाली पूर्ण रूपमा नष्ट भएको र क्षतिको विवरण संकलन गरी किसानलाई उचित राहत उपलव्ध गराउन जनप्रतिनिधिसँगै कर्मचारीलाई खटाइएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले जानकारी दिए।
उनका अनुसार नौमुले गाउँपालिकाका सबै वडामा असिनापानीले क्षति पुर्याएको छ । गाउँपालिकाले करीब १ करोड बढी क्षति हुन सक्ने अनुमान गरेकोे छ ।
त्यस्तै गुराँस गाउँपालिकामा पनि बाक्लो असिना पर्दा तरकारी, गहुँ नष्ट भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले किसानहरू माझ पुगेर तत्काल केही राहतका कार्यक्रम शुरु गरिने जानकारी दिएका छन् । गुराँस गाउँपालिका तरकारी खेतीका लागि परिचित छ ।
कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले असिनापानीले जिल्लाका धेरै ठाउँमा क्षति पुगेको जानकारी प्राप्त भएको र क्षतिको विवरण संकलन शुरु गरिएको जानकारी दिएका छन् ।
यज्ञराज थापा, दैलेख