बहुविवाहका बन्दी महिलामा मानसिक रोग
जिल्ला कारागार दैलेखमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका अधिकांश महिलामा मानसिक रोग देखिएको छ।
वर्तमान कानूनले दोस्रो बिहेलाई वैधानिकता नदिएपछि कैद भुक्तान भइसकेपछिको अवस्था सम्झदै उनीहरू विक्षिप्त हुने भएकाले मानसिक रोग देखा परेको अध्ययनले जनाएको छ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो।
कारागारमा रहेका १२ जना कैदी र एकजना थुनुवा महिलामध्ये ९ जनामा आत्तिने र दुई जनामा डिप्रेसनको समस्या देखिएको नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.आशीष दत्तले बताए।
कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे ३ दिनसम्म विशेषज्ञद्वारा कैदीबन्दीको अध्ययन गरिएको थियो।
मानसिक रोग विशेषज्ञ डा. दत्तले भने, “कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाकाे वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा यो समस्या देखिएको हो।”
यो समस्या दैलेखका कैदीमा मात्र नभई देशभर हुन सक्ने भएकाले सबै कारागारमा मानसिक स्वास्थ्य परीक्षण जरुरी रहेको उनको भनाइ छ ।
कैदीबन्दीका लागि मानसिक स्वास्थ्य कार्यक्रम अन्तरगत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि उपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले बताए ।
“अब हामीले नियमित रूपमा कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्छौं”, पन्तले भने । कारागारमा फरक प्रकृतिका अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरू मानसिक रूपमा तन्दुरुस्त नभएको अवस्थामा नियमित उनीहरूको स्वास्थ्य जाँचको आवश्यकता देखिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले बताएका छन् ।
दैलेख जिल्ला कारागारमा ८० जना पुरुष र २० जना महिला गरी सयजनाको क्षमता रहेको भए पनि हाल कैदी र थुनुवा गरी १ सय ४२ जना छन् । जसमध्ये दोस्रो विवाहवाट जन्मेका दुई नाबालकले पनि आमाबाबुसँगै जेल जीवन बिताउन बाध्य छन् ।
यज्ञराज थापा, दैलेख