सरकारलाई अलोकप्रिय बनाउन भ्रम छरियो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन भ्रम छरिएको बताएका छन् । सोमबार पोखरामा नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले असान्दर्भिक विषय उठाएर विपक्षीले जनतामा भ्रम छरेको बताए हुन् ।
उठाउनै नपर्ने विषयहरू उठाएर विपक्षीले सरकारलाई असफल बनाउने प्रयाश गरिरहेको उनको दाबी थियो ।
ओलीले संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको आरोप लगाए । उनले कुखुराका चल्लाले चारो टिप्दा थाहै नपाइ अरू पनि एउटाकै पछि दुगुर्ने गरेको जस्तै संसदमा प्रस्तुत विधेयकका विषयमा पनि जानकारी नै नराखी विरोध हुने गरेको बताए ।
"संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन लागि परेका छन्," उनले भने ।
सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल, मानव अधिकारसम्बन्धी विधेयकबारे प्रतिपक्षी केही नबुझेको उनको भनाइ थियो ।