दक्षिण कोरियामा कोरोनाको प्रकोप, चार दिनमा ८ गुणाले बढे संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण तीव्रतर रूपमा फैलिदै गएको छ । गत चार दिनमा कोरोनाभाइरसको संक्रमण ८ गुणाले वृद्धि भएको छ ।
कोरोनाभाइरसको तीव्ररुपमा वृद्धि हुँदै गएपछि राष्ट्रपति मून जे इनले क्याबिनेटको बैठकपछि देशमा अलर्ट जारी गरेका छन् ।
दक्षिणकोरियामा संक्रमितको संख्या ५५६ पुगेको बताइएको छ । दक्षिण कोरियाको राजधानी सियोलमा अहिलेसम्म ९ हजारजनाको स्क्रिनिङ गरिएको बताइएको छ ।
दक्षिण कोरियामा दुईजनाको मृत्यु भएको छ । यो संख्यामा तीव्र वृद्धि हुनसक्ने आशंका गरिएको छ । निमोनिया र अन्य संक्रमणबाट गम्भीर रूपमा ग्रसित भएको संख्या धेरै बताइएको छ ।
चिओंगडो अस्पतालमा रहेका गम्भीर प्रकृतिका बिरामीलाई स्थानान्तरण गर्ने तयारी भइरहेको बताइएको छ । सो मध्ये १७ जनाको अवस्था नाजुक रहेको बताइएको छ । सोही अस्पतालमा भाइरसबाट संक्रमित पहिलो बिरामीको मृत्यु भएको थियो ।
सामसुङ इलेक्ट्रोनिक्सले दक्षिणकोरियाको गुमी शहरमा रहेको स्मार्टफोन प्लान्टलाई अस्थायीरूपले बन्द गरेको छ । यस प्लान्टका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि कम्पनीले उत्पादन बन्द गर्ने निर्णय लिएको बताइएको छ ।
चीनबाट फैलिएको कोरोनाभाइरस अहिले त्यहाँ नियन्त्रणमा आइरहेको बताइएको छ । शनिबार ३९७ जना मात्र नयाँ संक्रमित फेला परे भने १०९ जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । भाइरस फैलिएका ३४ प्रान्तमध्ये १४ वटामा कुनै संक्रमित नभेटिएको जनाइएको छ । यसबाट चीनमा कोरोनाको संक्रमण घट्दो छ भने अन्य देशमा यो फैलने क्रममा रहेको बताइएको छ ।
कोरोनाभाइरसबाट अहिलेसम्म चीनमा २२३९ जनाको मृत्यु भएको र ७५५६९ जना संक्रमित पाइएको डब्लूएचओको आकडा रहेको छ । आकडाका अनुसार भाइरसबाट संक्रमित मध्ये ८० प्रतिशत मध्यमखाले हुने, २० प्रतिशत गम्भीर र २ प्रतिशत ज्यान लिने सम्मको रहने बताइएको छ ।
यसैबीच नेपालले दक्षिण कोरियामा कोरोनाको फैलदो संक्रमणका कारण कामदार पठाउन रोक लगाएको छ ।
कोरियामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले गत हप्तादेखि कोरिया जाने कामदारको उडान रोकेको हो ।
सन् २०२० मा करीब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउने बताइएको छ ।
–एजेन्सी