प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकाले दियो सार्वजनिक विदा
प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खौली घर तेह्रथुममा ६९औं जन्म दिवस मनाउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले आफू मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिएको हो । गाउँपालिकाले आफ्ना कर्मचारी र विद्यार्थी तथा शिक्षकहरुलाई तोकिएको पोशाकमा उपस्थित हुन उर्दी समेत जारी गरेको छ ।
यसअगाडि काठमाडौंमै जन्म दिवस मनाउँदै आएका प्रधानमन्त्री ओली यसपटक भने पुर्खौली घर तेह्रथुम गएका हुन् । आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२) तीन सल्ले खानीगाउँमा प्रधानमन्त्री ओली जन्मिएका थिए ।
२०२० मा झापा बसाई झरेका प्रधानमन्त्री ओली भक्तपुर बस्दै आएका छन् । तर, गएको दशैं अगाडि पुर्खौली घरको जिर्णोद्वार गराएका थिए ।
जन्म दिवस मनाउन तेह्रथुममा रहँदा प्रधानमन्त्री ओलीले एक सडक बाटोको शिलान्यास र नेपाल ब्यांकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।