कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
चीनमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ सय २१ पुगेको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुनेको संख्या वृद्धि हुने क्रम उस्तै भए पनि संक्रमितको संख्यामा कमी आएको छ ।
भाइरसबाट संक्रमित हुनेको संख्या भने ७४ हजार ६ सय पुगेको चिनियाँ राष्ट्रसिय स्वास्थ्य आयोगले जनाएको छ ।
बुधबार मात्रै कोरोनाभाइरसको संक्रमणका कारण १ सय १४ को मत्यु भएको छ । संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनलगाएतले यो संक्रमण नियन्त्रणमा लिन चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चीनको हुबेई प्रान्तमा यस भाइरसबाट धेरै नागरिक प्रभावित भएका छन् । कोभिड १९ बाट ८० प्रतिशत संक्रमित र मृत्यु हुनेमा ९५ प्रतिशत हुबेइ प्रान्तका नागरिक रहेको अधिकारीहरूले जनाएका छन् ।