सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने सांसदहरुको माग
सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै त्यससम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ ।
बिहीबार बसेको बैठकमा समिति सदस्यहरुले यससम्बन्धी गम्भीर छानबिन आवश्यक परेको भन्दै उपसमिति गठन गर्नुपर्ने पनि बताए ।
बैठकमा सभापति भरत कुमार साहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई ८ बुँदे प्रश्न राखे ।
जवाफ दिने क्रममा सचिव सुवेदीले खरीद ऐन तथा नियमावली अनुसार नै फ्रान्स र जर्मनीसँगको प्रक्रिया अघि बढे पनि कुनै निर्णय भइनसकेको बताए ।
सचिव सुवेदीले नै थप जवाफ विज्ञसमेत रहेका कार्यकारी प्रमुख पौडेलले दिने भनेपछि पौडेलले प्रश्नहरुको जवाफ दिन थाले तर बोल्दै गर्दा बीचमै समिति सदस्यहरुले बैठकमा आउँदा गम्भीरतापूर्वक र तयारी गरेर नआएको भन्दै रोकेर थप प्रश्न गरे ।
कार्यकारी प्रमुख पौडेललाई कांग्रेस सांसद डा मिनेन्द्र रिजालले तपाईंले बोलेको सत्य हो ? होइन भने तपाईंले दण्ड सजाय पाउनुहुनेछ, भन्दै पटक-पटक सचेत गराए ।
समिति सदस्यहरुले सेक्युरिटी प्रेसका लागि प्रस्ताव पेश गरेका पाँच कम्पनीहरु मध्ये जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्डको भ्रमणमा सरकारी टोली पटक पटक जाने तर जापान र पोल्याण्ड नजानुको कारण प्रष्ट्याउन माग गरे । साथै त्यसरी जाँदा कसको खर्चमा गएको हो भन्ने जवाफ माग गरेका थिए ।
एकपछि अर्का समितिका सदस्यहरु बोल्न थालेपछि सचिव सुवेदी र पौडेल उठेर हिंडे । सांसदहरु मोहम्मद इस्तियाक राई, विरोध खतिवडा, सूर्य पाठक, धर्मशीला चापागाईं, अमनलाल मोदी, प्रदीप यादवलगायतले उपसमिति बनाएर गम्भीर छानबिन हुनुपर्ने माग गरे ।
पूर्व शहरी विकास मन्त्री समेत रहेका कांग्रेस सांसद राईले सेक्युरिटी प्रेसको भवन निर्माण लागत किन अस्वाभाविक बढी भएको भन्दै भवन बनाउँदा प्रतिवर्गमिटर ६ हजार खर्च लागे पनि ३४ हजार राखेकोमा प्रश्न उठाए ।
नेकपाका सांसद सूर्य पाठकले सामाजिक सञ्जालमा लेखासमितिकै सदस्यहरुले पैसा खाएको भनेर चरित्र हत्या गर्ने गरी सार्वजनिक भएको भन्दै यसको तत्काल छानबिन गर्न सभापतिको ध्यानाकर्षण गराए ।
उनले भने, “मेरोसमेत नाम राखेर सामाजिक सञ्जालमा आउँदा मेरो चरित्र हत्या भयो, म त्यो सहन सक्दिन, जसले त्यो सार्वजनिक गर्यो, त्यो व्यक्ति र त्यो शेयर र लाइक गर्नेलाई समेत साइबर क्राइमको मुद्दा चलाउनुपर्छ ।”
नेकपाकी सांसद चापागाईंले महिनौंदेखि यो विषयमा आफूले अध्ययन गरिरहेको भन्दै ठाउँठाउँमा भ्रष्टाचार भएको बताइन् ।