वीरेन्द्रनगरमा कर्णाली एक्सपो शुरु
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबारदेखि दोस्रो कर्णाली एक्सपाे शुरु भएको छ । अर्गानिक कृषि, लघु घरेलु उद्योग, पर्यटन, सांस्कृतिक, हस्तकला तथा व्यापार महोत्सव नाम दिइएको कर्णाली एक्सपोको मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको सो महोत्सव कर्णाली प्रदेशको समृद्धिमा केन्द्रित रहेको आयोजकले बताएका छन् । मंगलबारदेखि ११ दिनसम्म संचालन हुने महोत्सवमा अर्गानिक कृषि वस्तु, घरेलु उद्योगबाट उत्पादित सामग्री, पर्यटन क्षेत्रको प्रचार प्रसार, सांस्कृतिक कला, हस्तकला तथा स्थानीय व्यापारका स्टलहरू राखिएका छन्।
उद्घाटन कार्यक्रममा आयोजकले उपराष्ट्रपति पुनलाई कर्णालीको राजधानी रहेको सुर्खेतमा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि पहल गरिनुपर्ने, सुर्खेत–नेपालगञ्ज रत्न राजमार्ग दुई लेन बनाउन र सुर्खेत दैलेख–कालिकोट–जुम्ला हुँदै मानसरोवर जोेड्ने सडक निर्माण गर्नुपर्ने माग गरेका छन् ।
यसैगरी सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पहल गरिदिनुपर्ने र प्रत्येक जिल्लामा सार्वजनिक निजी सहकारी साझेदारी अवधारणामा एक जिल्ला एक उद्योग स्थापना गर्नुपर्ने माग पेश गरेका छन् ।
पश्चिम सुर्खेतको लखरपाटा तथा सल्यानको गजेरी सिमेन्ट कारखाना स्थापनाका लागि प्रक्रिया शुरु गर्न पहल गरिदिनुपर्ने, सुर्खेतको विद्युत प्रसारणलाई १३२ के.भी.ए बनाउनुका साथै दैलेख, कालिकोट, जुम्ला र मुगुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा अविलम्ब जोड्न पहल गरिदिनुपर्ने जस्ता कुरा मागपत्रमा उल्लेख गरिएको छ ।
यज्ञराज थापा, सुर्खेत