बलेफी हाइड्रोपावरका ठेकेदारलाई धम्की दिने फरार आरोपी पक्राउ
प्रहरीले सिन्धुपाल्चोकस्थित बलेफी हाइड्रोपावरमा काम गर्ने ठेकेदारलाई हातहतियार देखाएर धम्काउने पासलाल तामाङलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका–३ बोल्दे घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय तामाङलाई काठमाडौं जडिबुटीबाट बुधबार पक्राउ गरेको हो ।
तामाङ समेतका व्यक्तिहरूले बलेफी हाइड्रोपावरमा काम गर्ने ठेकेदार र अरु व्यक्तिहरूलाई हातहतियार देखाएर ज्यान मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिएको महाशाखाले जनाएको छ। महाशाखाले तामाङले महिला समेतलाई अभद्र व्यवहार गरेको सूचनापछि उनको खोजी शुरु गरेको थियो।
तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करीब १८ महीना जेल भुक्तान भई छुटेका अभियुक्त भएको महाशाखाले जनाएको छ। यस्तै उनी सिन्धुपाल्चोकमा ज्यान मार्ने उद्योग मुद्दामा फरार आरोपी रहेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए।
तामाङलाई अभद्र व्यवहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।