अनेरास्ववियू पराजित हुने भएपछि स्ववियु निर्वाचन स्थगित गरेको नेविसंघको आरोप
त्रिभुवन विश्वविद्यालयले १४ फागुनका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ ।
नेविसंघ महामन्त्री दीपक भट्टराईले बुधबार विज्ञप्ति निकालेर त्रिविले स्ववियु निर्वाचन स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।
भट्टराईले सरकार र त्रिविको षड्यन्त्रले स्ववियु निर्वाचन स्थगित भएको आरोप लगाएका छन् । उनले स्ववियु निर्वाचन स्थगित गरेर स्ववियुको अस्तित्वमाथि नै घात पुर्याउन खोजेको बताए ।
नेविसंघले स्ववियू निर्वाचन स्थगित गरेर विद्यार्थी आन्दोलनका ऐतिहासिक उपलब्धिमाथि खेलबहाड गर्न खोजेको भन्दै आफू स्ववियु र उपलब्धिलाई जोगाउने पक्षमा रहेको जनाएको छ ।
नेविसंघले लोकतन्त्रका आधारभूत मूल्यमान्यतामाथि हस्तक्षेप गर्दै आएको वर्तमान सरकार र त्रिविका स्वार्थहरु नमिलेका कारण सत्तारुढनिकट विद्यार्थी संगठनको सम्भावित पराजयबाट भाग्न स्ववियु निर्वाचन स्थगित गरिएको आरोप लगाएको छ ।