लिङ फाउण्डेसनलाई चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग
चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एम्बुलेन्स, विभिन्न मेडिकल उपकरण र मालबाहक गाडी सहयोग गरेको छ ।
नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरे ।
एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ । चेक रिपब्लिकले स्पाइन बोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभी लाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथ लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
“यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं । हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ” राजदूत मिलान होभोर्काले भने, “यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं ।”
नाला क्षेत्र सुविधा सम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करीब २० किलोमिटर टाढा पर्छ ।