दस्तावेज शुक्रबार, फागुन २, २०७६

सैन्य इतिहासमा गर्नैपर्ने परिमार्जन

हिमालखबर

सैन्य इतिहासमा गर्नैपर्ने परिमार्जन
यही मलाउको किल्लामा भएको युद्धका क्रममा सरदार भक्ति थापाले यहाँभन्दा करीब ३०० मिटर पूर्वको ढुङ्गे डाँडामा वीरगति प्राप्त गरेका थिए । तस्वीर साैजन्य: प्रेमसिंह बस्न्यात

–डा. प्रेमसिंह बस्न्यात

डा. प्रेमसिंह बस्न्यात

नेपाली इतिहासबारे अहिलेसम्म प्रशस्त लेखिएका छन् । कतिपय गहन अध्ययनबाट तथ्य–विवरण जुटाइएका प्रमाणित अभिलेख छन्, कति चाहिं अपुरो, तोडमोड गरिएका र गलत इतिहास जनमानसमा प्रचलित छन् ।

विशेषगरी नेपाली सैन्य/युद्ध इतिहासको स्थलगत अध्ययनका क्रममा गएको २९ कात्तिकदेखि १ माघसम्म सिक्किमको ‘न्याय गाउँ’ देखि नेपालभित्र र भारतको काँगडासम्मका विभिन्न ऐतिहासिक ठाउँको भ्रमण गर्दा धेरै नयाँ–पुराना विषय भेटिए, देखिए ।

सिक्किमको न्याय गाउँ सम्बन्धी ऐतिहासिक पाटो रोचक छ । नेपाल एकीकरणको सिलसिलामा काजी दामोदर पाँडेले संखुवासभाको चैनपुर र इलाम हुँदै सिक्किमको टिष्टा नदी पुगेर खुँडा पखालेछन् । उक्त क्षेत्रमा सिक्किमे लेप्चा जातिको अन्याय अन्त्य भई नेपाल सरकारको थितिमिति कायम भयो । त्यो न्याय निसाफको स्मृतिमा स्थानीयले गाउँको नाम नै ‘न्याय गाउँ’ राखे ।

अर्को चाखलाग्दो विषय, संखुवासभाको चैनपुरमा धेरैसँग छलफल गर्दा सिक्किमे लेप्चाहरूले हाल नेपालभित्र पर्ने अरुण नदीसम्मको भागमा शासन चलाएको इतिहास भेटियो । त्यो भूभागलाई सिक्किमले सन् १६४२ देखि तिब्बती मूलबाट राजा भएका फन्चोक नामग्यालको पालादेखि १३४ वर्षसम्म मुठीमा लिएको थियो ।

त्यस बखत गोला बजार नाम राखिएको चैनपुरमा सिक्किमे लेप्चा र तिब्बती भोटे (भोटिया) सेनाको ब्यारेक नै खडा गरेर कर उठाउने, न्यायिक कार्य गर्ने, व्यापार गर्ने गरेको तथ्य चैनपुरवासीलाई घरघरै थाहा रहेछ ।

नेपाल एकीकरण अभियानका क्रममा वि.सं. १८३२ (सन् १७७६) मा हालको चैनपुरको सिद्धिपुरमा नेपाली फौजसँग विशाल युद्ध भयो । प्रधान सेनापति अभिमानसिंह बस्न्यात, काजी दामोदर पाँडे, रामकृष्ण कुँवर, आशा खत्री (आशबहादुर खत्री) समेतले लडेको युद्धमा सिक्किम र तिब्बती सेनाको संयुक्त फौज पराजित भयो ।

आशा खत्रीका सन्तान चैनपुरमा धेरै छन्, तीमध्ये चैनपुरका वर्तमान मेयर भरत खत्री पनि हुन् । त्यही युद्धमा लडेका काजी बदलसिंह बस्न्यातका सन्तान चैनपुरको मादी पुलुङमा छन् ।

सिद्धिपुर युद्धमा हारेपछि सिक्किमे राजाको आग्रह तथा राजा पृथ्वीनारायण शाहको सहमतिमा सिक्किमसँग सम्झैता भई नेपालले आफ्नो साँध टिष्टा नदी पश्चिम ल्यायो । सिक्किमे राजामाथि प्रशासनिक नियन्त्रण नेपालकै रह्यो । सन् १८१६ को सुगौली सन्धिले मात्र त्यो अधिकार काटियो ।

एकीकरण युद्धको १६ वर्षपछि सन् १७९२ मा फेरि सिक्किमे लेप्चा र तिब्बती फौजले चैनपुरमा रहेका नेपाली सेनामाथि हमला गरेर सैनिकहरू मारे । त्यसपछि मूल काजी बख्तावरसिंह बस्न्यातको नेतृत्वमा ठूलो युद्ध हुँदा लेप्चा तथा तिब्बती फौजका करीब ७०० जवान मरे । त्यसपछि सिक्किमले नेपालमाथि हमला गर्ने प्रयत्न कहिल्यै गरेन ।

अरुण पूर्व इलाम वरिपरिका थुममा लिम्बू र अन्यत्रका थुममा खुम्बूहरूको पकड थियो । लिम्बूहरूसँग सिक्किमे राजाको सम्बन्ध कटुतापूर्ण रहे पनि खुम्बूहरूसँग भने राम्रो थियो । सिक्किमे लेप्चा र तिब्बती सेनाले खुम्बूहरूकै सहयोगमा तत्कालीन विजयपुर र चौदण्डीका कमजोर सेन राजाको फाइदा उठाई अरुण नदीसम्म अखडा जमाउन सकेको थियो ।

यी विवरणमध्ये कति नेपाली र कति सिक्किमे इतिहासमा छन् भने धेरैजसो संखुवासभा तथा इलाम जिल्लामा छरिएका छन् । नेपालले एकीकरण युद्धमा अरुणदेखि टिष्टा नदीसम्म (लिम्बूहरूको थुम बाहेक) सिक्किमसँग युद्ध लडेको थियो ।

यसलाई नेपाल–सिक्किम युद्धका रूपमा नेपाली इतिहासमा थप अध्याय थपेर समेट्नुपर्छ । तिब्बती सेनाले सिक्किमे लेप्चा फौजलाई नेपाल विरुद्ध सन् १७७६ र सन् १७८१ दुवै पटक सहयोग गरेका थिए । यो ऐतिहासिक पाटो हराउन दिनुहुँदैन ।

काजी रणजोरसिंह थापाको नेतृत्वमा रहेको जैथक किल्लामा अंग्रेज फौज हारेको थियो।

वास्तविक योद्धालाई घात

सन् १८१४ देखि १६ सम्मको नेपाल–अंग्रेज युद्धको इतिहास पनि पुनर्लेखन हुनुपर्छ । यो युद्धको पहिलो चरणमा पूर्वको टिष्टादेखि पश्चिममा सतलज नदीसम्म करीब २,५०० किलोमिटरको मोहडा (क्षेत्र) मा विजयपुर, मकवानपुर, पाल्पा, कुमाउँ, देहरादून, नाहान (जैथक), मलाउमा क्रमशः काजी बख्तावरसिंह थापा, कर्नेल (पछि जनरल) रणवीरसिंह थापा, कर्नेल उजिरसिंह थापा, चौतरिया बम शाह, कप्तान बलभद्र कुँवर, काजी रणजोरसिंह थापा र सरदार भक्ति थापाले नेतृत्व गरेका थिए । देहरादूनदेखि सतलजसम्मको मुख्य कमाण्डर भने बडाकाजी अमरसिंह थापा थिए ।

यो चरणमा नेपालले टिष्टा नदीदेखि पाल्पासम्म र महाकाली पश्चिममा नाहान मोहडामा अंग्रेजलाई हरायो भने देहरादून (नालापानी), कुमाउँ तथा सतलजको मलाउ मोहडामा पराजय बेहोर्‍यो । काजी बख्तावरसिंह, कर्नेल रणवीरसिंह, कर्नेल उजिरसिंह र काजी रणजोरसिंहले युद्ध जितेका थिए ।

१५ मे १८१५ मा मलाउ किल्लामा बडाकाजी अमरसिंह र अंग्रेजका कर्नेल (पछि मेजर जनरल) डेभिड अक्टरलोनीबीच भएको सम्झैतापछि त नेपालले महाकालीदेखि सतलजसम्मको सबै भूभाग गुमायो । तर हाम्रो इतिहास लेखनमा युद्ध जित्ने कमाण्डरहरूलाई बेवास्ता गरी सतलजदेखि पूर्व महाकालीसम्मका युद्ध (जैथक बाहेक) हार्ने पात्रहरूको भने बढाइचढाइँ गरिएको छ ।

अंग्रेजको एकतर्फी इतिहासलाई आधार बनाउँदा यस्तो अन्याय भएको हो । अंग्रेजले जुन–जुन ठाउँमा हार्‍यो, त्यो ठाउँको इतिहास र विजेता नेपाली कमाण्डरको नाम लेखेन । यस कारण ती सबै इतिहासको पुनर्लेखन हुनुपर्छ ।

कुमाउँ मोहडाका कमाण्डर चौतरिया बम शाह तथा देहरादून–जैथक–सतलज मोहडाका मुख्य कमाण्डर बडाकाजी अमरसिंह थापाले गरेका युद्ध संचालन प्रक्रियाबारे थप खोज–अनुसन्धान आवश्यक छ । बम शाहले अंग्रेजहरूको बहकाउमा गैरजिम्मेवार काम गरेका र नेपाली सेनाले आत्मसमर्पण गर्नुपरेका तथ्यहरू प्रकाशित छन् । यसबारे पुनः अध्ययन आवश्यक छ । यस्तै, बडाकाजीको भूमिका पनि युद्धशास्त्र अनुरुपको देखिंदैन ।

सतलजमा अंग्रेजसँग युद्ध शुरू हुँदा बडाकाजी अमरसिंह मलाउ किल्लादेखि दुई दिनको पैदल बाटोमा रहेको आर्की दरबार (बघाट) मा मुकाम बनाएर बसेका थिए । उनी समयमै मलाउ किल्ला नपुग्दा युद्ध सञ्चालन चुस्त हुन सकेन ।

बरु सरदार भक्ति थापाले करीब एक कोस पूर्वको सूर्यगढीबाट मध्यरातमा अंग्रेज फौजबाट छलिंदै मलाउ किल्ला पुगेर बडाकाजीलाई किल्ला बचाउन सुझव दिन्छन् । त्यस वेला मलाउको किल्ला अंग्रेज फौजले घेरिसकेको थियो । त्यसपछि भक्ति थापाकै नेतृत्वमा अंग्रेजसँग युद्ध हुन्छ । बिहान ५ बजेदेखि करीब १० बजेसम्म भएको युद्धकै क्रममा उनले १६ अप्रिल १८१५ मा वीरगति पाए ।

युद्ध विकसित भएपछि बल्ल बडाकाजी किल्ला पुगे । तर, ३०० मिटरको दूरीमा युद्ध प्रत्यक्ष हेरिरहेका उनले थप फौज किन पठाएनन् ? बडाकाजीका छोराहरू किन लड्न गएनन् र उनी आफैं किन अघि सरेनन् ? १५ मे १८१५ को सम्झैतापछि अंग्रेजले बडाकाजीको सम्पूर्ण सम्पत्ति, राज्यको ढुकुटी उनका छोराहरूलाई ससम्मान लैजान दिंदा उनीहरू सम्पत्ति लिएर किन पंजाबको लाहौर लागे ? काठमाडौंमा रहेका जनरल भीमसेन थापा र बडाकाजीबीचको सम्बन्ध के थियो ? यस्ता थुप्रै प्रश्नको उत्तर खोज्न गहिरो अनुसन्धान हुनैपर्छ ।

कप्तान बलभद्र कुँवरको नेतृत्वमा युद्ध भएको नालापानी किल्ला ।

नेपाल–अंग्रेज युद्धको दोस्रो चरणमा अंग्रेजले राजधानी काठमाडौंलाई केन्द्रित गरेर मकवानपुर–हरिहरपुर मोहडाबाट हमला गर्ने योजना बनाउँछ । जसमा मलाउ–सतलज क्षेत्रमा बडाकाजी अमरसिंहलाई पराजित गर्ने मेजर जनरल डेभिड अक्टरलोनीलाई मुख्य कमाण्डर बनाइन्छ । मकवानपुर क्षेत्रमा काजी बख्ताबरसिंह थापा मुख्य कमाण्डर हुन्छन् ।

मकवानपुरतर्फ युद्ध शुरू नहुँदै हरिहरपुर गढीमा नेपालको हार हुन्छ । त्यसपछि नेपालले अंग्रेजको प्रस्तावित सन्धिमा हस्ताक्षर गर्न तयार रहेको खबर हेटौंडाको हर्नामाडीमा रहेका अक्टरलोनीकहाँ पठाउँछ । त्यसपछि भारतको रक्सौलभन्दा ३५ किमी पश्चिममा रहेको सुगौली छाउनीमा सन्धिपत्रमा दुवै पक्षबीच हस्ताक्षर हुन्छ । त्यही ‘सुगौली सन्धि’ पछि नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकाली बन्छ ।

अर्को विचारणीय पक्ष, नेपाली सेनाले तिब्बत, चीन र अंग्रेजसँगका युद्धमा बारुला, बच्छिउँ जस्ता कीरा र विभिन्न जनावरलाई पनि प्रयोग गरिएको उल्लेख गर्दै युद्धका इतिहासमा तिनलाई वीरका रूपमा प्रस्तुत गरिएको छ ।

ती विषयमा पहिले साहित्यकारहरूले सक्दो साजसज्जा गरेर राष्ट्रिय गौरव बढाउने गरी नाटक, कथा, कविता लेखे । जुन जनमानसमा भिज्यो । त्यसपछि बल्ल इतिहास लेखिन थाल्दा युद्धका तथ्यमा साहित्यको रङरोगन थपियो ।

नेपाली सैन्य इतिहासमा इतिहास र भूगोल पनि मिलेका छैनन् । खोज्दै जाँदा युद्धस्थल अर्कै ठाउँमा भेटिन्छन् । उदाहरणका लागि, सन् १७६७ मा सिन्धुलीमा अंग्रेज फौजका कप्तान किनलक विरुद्धको लडाइँबारे युद्ध इतिहासमा सिन्धुलीमाडीदेखि उत्तरतर्फ लाग्दा पहिला सिन्धुलीगढी, त्यसपछि खुर्कोट र त्यस नजिकै पौवा गढी रहेको उल्लेख छ ।

विदेशी लेखकहरूका विवरण सारिंदा यस्तो त्रुटि भयो । खासमा सिन्धुलीमाडीबाट पहिला पौवा गढी, त्यसपछि सिन्धुलीगढी र खुर्कोट आउँछ ।

नेपाल–अंग्रेजको लडाइँ भएको नालापानीको स्थलगत अध्ययन गर्दा पानीको मुहान भएको सागर दहभन्दा करीब आधा किलोमिटर उत्तरतर्फको डाँडामा नालापानी किल्ला छ । त्यति गहिरो ठाउँको पानी कसरी किल्लामा लैजान सकियो र मुहान कसरी थुनियो, उदेकको कुरा हो ।

नालापानीको युद्ध (१८१४ अक्टोबर १९–नोभेम्बर ३०) को अन्तिम सातातिर किल्लाभित्र रहेको खानेपानीको आपत्कालीन भण्डारबाट पानी पाएर नेपालीले लडेका थिए । त्यो अवधिमा अंग्रेज फौजले सागर दहसम्म कब्जा गरिसकेकाले पानी लिन जान नपाएको पक्कै हो र किल्लाभित्रको भण्डारमा पनि पानी सकिएपछि हाहाकार भयो । यसबारे पुनर्मूल्यांकन जरूरी छ ।

नेपाल–अंग्रेज युद्धका वीर ७३ वर्षीय सरदार भक्ति थापाले वीरगति पाएको ठाउँ मलाउ किल्लाबाट ३०० मिटर पूर्वको ढुङ्गे डाँडो हो । जहाँ नेपाली मूलका स्थानीय जनताले सानो स्मारक बनाएका छन् ।

सतलजमा युद्ध शुरु हुँदा मलाउ किल्लादेखि दुई दिनको पैदल दूरीमा रहेको यही आर्की दरबार (बघाट) मा बडाकाजी अमरसिंह थापाको मुकाम रहेको थियो ।

उक्त क्षेत्रमा स्थलगत अध्ययनका लागि पंक्तिकार तीन पटकसम्म पुग्दा स्थानीयहरूले भक्ति थापाको शहादत स्थल पनि त्यहीं देखाए । जबकि, नेपाली सैन्य इतिहासमा ‘देउथलको युद्ध’ शीर्षक दिएर भक्ति थापाको शहादत देउथल (मलाउदेखि करीब १० किमी उत्तर–पश्चिम) मा भएको लेखिएको छ ।

परिमार्जनको खाँचो

नेपालको सैन्य इतिहास धेरै लामो छ, तर प्रमाणित तथ्यको अभावमा सुनेका कुरा र साहित्य पनि मिसिएका छन् । जसका कारण धेरै इतिहास र त्यसवेलाका पात्र हेलाँमा परेका छन् । नेपाल एकीकरणको इतिहास लेख्दा लमजुङका राजकुमार द्रव्य शाह, लमजुङको राइनासकोट, चेपे नदी र लिगलिगकोटलाई अलग गर्नै मिल्दैन ।

राइनासकोटबाट नेपाल एकीकरणको ढोका खुलेर लिगलिगकोटमा द्रव्य शाहले टेकेपछि मात्र गोर्खा राज्यको नामकरण गरेका थिए । त्यसैको विकसित एकीकरण अभियानबाट पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म फैलिएको थियो ।

त्यस्तै, हाम्रो सैन्य इतिहासमा छुटेको नेपाल–सिक्किम युद्ध र नेपाल–पंजाब युद्ध लेखिनुपर्छ । एकीकरणकै सिलसिलामा काँगडा किल्ला (कोट काँगडा) मा काजी नयनसिंह थापाले युद्ध लडेको फौज पंजाबका राजा रणजित सिंहकै हो । जुन युद्धमा काजी नयनसिंह लगायत ५०० जनाभन्दा बढी नेपाली फौजले एकै दिन वीरगति पाएका थिए ।

त्यही स्थानमा पुनः बडाकाजी अमरसिंह थापा र पंजाबी राजा रणजितबीच युद्ध भयो । नेपालले हार्न थालेपछि १४ अगष्ट १८०९ मा बडाकाजी र रणजितले सम्झैता गरी पश्चिममा काँगडा र पूर्वमा सतलज नदीलाई नेपालको पश्चिम सिमाना मानियो ।

सैनिक इतिहासको प्रष्ट अभिलेख खोज्नु नेपाली सेनाको पनि दायित्व हो । अबका दिनमा नेपाली सेनाले अधिकृत तथा योग्य अन्य दर्जा समेतलाई विश्वविद्यालयहरूमा सैनिक इतिहास पढाएर तिनलाई नै स्थलगत अध्ययन गराई सैनिक इतिहास लेखिनुपर्छ ।

गैरसैनिक इतिहासकारहरूले सैनिक आँखाबाट इतिहास लेख्न सक्दैनन् । सैनिक इतिहासमाथि राजनीतिक इतिहासकारहरूको बढी प्रभाव रहेकोले धेरै पक्षमा सैनिक दृष्टिले निक्र्योल हुन बाँकी छन् ।

इतिहास भनेको प्राप्त नयाँ प्रमाणका आधारमा थपिंदै, संशोधन गर्दै जाने विधा हो । नेपाली जङ्गी अड्डाले आफ्नो इतिहासको संकलन, संरक्षण र पुनर्लेखन गर्ने लक्ष्यसहित हाल गरिरहेको काम  सराहनीय छ ।

यसमा जुटेका नेपाली सैनिक परिवारका साथै गैरसैनिक इतिहासकारहरू र स्थानीय जनताको समेत सहभागिताबाट सैन्य इतिहास खँदिलो र प्रामाणिक बन्न सक्छ । स्थलगत भ्रमणका आधारमा सङ्कलित र यस लेखमा उल्लिखित नयाँ ऐतिहासिक पाटाहरूमा समेत गहन अध्ययन र पुनर्लेखन हुनेछ भन्नेमा विश्वस्त छु ।

 

 

प्रतिकृया दिनुहोस