कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको अर्को बैठक १ फागुनमा
शुक्रबारबाट शुरु भएको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको अर्को बैठक १ फागुनका लागि राखिएको छ।
कार्यतालिका अनुसार प्रदेश प्रमुखको पत्रवाचन भएपछि ३ राजनीतिक दलका सांसदहरूलाई बोल्ने समय दिएर संसद बैठक १ फागुनमा बस्ने गरी स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
राजनीतिक दलका आधारमा नेकपाबाट यामलाल कंडेल, कांग्रेसबाट जीवनबहादुर शाही र राप्रपाबाट सुशीला शाहीले धारणा राखेपछि १ फागुन, दिनको ३ बजे बस्ने जानकारी गराई पहिलो बैठक सकिएको प्रदेश सभामुख राजबहादुर शाहीले हिमालखबरलाई जानकारी दिए ।
प्रदेश सभामुख शाहीले हिउँदे अधिवेशनको पहिलो बैठक भएका कारण विधेयकमाथि छलफल र टेबल गर्ने कार्यतालिका नभएकाले अर्को बैठकमा ती विषय समावेश गरिने बताए ।
झण्डै चार महीनापछि बसेकोे अधिवेशनमा प्रदेशमा घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली पूर्वाधार विकास प्राधिकरण विधेयक र कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयकमा छलफल हुने बताइएकाे छ ।
यसैगरी प्रदेश उपभोक्ताको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशमा स्वास्थ्य सेवाप्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने बुझिएको छ ।
ती विधेयकहरू लामो समयदेखि संसदीय समितिमा थन्किएका छन्।
यज्ञराज थापा, सुर्खेत