समाचार विहीबार, माघ २३, २०७६

ललिता निवास जग्गा प्रकरणमा गृहको ‘ग्रीन सिग्नल’ पर्खदै सीआईबी

हिमालखबर

ललिता निवास जग्गा प्रकरणमा गृहको ‘ग्रीन सिग्नल’ पर्खदै सीआईबी

ललिता निवास जग्गा प्रकरणमा बेग्लै अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपीबिरुद्ध फौजदारी कसुरमा कारबाही अघि बढाउन गृह मन्त्रालयको निर्देशन पर्खिरहेको छ।

ब्युरोले १० महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन गत साता गृहमन्त्रालयलाई बुझाएको थियो। बालुवाटारस्थित ललिता निवासको एकसय ३६ रोपनी सरकारी स्वामित्वको जग्गा ब्यक्तिका नाममा नामसारी गर्दासम्मको प्रक्रियामा भएका किर्ते र जालसाजीको अनुसन्धान ब्युरोले गरेको हो।

सरकारले अधिग्रहण गरेका जग्गा गुठी र मोही खडा गर्नेदेखि कित्ता काट गरेर किनबेच तथा बैंकमा धितो राख्ने सम्मका प्रक्रियामा सरकारी छाप किर्ते दस्तखत भएको ब्युरोको अनुसन्धानमा खुलेको हो। ब्युरोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेका १ सय १० र जग्गाखरिद गरेका ६५ जना समेतको संलग्नताका बिषयमा अनुसन्धान गरेको हो।

यस बाहेक यो प्रकरणमा किर्ते कागजपत्र बनाउने गिरोहका सदस्य समेत अनुसन्धानको दायरामा आउने ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले केही दिनमै फौजदारी अभियोग सहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता हुने बताए। उनले केही कानूनी प्रक्रिया पुरा गर्न बाँकी रहेकाले मुद्दा दर्तामा ढिलाइ भएको जानकारी दिए।

“हामीले मुद्दा दर्ताको तयारी थालेका छौ,” एसपी पाण्डेले भने “हामीले फौजदारी कसुरको पाटोमा अनुसन्धान गरेर प्रतिवेदन बुझाई सकेका छौं।”
अख्तियारको अनुसन्धानमा ललिता निवास क्याम्प भित्रका सरकारी र सार्वजनिक जग्गाहरू व्यत्तिको नाममा ल्याएर विभिन्न बैंकहरुबाट २ अर्व ४१ करोड ६९ लाख ३६ हजार भन्दा बढि धितो कायमगर्दै कर्जा प्रवाह भएको खुलेको छ।

यसरी कर्जा लिने प्रक्रियामा बैंक तथा वित्तिय संस्थाको मिलेमतोका सम्बन्धमा समेत ब्युरोले अनुसन्धान गरेको हो।

प्रतिकृया दिनुहोस