व्यस्त सडकमा एकहप्तासम्म बिजुलीका खम्बा र तारहरू उठाइएन
उपत्यकाकाे व्यस्त सडकमा ढलेकाे बिजुलीकाे पाेल र तारहरु एक हप्तासम्म उठाइएकाे छैन ।
गत शनिबार ललितपुरको कुपन्डोलस्थित मुख्य सडकमा उच्च भोल्टेज सहितको विद्युतको खम्बा ढलेको थियो ।
हिमालय होटलको पर्खालको आडमा रहेको विद्युतीय खम्बा ढलेको हो ।
होटल परिसरभित्र रहेको ‘स्टे वायर’लाई परिसरको जमिन सम्याइरहेको डोजरले छुँदा तार छिनिएर खम्बा ढलेको ललिपुर विद्युत प्राधिकरणका सुपरभाइजर बाबुकृष्ण महजनले बताए ।
शनिबार भएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीय व्यवसायी ओमराज सिल्पकारको भनाइ छ । उनी भन्छन्, “शनिबार भएकाले मानवीय क्षति भएन अरु दिन भएको भए यो व्यस्त सडकमा ठूलो क्षति हुने थियो ।”
अन्य दिनको तुलनामा शनिबार कम व्यस्त हुने यो सडकमा खम्बा ढल्नुका साथै बिजुलीका तारहरू छरपस्ट भए । खम्बा ढलेको केही समयमा विद्युत प्राधिकरणका कर्मचारीहरू आएर अर्को खम्बा गाड्नुका साथै तारहरू जडान गरेर गए ।
तर, ढलेको खम्बा र पुराना तारहरू एक हप्ता बितिसक्दा पनि सडक पेटीदेखि मुख्य सडकमा नै अलपत्र भएर छरिएका छन् ।
खम्बा ढलेपछि तत्काल बनाउने कार्य शुरु भयो । अर्को खम्बा गाडियो, बिजुलीको तार जोडियो तर ढलेको खम्बा उठाइएको छैन ।
प्राधिकरणमा कर्मचारी अभावको कारण ठेकेदारलाई ठेक्का दिइएको प्राधिकरणका सुपरभाइजर महर्जन बताउँछन् ।
उनी भन्छन्, “त्यो दिन रात परिगो अर्को दिनदेखि फेरि उनीहरू त्यस्तै आपतकालीन काममा व्यस्त रहेकाले अबको दुई दिन भित्र खम्बा तथा तारहरू उठाउँछन् ।”
होटलको लापरबाहीले खम्बा ढलेका कारण क्षतिपूर्ति भराएको उनले बताए ।