अर्थ/बजार शनिबार, माघ १८, २०७६

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत

रासस

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत

निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन शुरु गरेको छ ।

कुल ६ दशमलव ६ मेगावाट क्षमताको सो आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

कुल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रति मेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए ।

विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कुल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ ।

प्रतिकृया दिनुहोस