सभामुख सापकोटा विरुद्धको रीटमा आज पनि बहस हुँदै
हत्या आरोपित अग्निप्रसाद सापकोटा विरुद्ध परेको रीट माथि मंगलबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ ।
सोमबारको बहस ‘हेर्दाहेर्दैमा’ स्थगित गरिएको थियो । काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोपित अग्निप्रसाद सापकोटा विरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रीट दायर गरेका थिए ।
आइतबार रीटको सुनुवाई तोकिए पनि हरि फुयाँलको इजलास परेकाले रोकिएको थियो । उनले यसअगाडि नै सापकोटाविरुद्ध बहस गरिसकेकाले नैतिक आधारमा बहस गर्न नमिल्ने भन्दै सुनुवाई रोकिएको थियो ।
सोमबारबाट सपना प्रधान मल्लको इजलासमा बहस भइरहेको छ । सोमबार त्रिपाठी, सुनिल पोखरेल, बाबुराम गिरी, अनन्त लुइँटेल र राजु चापागाईँले बहस गरेका थिए ।