सहकारीका नाममा ४७ लाख ठगी गर्ने पक्राउ
मुगु जिल्लाको खत्याड गाउँपालिका–२ का २५ वर्षीय किरण बीसी भनिने कर्णसिंह टमटालाई ४७ लाख ३ हजार ५ सय ठगी गरेको आरोपमा पक्राउ गरिएको छ ।
दैलेख जिल्ला सदरमुकाममा रहेको स्वर्गभूमि कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड संस्थाको नाममा ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
सहकारी खोलेर विभिन्न व्यापारी तथा कृषकहरूबाट संस्थाको नाममा शेयर बचत रकम उठाई भागेपछि कर्णसिंहलाई महानगरीय प्रहरी काठमाडौंले ९ माघमा पक्राउ गरेको हो ।
पक्राउपछि कर्णसिंहलाई महाराजगञ्जबाट दैलेखमा स्थानान्तरण गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
सहकारीका प्रबन्धक रहेका कर्णसिंहले गत २५ असोजमा दैलेखको नारायण नगरपालिका–१ नयाँबजारको त्रिभुवन माध्यमिक विद्यालय अगाडि सो सहकारी संस्थाको कार्यालय स्थापना गरी कारोबार गर्दै आएका थिए ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा बसोबास गर्दै आएका कर्णसिंहले सहकारी संस्थाको नाममा ठगी गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
पक्राउ परेका कर्णसिंहले कर्मचारीको तलब बापत रु.४ लाख ४५ हजार, कर्मचारीको शेयर रकम बापत रु. ६ लाख, बचत कर्ताहरूको जम्मा रु १० लाख, कृषक, व्यापारी तथा अन्य व्यक्तिबाट रकम रु.२२ लाख ६८ हजार ५ सय, संस्था रहेको घरभाडा र डेकुरेसन खर्च बापत रु.३ लाख ९० हजार गरी रु.४७ लाख ३ हजार ५ सय ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
त्यसैगरी उनले सगुन कृषि तथा पशुपालन एग्रिकल्चर दुल्लु नगरपालिका–५ मा कृषि तथा पशुपालन समूह बनाई सोही समूहको सदस्यबाट उठाएको रु ७ लाख ३० हजार समेत ठगी गरेको आरोप छ ।
ठगीको आरोपमा पक्राउ परेका उनको हकमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ को १ विपरीत २ बमोजिमको कसुर गरेको हुँदा निजलाई सोही दफाको उपदफा ३ ग बमोजिम ७ वर्षसम्म कैद सजाय र ७० हजारसम्म जरिवाना, बिगो बमोजिम क्षतिपूर्ति भराउने कानूनी व्यवस्थामा उल्लेख गरिएको छ ।
यज्ञराज थापा, दैलेख